१९ हजार ३२३ मत गणना गर्न बाँकी, बालेनकाे जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५५ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५५ हजार ७४७ मत प्राप्त गरिसकेका छन् । उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले २० हजार ३७६ बढी मत प्राप्त गरेका छन् ।

आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गणना गर्न बाँकी रहेको छ । अब गणना हुन बाँकि मत भन्दा बालेनको अग्रता बढी भएकाले उनको जित सुनिश्चित भएको छ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकि सुनिता डंगोलको जित सुनिश्चित भएको छ । डंगोलले ५१ हजार २०७ मत प्राप्त गरेकी छन् भने उनी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ भन्दा ३३ हजार८५९ मतको अन्तरले अगाडी रहेकी छन् । श्रेष्ठले भने १७ हजार ३४८ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १३ (कालिमाटी), १४ (कलंकी), १५ (डल्लु), १६ (सोह्रखुट्टे) र १७ (क्षेत्रपाटी) को मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।

प्रतिक्रिया