छात्रामाथि यौन दुर्व्यवहार गर्ने प्रिन्सिपल काठमाडौंबाट पक्राउ

काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको ब्लुमिङ् लोटस इङगलिस स्कूलका तत्कालिन प्रिन्सिपल पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ५ स्थित उक्त स्कुलका तत्कालिन प्रिन्सिपल ३६ वर्षीय राज खड्का भन्ने राज कुमार खड्का पक्राउ परेको सीआईबीका एसपी कमल थापाले जानकारी दिए ।

सिन्धुली कमलामाई नगरपालिका ७ घर भएका उनले आफ्नै स्कूलमा पढ्ने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र औषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते यौन दुव्यर्वहार गरेको आरोप छ । धरान उपमहानगरपालिका १० स्थित घोपा क्याम्प जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा पुर्याई उनले जबरजस्ती करणी गरेको पीडितको आरोप छ ।
स्कूलबाट रेष्टिकेट गरिदिने भनी धम्क्याई उनले जबरजस्ती करणी गरेपछि ती छात्राले स्कुल नै छाडेकाे सार्वजनिक गरेकी थिइन् ।

छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरीदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिएर जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ । पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि फरार रहेका खड्का काठमाडौं टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएको खुलेको छ ।

उनलाई सीआईबीले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट जबरजस्ती करणी मुद्दाको अनुसन्धान भएको थियो। सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएकोमा भागी फरार उनको यो मुद्दा मुल्तबीमा रहेको छ । उनलाई अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया