प्रतिगमनको उदाहरण : नृप ओडको पराजय र गोपी हमालको विजय

विन्दुकान्त घिमिरे

देउवाले आफ्नो गृहनगर धनगढीमा विगतको जस्तो शारीरिक र मानसिक क्षमता देखाउन सकेनन्, दलितलाई नमस्कार गर्नुपरेको कुण्ठाको आगोमा देउवाकी श्रीमती डा.आरजु राणाले घिउतेल थपिदिइन् । यसरी धनगढीमा कथित उच्च जातले प्रकट गरेको कुण्ठालाई काठमाडौंका बुद्धिजीवीहरूले क्रान्ति ठानिरहेका छन् । नेपालमा दलितको जनसंख्या १० प्रतिशत छ । जनधरातलमा टेकेर राजनीति गर्न सक्षम दलित नेताहरूको संख्या नेपालमा औँलामा गन्न सकिने मात्रै छ । तिनै मध्येका हुन् नृप ओड । नृप ओडको पराजय र गोपी हमालको विजयमा देशव्यापी उत्सव मनाउनु के केति उचित हो ? कागले कान लग्यो भन्ने हल्लाको पछि लाग्ने कि ? पहिले आफ्नो कान छाम्ने ?

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतगणनाको अन्तिम परिणाम आउन आधा महिनाभन्दा बढी लाग्यो । संख्यात्मक हिसाबले नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेस पहिलो भएको छ । तर, मतको हिसाबले एमाले र कांग्रेस कुन बलिया देखिएका छन् ? भन्ने हिसाबकिताब हुन भने बाँकी नै छ ।

निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कुन पार्टीले जित्यो ? कुन पार्टीले हा¥यो भन्ने नै हो । किनकी निर्वाचन हुने भनेकै जित र हारका लागि हो । तर राजनीतिमा चासो राख्नेहरूका लागि भने कुन पार्टीले कति मत प्राप्त ग¥यो । अघिल्लो निर्वाचनको तुलनामा कुन पार्टीको भोट बढ्यो ? कुन पार्टीको घट्यो ? के कारणले बढ्यो ? के कारणले घट्यो ? लगायतका प्रश्नहरू ज्यादै महत्वपूर्ण हुन्छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गर्ने मत पनि राजनीतिक विश्लेषणको मुख्य सूचक हुने गर्दछ । स्वतन्त्र उम्मेदवारहरूले किन र कसरी चुनाव जिते ? के कारणले धेरै भोट ल्याए ? स्वतन्त्र उम्मेदवारहरू पनि जनताको आकर्षण बढ्नुको संकेत के हो ? लगायतका प्रश्नहरू पनि धेरै नै महत्वपूर्ण हुन्छन् र यस्ता तमाम प्रश्नको उत्तर नखोजी भोलिको राजनीति कता जाला ? भन्ने विश्लेषण गर्न कुनै पनि हालतमा सकिन्न ।

हाम्रो मुलुकको राजनीति यथास्थितिमा रहन सक्दैन भन्ने संकेत स्थानीय निर्वाचनको मत परिणामले दिएको विश्लेषण राजनीति शास्त्रका पण्डितहरूले गरिरहेका छन् । तर केही यस्ता प्रश्नहरू छन्, जुन प्रश्नको उत्तर खोज्ने जाँगर राजनीतिक विश्लेषकहरूले गरेको देखिँदैन । ‘कांग्रेसले जित्यो, एमालेले हा¥यो, माओवादीको गेम सफल भयो, महत्वपूर्ण पालिकामा ठूला दलहरूको दादागिरिलाई स्वतन्त्र उम्मेदवारमार्फत जनताले धुलो चटाइदिए’ भन्ने बाहेक चुनावी परिणामबारे मिहिन ढंगले विश्लेषण भएको छैन । सरसर्ती हेर्नु र मिहिन ढंगले हेर्नुमा धेरै फरक हुन्छ । यसपटक दलहरू तालमेलका साथ चुनाव लडेका कारण कुन पार्टीले कति मत प्राप्त गर्यो ? भन्ने प्रश्नको उत्तर खोज्न मिहिन ढंगले हेर्नुपर्ने हुन्छ । सत्तामा सामेल पाँच दलबीच गठबन्धन भएका कारण यी दलका मतहरू एकआपसमा मिसिएका छन् । त्यसैले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पाँच दलहरू मध्ये कुन दलले कति कति मत पाए भनेर छुट्याउन सहज छैन । तोरी, रायो र सस्र्युं मिसिए जसरी नै पाँच पार्टीका मतहरू मिसिएका छन् ।

