वैदेशिक रोजगारीमा रहेकालाई आईपीओमा आरक्षण

सेयर बजारमा विदेशी लगानी आवश्यक

काठमाडौं । निजी क्षेत्रको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघले सेयर बजारमा विदेशी लगानी भित्र्याउन आवश्यक भएको बताएको छ भने पुँजी बजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा गएकालाई पनि समेटने बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा निजी क्षेत्र र बोर्डका अधिकारीले त्यस्तो धारणा राखेका हुन । कार्यक्रममा बोर्डका अध्यक्ष रमेश कुमार हमालले श्रम स्वीकृति लिएर गएका श्रमिकलाई सार्वजनिक निष्कासनमा आरक्षण गर्ने नियमावली तयार भएको बताए । उनले भने,‘दुई महिनामै कार्यान्वयन हुन्छ । कार्यान्वनयमा आएपछि वैदेशिक रोजगारीमा गएकाले पनि आईपीओमा आरक्षण पाउने छन’ ।

तीन महिनामा डलर खाता खोलेर नेपालीलाई धितोपत्र बजारमा लगानी गर्ने वातावरण बनाउने पक्षमा उनले जोड दिए । बोर्ड अध्यक्ष हमालले धितोपत्र बजारमा साना कम्पनीका लागि एसएमई प्लेटफर्म आवश्यक रहेको पनि बताए । पुँजी बजारमा क्षेत्रगत विविधीकरण नहुँदा उताचढाव हुने गरेको भन्दै उनले भने,‘क्षेत्रगत विविधीकरणसँगै औजार विविधीकरण नहुनु नै अहिलेको मुख्य समस्या हो ।’ बजारमा क्षेत्रगत विविधीकरणका लागि रियल सेक्टर कम्पनी ल्याउनुपर्ने र त्यस्ता कम्पनीलाई ल्याउन बुक बिल्डिङ पारदर्शी रूपमा ल्याउन अगाडि बढाउन जरुरी रहेको उनको भनाई थियो । अध्यक्ष हमालले बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ता ल्याउने वातावरण बनाउने तर्फ सबैको सहयोग र सहकार्य आवश्यक भएको धारणा पनि सो अवसरमा राखे । उनले धितोपत्र बजारमा प्रविधिको विकास हुन नसक्नु समस्या भएको भन्दै त्यो सबैले स्वीकार गर्नुपर्ने जिकिर गरे ।

‘म्यानुअल पद्धतिबाट सूचना प्रवाह गरेर हुँदैन । सूचना प्रविधिमा ध्यान दिनुपर्छ । अटोमेटेड सभर्लेन्स सिस्टम ल्याएर बजारको सुपरभिजन गर्न जरुरी छ । २९ वर्षसम्म भएका कमजोरी स्वीकार गर्नपर्छ’ उनले भने,’फाइनान्सियल लिटरेसी बढाउनुपर्छ । वित्तीय साक्षरता १८ प्रतिशत मात्रै छ । साक्षर छैन भने सानो सोसियल मिडियाको सूचनाले पनि उताचढाव हुन्छ । ऐनले सामाजिक सञ्जाललाई समावेश गरेको छैन । बजार हल्लाको भरमा उताचढाव हुनु हुँदैन ।’ हमालले आफू निजी क्षेत्रबाट बोर्डको नेतृत्वमा आएको भन्दै निजी क्षेत्रको राखेको कुरालाई आफुले सकेसम्म सम्बोधन गर्ने जिकिर गरे । उनले भने,‘म निजी क्षेत्रबाट आएको हो, निजी क्षेत्रको कुरा धेरै नै बुझ्छु ।’

कार्यक्रममा हमालले विदेशी मुद्रा सञ्चितिको समाधान गर्ने टास्क फोर्स गठन भएको जानकारी दिएका थिए । ‘एसएमई प्लेटफर्म जरुरी छ । फोकस समु छनोट गर्नुपर्छ । कृषि कम्पनीलाई फाइनान्स र ज्ञान दिनुपर्छ’ उनले भने,‘प्राइभेट इक्युटी र भेन्चर क्यापिटल एसएमईमा फोकस हुनु पर्छ । एसएमईको विकास गरेर मात्रै आम नागरिकको घरदैलोमा सेवा पु¥याउन सकिन्छ ।’

