रिभर फल्स पावरको आईपीओ खुला

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । आईपीओमा आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँबराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओमा १० कित्तादेखि एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

रिभर फल्सले यसअघि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० रुपैयाँअंकित दरले जारी पुँजी ७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने सात लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रमा लागि बिक्री खुला गरी बाँडफाँड गरेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस आईएस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम संकेत गर्छ ।

प्रतिक्रिया