‘काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउने छौं ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन् । मेयरमा निर्वाचित भएलगत्तै सम्बोधन गर्दै शाहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूआतको रूपमा लिएको बताएका छन् । ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं । निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’

उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताएका छन् । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवार नै रहनेछ’, उनले भने, ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं ।’

नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन् । यो मेयर पदमा खसेको कुल सदर मतको ३८.६३ प्रतिशत हो । उनले नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहलाई पराजित गरे । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् । एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन् ।

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन् ।

प्रतिक्रिया