तर, एमालेको हकमा भने लोकप्रिय मतको हिसाबकिताब करिबकरिब स्पष्ट नै छ । सहरी क्षेत्रको मत परिणाम विश्लेषण गर्दा सिट संख्या धेरै जिते पनि जनमतको हिसाबले नेपाली कांग्रेसको अवस्था खस्केको छ । जनमत खस्केको अवस्थामा सिट संख्या मात्रै बढ्नु भनेको पिसाबको न्यानो हो । सिट संख्या बढेको उन्मादका कारण आगामी दिनमा जनमत अझै घट्ने संभावना रहन्छ । त्यसैले आशन्न स्थानीय निर्वाचनको परिणाम नेपाली कांग्रेसका लागि पिसाबको न्यानो जस्तो हुने त होइन ? भन्ने प्रश्न नाजायज होइन । महानगरपालिका र उपमहानगर पालिकाको लोकप्रिय मतलाई हेर्ने हो भने एमालेभन्दा कांग्रेस कमजोर देखिएको छ ।

महानगरपालिका र उपमहानगर पालिकाकाको मत हिसाब गर्ने हो भने नेकपा एमालेले गत निर्वाचनको तुलनामा उल्लेख्य मत वृद्धि गरेको छ । एमालेको हकमा हेर्ने हो भने गत स्थानीय निर्वाचनको तुलनामा सिट संख्याको हिसाबले धेरै नै ठूलो क्षति बेहोरेको छ । गत स्थानीय निर्वाचनमा ४० प्रतिशत अर्थात २ सय ९४ पालिका जितेको एमालेले यसपटक २ सय ४ पालिमा मात्रै जितेको छ । त्यसमा पनि महानगर पालिकाको प्रमुख पदमा एमाले नील छ । पोखराबाहेक अन्य महानगरपालिकामा एमाले नील पनि यसरी छ कि, मत अन्तर धेरै ठूलो छ । तर सिट नजिते पनि, मत अन्तर फराकिलो भए पनि नेकपा एमालेले सहरी क्षेत्रमा जनमत भने मज्जाले बढाएको छ । पार्टी विभाजन हुँदा पनि जनमत बढ्नु भनेको एमालेका लागि सुखद् पक्ष हो ।

फुटेको एमालेको झन् प्रगति

कुन कुन महानगर तथा उपमहानगर पालिकामा एमालेको जनमत बढ्यो ? कुन कुनमा खस्क्यो ? भन्ने कुरा राजनीतिक विश्लेषकका लागि ज्यादै महत्वपूर्ण हुन्छ । भरतपुर महानगरपालिकाको परिणामलाई अपवाद मान्ने हो भने नेकपा एमालेको जनमत गत निर्वाचनको तुलनामा प्रायः सबैजसो महानगर तथा उपमहानगरमा ह्वात्तै बढेको छ । सबैभन्दा महत्वपूर्ण मानिने काठमाडौं महानगरपालिकामा एमालेका मेयर उम्मेदवारको भोट गत निर्वाचनको भन्दा घट्नुको कारण बालेन शाहले ल्याएको बाढी हो ।

गत चुनावमा काठमाडौं महानगरपालिकामा एमालेले राप्रपासँग मिलेर मेयर पदमा करिब ६५ हजार भोट हासिल गरेको थियो । तर अहिले एमाले एक्लैकी उपमेयर उम्मेदवार सुनिता डंगोलले त्यो भन्दा तीन हजार बढी मत ल्याएर चुनाव जितेकी छन् । जनमत खस्केरभन्दा पनि उम्मेदवारको अलोकप्रियताका कारण चुनावी हारजित भएको स्पष्ट देखिन्छ । किनकी एउटै पार्टीको मेयर उम्मेदवारले ३८ हजार मत ल्याउनु तर उपमेयर उम्मेदवारले ६८ हजार मत ल्याउनुको मुख्य कारण पार्टीगतभन्दा पनि व्यक्तिगत हो ।

