मिस नेपालको अडिसन

काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस नेपालको अडिसनमा आठ सयभन्दा बढी युवती सहभागी भएका छन् । प्रतियोगितामा भाग लिने युवतीको संख्या बढ्दै गइरहेको आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ । टे«जरका अनुसार यस संस्करणमा नेपालभरीबाट लगभग आठ सय जना युवतीले प्रतिस्पर्धामा सहभागी हुन आवेदन दिएका थिए ।

मंगलबार राजधानीमा गरिएको अन्तिम अडिसनमा दुई सय युवती सहभागी थिए । यसअघि बाँकी देशका ६ वटै प्रदेशको मुख्य सहरमा अडिसन गरिएको थियो । पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अडिसन गरिएको आयोजक संस्थाले जनाएको छ । काठमाडौंमा भएको अडिसनमा उल्लेख्य मात्रामा सहभागिता रहेको ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले बताए । उनले भने, ‘मिस नेपालमा पछिल्लो समय देखिएको यो क्रेजप्रति हामी खुसी छौं । मापदण्डमा हामी केही लचिलो देखिएपछि भाग लिन इच्छुक युवतीको संख्या बढेको छ ।’

काठमाडौंमा कोरियोग्राफर रचना गुरुङ शर्मा, पूर्वमिस नेपाल इभाना मानन्धर लगायतले अडिसन लिएका थिए । उमेर र उचाइको मापदण्डमा लचिलो भएपछि आवेदन दिने युवतीको संख्यामा उल्लेख्य वृद्धि भएको हो । अडिसनबाट १९६ जना प्रतिस्पर्धी छनोट हुने र छानिएकालाई आगामी शुक्रबार अभिमुखीकरण तालिम दिइने ट्रेजरले जनाएको छ । आगामी असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेसन सेन्टरमा मिस नेपालको अन्तिम प्रतिस्पर्धा हुँदैछ । यसपटक मिस वल्र्डसहित मिस इन्टरनेसनल र अर्थ टाइटलमाथि समेत प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया