अमेरिकी राष्ट्रपति जापानमा

टोकियो । एसियामा अमेरिकी गठबन्धनलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार जापान पुगेका छन् । बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा एशियाको आफ्नो पहिलो यात्रा गर्दैछन् । यसैक्रममा टोकियोबाहिर योकोटा एयर बेसमा पुगेका हुन् ।

क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गरेका थिए । यो शिखर सम्मेलन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो ।

उक्त वार्ताका क्रममा दुई देशबीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो । राष्ट्रपति बाइडेन तीन दिने भ्रमणका लागि शुक्रबार यहाँ आएका हुन् । अमेरिकी राष्ट्रपतिले कोरियाली राष्ट्रपति उचित समयमा वासिंगटन भ्रमणको निम्तो दिएका छन् ।

प्रतिक्रिया