दोस्रो ठूलो पोखरा महानगरपालिकाको कुरा गर्ने हो भने एमालेकी उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङले गत निर्वाचनभन्दा चार हजार मत बढी ल्याएर चुनाव जितेकी छन् । मेयरको हकमा भने व्यक्तिगत प्रभावका कारण धनराज आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई चुनाव हराएको प्रष्ट छ । तेस्रो ठूलो महानगरपालिका भरतपुरमा भने नेकपा एमालेको जनमत साँच्चि नै खस्केको देखिएको छ । गत निर्वाचनमा एक्लै लड्दा पनि एमालेका देवी ज्ञवाली एक्लैले ४२ हजार भोट ल्याएका थिए तर यसपटक एमालेका उम्मेदवार विजय सुवदीले राप्रपासँग तालमेल गर्दा पनि ३९ हजार भोट कटाउन सकेनन् । जबकी मतदाताको संख्या भने गत निर्वाचनको भन्दा २५ हजार बढेको छ । व्यक्तिगत रूपमा पनि देवी ज्ञवालीभन्दा विजय सुवेधी नै लोकप्रिय थिए । त्यसमाथि पनि प्रतिस्पर्धी गठबन्धनभित्र नेपाली कांग्रेसका बागी उम्मेदवारले एमालेका लागि हरियो बत्ती बालिदिएका थिए ।

चौथो ठूलो ललितपुर महानगरपालिकामा एमालेले गत निर्वाचनमा २४ हजार भोट ल्याएको थियो, तर यसपटक केही बढाएको छ । उपमेयरमा बाजी मारेको छ । पाँचौँ ठूलो वीरगञ्ज महानगरपालिकामा एमालेले गत निर्वाचनमा आठ हजार मत प्राप्त गरेको थियो, तर यसपटक २० हजार मत कटाएको छ । जनसंख्याका दृष्टिले नेपालकै सबैभन्दा सानो महानगरपालिका विराटनगरमा पनि एमालेले उल्लेख्य प्रगति गरेको छ । गत निर्वाचनमा जम्मा १७ हजार भोट ल्याएर मेयर र उपमेयर दुवै पद गुमाएको एमालेले यसपटक २५ हजार मत ल्याएर उपमेयर जितेको छ भने मेयरका उम्मेदवारले पनि २१ हजार भोट कटाएका छन् ।

यसरी ६ वटा महानगरतर्फ हेर्ने हो भने मेयरतर्फ नील भए पनि उपमेयरतर्फ चार वटा महानगर जितेको छ । भरतपुरबाहेक सबैमा उल्लेख्य रूपमा जनमत बढाएको देखिएको छ । प्रदेश राजधानी तथा महत्वपूर्ण सहर भएका कारण उपमहानगरपालिकाको जनमत पनि जीवन्त राजनीतिक दलका लागि अर्थपूर्ण हुन्छ । देशका ११ वटा महानगरपालिका मध्ये एमालेले कलैया, घोराही र तुलसीपुर गरी तीन वटामा मेयर र उपमेयर दुवै पद हासिल गरेको छ । यसैगरी बुटवल, इटहरी र जीतपुर सिमारा उपमहानगरपालिकामा एमालेले उपमेयर जितेको छ ।

११ वटा उपमहानगरपालिका माध्ये एमालेले सात वटा उपमहानगर पालिकामा गत निर्वाचनको तुलनामा उल्लेख्य रूपमा जनमत वृद्धि गरेको छ । एउटामा बराबर छ भने चार वटामा गत निर्वाचनको भन्दा घटेको छ । एमालेले तुलसीपुर, नेपालगञ्ज, कलैया, जीतपुर र जनकपुर र उपमहानगरपालिकामा गत आमनिर्वाचनको भन्दा निकै धेरै मत बढाएको छ ।

गत निर्वाचनमा एमालेले जनकपुर उपमहानगरपालिकामा ८ हजार ८ सय मत पाएको थियो, तर यसपटक ९ हजार ५ सय मत पाएको छ । यसैगरी एमालेले गत निर्वाचनमा कलैया उपमहानगरपालिकामा १० हजार ७ सय मत प्राप्त गरेको थियो, यसपटक भने कलैयामा एमालेले २४ हजार १ सय मत प्राप्त गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा एमालेले गत निर्वाचनमा ६ हजार ९ सय मत प्राप्त गरेको थियो, तर यसपटक १२ हजार ६ सय मत पाएको छ । नेकपा एमालेले गत निर्वाचनमा दाङको घोराही उपमहानगरपालिकामा २२ हजार ३० मत पाएको थियो, तर यसपटक ३१ हजार ७ सय मत पाएको छ । यसैगरी दाङकै तुल्सीपुर उपमहानगरपालिकामा एमालेले यसअघि २२ हजार ८ सय मत प्राप्त गरेको थियो, यसपटक ३१ हजार २ सय मत प्राप्त गरेको छ ।

