पदभार ग्रहणसँगै चिरिबाबुले गरे यस्ता निर्णय

काठमाडौं । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले पदभार ग्रहण गरेका छन् । बुधबार पद तथा गोपनियताको सपथ गरेपछि महर्जनले पदभार ग्रहण गरेका हुन् ।

प्रमुखका रूपमा पदभार ग्रहणसँगै प्रमुख महर्जनले तीन महत्वपूर्ण निर्णय गरे । वडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने उनले बताए । उनकाअनुसार विकेन्द्रीकरण कार्यान्वयनका लागि यो पहल गरिएको हो ।

अहिलेसम्म चक्रपथबाहिर फोहर सङ्कलन गर्न नसकेकाले अहिले महानगरले ट्रक किनेर सङ्कलन सुरु गरिने निर्णय भएको प्रमुख महर्जनले बताए । तीन सातापछि चक्रपथ बाहिर तालिका बनाएर नियमित फोहर सङ्कलन गरिने उनले बताए ।

उनले राजस्व संकलन अनलाइनबाट गर्न प्रक्रिया बढाइने पनि निर्णय गरेका छन् । त्यस्तै महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आफ्नो प्राथमिकतामा मुख्य विकास, समृद्धि र सुशासनयुक्त महानगरपालिका बनाउने बताइन् ।

प्रतिक्रिया