युगान्डामाथि नेपालको पहिलो जित

काठमाडौं । युवा लेगस्पिनर हिरान्माये रोयको उत्कृष्ट बलिङमा नेपालले चौथो महिला टि२० आई खेलमा युगान्डालाई १५ रनले पराजित गरेको छ । नेपालले सुरुवाती तीन खेल लगातर हारका साथ सिरिज गुमाई सकेको छ ।
जितको लागि ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायो । युगान्डाकी जेनेत म्वाबाजीले ३२ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन् । जेनेतलाई १३ औं ओभरको अन्तिम बलमा स्पिनर हिरान्माये रोयलाई बोल्ड गर्दै डेब्यू विकेट लिएकी थिइन् ।

ओपनर केविन एविनो ११ र रिता न्यांगेन्डो १६ रनमा रन आउट भइन् । एभलिन एनीपो ११ बलमा २ चौकासहित १६ रन बनाइन् । नेपालको लागि डेब्यू खेल खेलेकी युवा स्पिनर हिरान्माय रोयले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । अस्मिना कर्माचार्य, कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल १७.५ ओभरमा ९७ रनमा अल आउट भएको थियो । नेपालकी ओपनर ज्योति पाण्डेले १३ बलमा ४ चौकासहित सर्वाधिक १७ रन बनाइन् । विन्दु रावलले ३५ बलमा १ चौकासहित १६ रन बनाइन् । नेपालले सुरुवात भने राम्रो गरेको थियो । सुरुवाती ८ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको थियो ।

त्यसपछि निरन्तर विकेट गुमाउँदै नेपाल १५.१ ओभरमा ७८–८ को कमजोर अवस्थामा पुगेको थियो । नेपालले मध्यक्रममा २८ रन जोड्न ६ विकेट गुमाएपछि बलियो योगफल बनाउनबाट चुकेको थियो ।

पहिलो विकेटका लागि ज्योति र विन्दुले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए । आक्रामक सुरुवाती दिलाएकी ज्योति जेनेत म्बावाजीबाट उत्कृष्ट क्याच भएकी थिइन् । कोन्सी एविकोले इन्दु बर्मालाई १ रनमा बोल्ड गरिन् ।

सीता रानामगर ८ बलमा २ चौकासहित ११ रनमा रन आउट भइन् । त्यसपछि नेपालले लगातार विकेट गुमाएको थियो । सरिता मगर २ रनमा बोल्ड भइन् । विन्दु एविको बलमा एलबीडब्लू आउट भइन् । रुविना क्षेत्री बेलबासे एविनो अकिटेंगको बलमा १ रनमा स्टम्पिङ आउट हुँदा नेपाल १२.१ ओभरमा ६६–६ को अवस्थामा पुगेको थियो ।

अप्सरी बेगम ४ र डली भट्ट ६ रनमा आउट भए । अस्मिना कर्माचार्य र कविता कुँवरले ६(६ रन जोडे । युगान्डाकी कोन्सी कोन्सी एविकोले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । सारा एकिटेंगले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर २ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । पाँचौं तथा अन्तिम खेल नेपालले शनिबार खेल्नेछ ।

प्रतिक्रिया