धनगढी उपमहानगर पालिकामा भने एमालेको मत यथावत छ । धनगढीमा एमालेले गत स्थानीय निर्वाचनमा ९ हजार ९ सय मत प्राप्त गरेकोमा यसपटक ९ हजार १ सय प्राप्त गरेको छ । तर हेटौंडा, बुटवल र इटहरीमा भने एमालेको मत स्थानीय निर्वाचनमा केही घटेको छ । गत स्थानीय निर्वाचनमा इटहरीमा एमालेले २२ हजार मत ल्याएको थियो, तर यसपटक १८ हजारमा झरेको छ । एमालेले बुटवल उपमहानगरपालिकामा गत स्थानीय निर्वाचनमा २३ हजार मत ल्याएको थियो, तर अहिले २२ हजारमा झरेको छ । हेटौँडा उपमहानगरपालिकामा गत निर्वाचनमा २३ हजार १ सय मत ल्याएको एमालेले यसपटक २० हजार ९ सय मत ल्याएको छ ।

कान नछामी कागको पछि

आसन्न स्थानीय निर्वाचनमा केही महत्वपूर्ण महानगर तथा उपमहानगर पालिकामा ठूला दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् । यसरी बाजी मार्ने स्वतन्त्र उम्मेदवार मध्ये कोही समाजसेवाको पृष्ठभूमिबाट आएका छन्, कोही ठूला दलकै बागी विद्रोही बनेर आएका छन्, कोही भर्खर विद्यार्थी जीवन सकेर राजनीतिमा होमिएकाहरू पनि छन् कसैले सन्दिग्ध पृष्ठभूमि बोकेका समेत छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारबाट पराजित हुनेमध्ये कोही असल छवीका पनि छन्, कोही सीमान्तकृत र पिछडिएको समुदायबाट बल्लबल्ल राजनीतिमा उदाएकाहरू पनि छन् । तर यतिबेला चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरू सबैलाई एउटै डालोमा राखेर देवत्वकरण गर्दै प्रचारप्रसार गर्न थालिएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवारबाट पराजित हुने सबैलाई एउटै डालोमा राखेर दानवीकरण गर्दै प्रचार गर्न थालिएको छ ।

यस्तो अन्धो प्रचार कति जायज हो ? यस्तो प्रचारले लोकतन्त्र कहाँ पु¥याउला ? धरान उपमहानगरपालिकाको मेयरपदमा चुनाव जित्नुभएका हर्क राई र धनगढी उपमहानगर पालिकाको मेयर पदमा चुनाव जित्नुभएका गोपी हमाललाई एउटै डालोमा राखेर विश्लेषण गर्न मिल्छ कि मिल्दैन ? यसैगरी काठमाडौं महानगरपालिकामा पराजित हुनुभएका केशव स्थापित र धनगढी उपमहानगरपालिकामा पराजित भएका नृप ओडलाई एउटै डालोमा राखेर विश्लेषण गर्न मिल्छ कि मिल्दैन ? यस्ता धेरै प्रश्नहरू खडा भएका छन् ।

धरानमा विद्यमान अनेकन बेथितिहरूका बिरूद्ध सचेतनाको वा खबरदारी अभियानका कारण हर्क साम्पाङको नाम अगाडि छ । व्यक्तिगत रूपमा हर्क साङपाङ एक सुपरिचित क्रान्तिकारी गायक एवं गीतकार पनि हुन् । हर्क साङपाङका गीतहरू काठमाडौंका धेरैले सुनेका थिएनन् । तर, आज उहाँको विजयी व्यक्तित्वको खोज पडताल गर्ने क्रममा उहाँका गीतको भावार्थ थाहा हुन्छ । तर धनगढीबाट स्वतन्त्र रूपमा मेयर पदमा जितेका गोपी हमाल निर्विवाद व्यक्ति होइनन् । भर्खर निर्वाचन जनप्रतिनिधिका सन्दर्भमा नकरात्मक टिप्पणी गर्न उचित हुन्न, तर पर्दा उघ्रिएका दिन धेरै कुरा छताछुल्ल हुने अवस्था छ । त्यसैले गोपी हमालको प्रशंसा गर्न कत्ति पनि हतारिनु हुँदैन ।

