हेटौंडा उपमहानगरपालिकामा पहिलो महिला मेयर लामा

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाएको छ । हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले २३ हजार ६७ मत प्राप्त गर्दै बिजयी भएकी हुन् ।

लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपप्रमुखको रुपमा भारी मतले विजयी भएकी थिइन् । लामाका प्रतिस्पर्धी रहेका एमालेका अनन्तप्रसाद पौडेल २० हजार ९ सय ८ र राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत प्राप्त गर्दै क्रमश दोस्रो र तेस्रो स्थान हाँसिल गरेका छन । एमालेको लालकिल्ला मानिएको नगरका वडाहरुका अपेक्षित मत एमालेलाई आउन नसकेपछि पौडेल पछि परेका हुन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँले ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले२३ हजार ९ सय ९ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ५ हजार ८ सय ८७ प्राप्त गर्दै क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

को हुन मिना कुमारी लामा ?

२०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा जन्म भएका हो । लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो । २०४६ सालबाट विद्यार्र्थी जीवनबाट नै राजनितीमा यात्रा सूरु गरेर हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए. र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी.सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडी बढिन् ।

२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनितीसँगै अध्ययनलाई अगाडी बढाउदै २०५४ सालमा हेटौंडा १ का सुनकुमार लामासंग विवाह भयो ।

श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै दुई सन्तानकी आमा मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाएर राजनीति सँगै अघि बढेकी मीना २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप—सचिव र विद्यार्र्थी इन्चार्ज भई जिम्मेवारी बहन गरिन् ।

२०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत भएकी हुन् ।

लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छिन । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको हो ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया