सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीयत तह चुनावबाट विभिन्न पदमा निर्वाचित भएका आफ्ना जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । एकीकृत समाजवादीले बुधबार निर्वाचन विशेष सर्कुलर जारी गर्दै यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।

‘तपाईंहरुलाई जनताले ठुलो विश्वास गरेर मत दिएका छन् । जनताको विश्वासप्रति सधैं इमान्दार रहनु होला । सधैं जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नु होला’, पार्टीका महासचिव डा. बेदुराम भुसालद्वारा जारी सर्कुलरमा भनिएको छ ।
एकीकृत समाजवादीले आफ्ना जनप्रतिनिधिहरुलाई निर्वाचनको बेला गरेको प्रतिबद्धता र ऐन कानुनको परिधिमा रहेर काम गर्न पनि निर्देशन दिएको छ । भ्रष्टाचारबाट मुक्त रहँदै सादा जीवनशैली र असल आचरण देखाउन पनि निर्देशन दिइएको छ ।

‘जवाफदेहीता र पारदर्शीता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र हो, जसले जनताको सेवामा समर्पित योद्धाहरुलाई उर्जासमेत प्रदान गछं । तसर्थ हाम्रो पार्टीका तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरुले जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला । उक्त कामको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीलाई निर्देशन गरिन्छ’, सर्कुलरमा भनिएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादी पार्टीले १ महानगर र १ उपमहानगरसहित २० पालिकाको प्रमुख र २३ पालिकाको उपप्रमुख पदमा जित हासिल गरिसकेको छ । एकीकृत समाजवादीका तर्फबाट पोखरा महानगरको मेयरमा धनराज आचार्य र हेटौँडा उपमहानगरको मेयरमा मीनाकुमारी लामा विजयी भएका छन् ।

नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा बनेको एकीकृत समाजवादीले पहिलो पटक स्थानीयत तह निर्वाचनमा भाग लिएको हो । एकीकृत समाजवादीसहितको सत्ता गढाबन्धन दलले यसअघि राष्ट्रियसभा निर्वाचनमा पनि महत्वपूर्ण सफलता हात पारेका थिए ।

यसैबीच, नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सत्ता सञ्चालन सम्बन्धी तालिम दिने भएको छ । बुधबार बसेको पूर्वस्थायी समितिको बैठकले जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।

जनप्रतिनिधिहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक तथा अन्य विषयका विज्ञहरुले सत्ता सञ्चालन सम्बन्धी प्रशिक्षण दिनेछन् । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा १ सय २१ पालिकाको प्रमुखमा जित हासिल गरेको छ ।

प्रतिक्रिया