त्यसो त काठमाडौं महानगपालिकाको मेयर पदमा बालेन शाहबाट पराजित केशव स्थापितको पृष्ठभूमि निकै विवादास्पद रहेको कुरा छताछुल्ल भइसकेको छ । स्थापितले टिकट पाएकोमा एमालेभित्रै विद्रोह भएको छ । बालेन शाहकी अर्की प्रतिस्पर्धी सिर्जना सिंहमाथि त परिवारवादकै आरोप लागेको छ । सिर्जना सिंहको पराजयका सन्दर्भमा कांग्रेस भित्रैका धेरैले ‘परिवारवादको परकाष्ठालाई जनताले दण्डित गरिदिए’ भनेका छन् । त्यसैले एमाले र कांग्रेस भित्रको अन्तरघातले बालेन शाहलाई चिठ्ठा परेको सहजै बुझ्न सकिन्छ । किनकी काठमाडौंमा दलभन्दा बाहिरको भोट करिब २५ प्रतिशत रहेको यस अघिको स्थानीय निर्वाचनले पनि पुष्टि गरेको थियो । त्यसमा बालेनले केही प्रतिशत थपेका हुन् । यो थपिएको प्रतिशत कांग्रेस र एमाले भित्रको अन्तरघातको मत हो ।

धरातलीय यथार्थताको अध्ययन गर्नभन्दा हल्लाको पछि लाग्ने बुद्धिजीवी तथा विश्लेषकहरूको कमी नेपालमा छैन । यो कुरा धनगढी उपमहानगरपालिकाको परिणामका सन्दर्भमा पुष्टि भएको छ । धरान र धनगढीको परिणाम बीचको अन्तर केलाउन प्रयत्नसमेत गरेको देखिएन । धरानको अग्रगमन र धनगढीको प्रतिगमनलाई एउटै टोकरीमा राखेर सामाजिक संजालमा पोस्ट गर्ने मध्ये अधिकांश बुद्धीजीवी भनाउँदाहरू नै छन् ।

धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपी हमालबाट पराजित कांग्रेस उम्मेदवार नृप ओड सीमान्तकृत र सदियौंदेखि पछि पारिएको दलित समुदायका संभावना बोकेका युवा हुन् । उनी यसपटक जातीय विभेदको सिकार बनेका हुन् । बाहुन र ठकुरीहरूको गठजोड नृप ओडको पराजयको मुख्य कारण हो । जातीय छुवाछुतको मात्रै होइन चरम गरिबीको पीडासमेत बेहोरेका नेता हुन् नृप ओड । आफ्ना पिताले जीवनभर भारतमा मजदुरी गरेर कमाएको पैसाले स्तानकोत्तर सम्मको अध्ययन गर्दै राजनीतिलाई निरन्तरता दिएका युवा नेतासमेत हुन् नृप ओड ।

यसअघि पाँच वर्ष मेयर चलएका नृप ओड खासै विवादमा मुछिएका थिएनन् । अघिल्लोपटक कांग्रेसले ओडलाई टिकट दिँदा पनि कथित ठूला जातका मतदाताबाट यस्तै विद्रोहको तयारी भएको थियो, त्यतिबेला कांग्रेस सभापति देउवा मानसिक र शारीरिक रूपमा पनि सबल थिए । उनले धनगढीको आमसभामा भनेका थिए, ‘तपाईंहरूको भावना मैले बुझेको छु , त्यसैले तपाईंहरूले नमस्कार गर्नुपर्ने होइन कि, तपाईंहरूलाई नै नमस्कार गर्ने मेयर बनाउन प्रस्ताव गरेको हुँ ।’ देउवाको यो आह्वान नै दलित समुदायका नेता नृप ओडले चुनाव जित्ने कारक बनेको थियो ।

तर, यसपटक भने कांग्रेस सभापति देउवाले आफ्नो गृहनगर धनगढीमा विगतको जस्तो शारीरिक र मानसिक क्षमता देखाउन सकेनन्, दलितलाई नमस्कार गर्नु परेको कुण्ठाको आगोमा देउवाकी श्रीमती डा. आरजु राणाले घिउ तेल थपिदिइन् । यसरी धनगढीमा कथित उच्च जातले प्रकट गरेको कुण्ठालाई काठमाडौंका बुद्धीजीवीहरूले क्रान्ति ठानिरहेका छन् । नेपालमा दलितको जनसंख्या १० प्रतिशत छ । जनधरातलमा टेकेर राजनीति गर्न सक्षम दलित नेताहरूको संख्या नेपालमा औँलामा गन्न सकिने मात्रै छ । तिनै मध्येका हुन् नृप ओड । नृप ओडको पराजय र गोपी हमालको विजयमा देशव्यापी उत्सव मनाउनु के कति उचित हो ? कागले कान लग्यो भन्ने हल्लाको पछि लाग्ने कि ? पहिले आफ्नो कान छाम्ने ?

प्रतिक्रिया