मोदी आज नेपाल आउँदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउँदै छन् । उनी धार्मिक सदभाव भ्रमणका लागि लुम्बिनी भ्रमणमा आउन लागेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीको प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहनेछन् ।

भारतीय प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा. आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सोमबार नै दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि हुने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदी बुद्द जयन्तीको अवसर पारेर लुम्बिनी आउन लागेका हुन् । उनी लुम्बिनीबाटै भारत फर्कने कार्यक्रम रहेको बताइएको छ ।

भ्रमणका क्रममा मोदीले मायादेवी मन्दिरको दर्शन र लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश पनि गर्नेछन् । त्यसपछि नेपाल सरकारद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन तथा समकक्षी देउवाको भेटवार्ता र डेलिगेसन लेभलको बैठकमा मोदीको सहभागिता रहने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । मोदीसँगको भेटका लागि नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा आइतबार नै लुम्बिनी पुगिसकेका छन् । दिल्लीबाट कुशीनगरमा मोदी आउने र त्यहाँबाट विहान ११ बजे हेलिप्याडबाट लुम्बिनीमा अवतरण गर्नेछन् । दुई वर्षअघि मोदी लुम्बिनी आउने कार्यक्रम रहेको भएपनि अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया