शेयर बजारमा दुई अर्ब माथिकाे कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार चौथो कारोबार दिन पनि बढेको छ । आइतबार करिब १८ अंकले बढेको नेप्से सोमबार १२ अंकले बढेर बन्द भएको थियो । मंगलबार ३३.१६ अंकले वृद्धि भएको नेप्से आज पनि बढेको छ । आज ५६.०६ अंकले बढेको नेप्से पछिल्ला चार कारोबार दिनमा १३०.४४ अंकले वृद्धि भएको छ । बुधबार २.४२ प्रतिशतले वृद्धि भएको नेप्से २३६९.०६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा पनि हरियाली छाएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सूचक ‘सेन्सिटिभ इन्डेक्स’ पनि ९.५२ अंकले बढेर ४५६.६६ अंकमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्ला दुई कारोबार दिनमा लगातार डेढ अर्ब पनि नपुगेको कारोबार रकम बढेर आज दुई अर्ब नाघेको हो । मंगलबार दिनभर एक अर्ब ३६ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा आज एक दुई १६ करोड ४० लाखको कारोबार भएको छ ।

आज बजारमा अरुण भ्याली हाइड्रोपावरको १० करोड ६० लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको आठ करोड ७३ लाखको र राधी पावरको सात करोड ६२ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९५ कम्पनीको सेयर कारोबारमा आएकामा १९२ कम्पनीको सेयर मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्य घटेको छ । एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज कारोबारमा आएका मध्ये नौ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य १.०२ प्रतिशत र नेसनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १.०१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया