टि सिरिजमा सुमनको उर्दू गजल

काठमाडौं । गायक सुमन शेखर मानन्धरको आवाज रहेको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । भारतको टि सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक उक्त गजललाई अग्रज चलचित्रकर्मी नीर शाह तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरियो ।

सार्वजनिक गजलको भिडियोमा अभिनेता सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय छ । मुगुको रमणीय स्थल रारामा छायांकन गरिएको गजलको भिडियोमार्फत हिन्दी तथा उर्दूभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ ।

सो अवसरमा गीतकार तथा संगीतकार इम्तियाज वफाले गीतले नेपालको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष परोक्ष रुपमा फाइदा पुर्याउने आफूले विश्वास लिएको बताए ।

गायक सुमन शेखरले भारतीय उपमहाद्वीपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषी जनतालाई नेपालको प्राकृतिक, सांस्कृतिक तथा सामाजिक पक्षका बारेमा चिनाउन गीतले मद्दत पुग्ने विश्वास लिए ।

उनले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अभिप्रायसहित गीत तयार पारिएको जनाए । गायक सुमन कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका थिए । उनले सोही बसाइले आफूलाई उर्दू गीत, गजल र शायरीमा चाख बसेको सुनाए । उनले सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको जिकिर गरे ।

उनले भने, ‘यो गीत तयार गर्न हामीलाई तीन वर्ष लाग्यो । यो गीतले कम्तिमा पनि रारा ताल हेर्न आउने दर्शकमा वृद्धि हुने हाम्रो अपेक्षा छ ।’ गायक मानन्धरले गीतमा भावनाको अभिव्यक्तिसँगै पर्यटनका विषयलाई समेत जोडिएको बताए । उनले थपे, ‘भावनाको अभिव्यक्तिसँगै संगीतलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने लागेर हामीले यो गीत हिन्दी र उर्दूमा तयार गरेका हौँ ।’

भिडियो निर्देशक जनकदीप पराजुलीले टि–सिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले बनाएको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जिकिर गरे । उनले यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने आशा राखेको बताए ।

उनले भने, ‘टि–सिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो । योसँगै गीतले नेपालको पर्यटनको क्षेत्रमा समेत केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हाम्रो हो ।’ पराजुलीले गीत राम्रो बनेको जनाउँदै यसले दर्शकको मनोभावनालाई छुने आशा राखेको बताए ।

कार्यक्रममा चलचित्रकर्मी नीर शाहले सुमन शेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मिहिनेतको प्रशंसा गरे । उनले आफू पनि गीत संगीतको विद्यार्थी भएको सुनाउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको जिकिर गरे । शाहले भने, ‘कसैलाई लाग्ला हिन्दी गीतको किन यति चर्चा, तर म भन्छु हामी उनीहरूको मनमा बस्ने उनीहरूकै भाषा र शैली प्रयोग गरेर बस्ने हो । यस्तो गर्दा कसैले अर्राष्ट्रिय भन्छ कि भन्ने पिर गर्नु पर्दैन ।’

यस्तै, सो कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले आफू मौलिकताको पक्षधर भए पनि प्राविधिक रुपमा गीत राम्रो र बलियो बनेको बताए । उनले यसले दीर्घकालीन रुपमा नेपाली कलाकार र प्राविधिकलाई फाइदा पुर्याउनेमा आफू आशावादी भएको भनाइ राखे ।

सन्जिव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । गीतमा सम्पादन तथा भिएफएक्स धुव्रराज पराजुलीले गरेका छन् ।

प्रतिक्रिया