मष्टो भाकेर पदभार ग्रहण

मुगु । भ्रष्टचार नगर्ने र कमिसन नखाने भन्दै एक जना नवनिर्वाचित नगरप्रमुखले मष्टो भाकेर पदभार ग्रहण गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिकाका नव निर्बाचित मेयर बिष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुर ज्यूको घण्ट छोएर कसम खादै शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेबाट विजयी नगर प्रमुख भामले मष्ट र अन्य देवताको घण्ट छोएर भ्रष्टचार नगर्ने, कमिसन नखाने र सेवाग्राहीलाई दुःख कष्ट नदिने कसम खाएका हुन् । कार्यलयमा आयोजित पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख भामले आफनो यो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई कुनै दुःख कष्ट नहोस् भन्दै देउताका नामका घण्ट छोएका थिए ।

त्यति मात्र होइन पदभार ग्रहण कार्यक्रममा उनले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने बाचा कसम पनि खाए । प्रसिद्ध देवताका २ वटा घण्ट समातेर पदभार सम्हाल्दैगर्दा नगरप्रमुख केही भावुक पनि देखिएका थिए ।

उनले नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुबिधा नलिने घोषणा समेत गरेका छन् । आफुले पाउने यो ५ बर्षको पारिश्रमिकबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
नगरका सम्पूर्ण बस्तीमा विद्युत सेवा बिस्तार गर्ने, गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरबासीलाई स्वच्छ खानेपानीको व्यावस्था मिलाउने पनि नगरप्रमुख भामले बाचा कसम खाएका छन् ।

यस अघिका वडाअध्यक्ष भामले आफ्नो ५ बर्षको पारिश्रमिक वापत पाउने रकमबाट नगरका सबै बस्तीका गरिव, दलित र जेहेन्दारलाई राहत वितरण गरेका थिए । भाम ४५९९ मतका साथ विजय भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर रावलले ३,८६० मत ल्याएका थिए ।

प्रतिक्रिया