नियामक निकायको आखा सेयर बजारमा

महासंघका अध्यक्ष शेखर गोल्छाले नियामक निकायको आँखा सेयर बजारमा परेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दे उनले सेयर बजारमा लगानी धेरै भएर समस्या भयो कि लगानीयोग्य रकम नभएर भन्दै प्रति प्रश्न गरे । उनले अर्थतन्त्रको दबाब पुँजी बजारमा परेको बताए । आर्थिक गतिविधिसँगै कर्जाको माग बढेको, घरजग्गा, पुँजीबजारमा स्वभाविक रूपमा कर्जा माग बृद्धि भएको, आर्थिक वर्षको सुरूको जस्तै आर्थिक गतिविधि रहेको भए चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने अवस्था रहन सक्ने भन्दै उनले पछिल्लो समयमा देखिएको तरलता अभावसँगै सबै क्षेत्र प्रभावित भएको बताए । सोही कारण पुँजी बजार प्रभावित भएको उनको भनाई थियो । तरलता अभावसँगै कर्जाको ब्याजदर बढन पुग्दा निक्षेपको ब्याजदर पनि स्वत बढेको कारण लगानीमा प्रभाव पारेको एवं मार्जिन प्रकृतिको सेयर धितो कर्जामा प्रतिव्यक्ति सीमाले प्रभाव पारेको उनको भनाई थियो ।

अध्यक्ष गोल्छाले पुँजीबजारमा सचेतना बढन् थालेको भने खुसी व्यक्त गरे । कोभिडमा सबै क्षेत्र ठप्प हुँदा पनि पुँजीबजार सकारात्मक भएको भन्दै अहिले बैंकिङ प्रणाालीमा देखिएको तरलता अभावको प्रभाव संगै कर्जा र निक्षेपको ब्याजदरमा भएको वृद्धिको प्रभावले झन प्रभावित बनाएकोमा गोल्छाले जोड दिए । उनले परिपक्व नयाँ उपकरण ल्याउन जरूरी रहेको तथा वास्तविक क्षेत्रलाई बजारमा ल्याउन आवश्यक औजार ल्याउनु पर्नेमा जोड दिए । उनले इन्ट्रा डे, सर्टसेल जस्ता औजार बजारमा प्रवेश गराउनुपर्ने जिकिर गरे । संस्थापक सेयर पनि साधारण सेयर सरह कारोबार गर्न पाउनुपर्ने उनको माग थियो ।

–धितोपत्र बजारमा साना कम्पनीका लागि एसएमई प्लेटफर्मको खाँचो

–बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ता ल्याउने वातावरण बनाइने

–विदेशी मुद्रा सञ्चितिको समाधान गर्ने टास्क फोर्स गठन

–तरलता अभावसँगै सबै क्षेत्र प्रभावित

–पुँजी बजारलाई हेर्न दृष्टिकोण नै फरक

–नेप्सेलाई प्रविधि मैत्री बनाइने

–बैकको व्याजदर बढ्ने गभर्नरको भनाईले बजार प्रभावित

सो अवसरमा महासंघकै पुँजी बजार फोरमका सभापति अम्बिका पौडेलले नेप्से १६ महिनामा यताकै न्यून बिन्दुमा आएको बेला परिपक्व पुँजी बजार सम्मेलन हुन लागेको बताए । उनले सम्मेलनमा अन्य देशमा पुँजी बजार प्रती सरकारले हेर्ने दृष्टिकोण र नेपालमा हेर्ने दृष्टिकोण नै फरक भएको बताए । उनले पुँजी बजारबाट कसरी समृद्धि प्राप्त हुन्छ, यसमा आबद्ध ठूलो संख्या कसरी लाभान्वित हुन्छ भनेर सोच्नुपर्ने बेला आएकोमा पनि जोड दिएका थिए ।

गएको वियरीस ट्रेन्डमा ४२ प्रतिशत घटेको नेप्से अहिले ८ महिनामा ३० प्रतिशत भन्दा बढिले घटेको भन्दै पौडेलले भने,‘१३ खर्बभन्दा बढीले पुँजीकरण घटेको छ, सरकार र नेपाल राष्ट्र बैंकको नीतिले बजार घटेको हो’ । उनले विदेशी मुद्रा सञ्चिति र तरलता अभावलाई पुँजी बजारको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ, कस्ता औजारले विदेशीलाई नेपाली बजारमा आकर्षक गरेर लगानी ल्याउन सकिन्छ त्यसमा सोच्नुपर्ने समय आएको पनि बताए ।

किन घट्यो बजार पुँजीकरण

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ४४ खर्बमा पुगेको सेयर बजार ३१ खर्बमा पुगेको कारण पत्ता लगाउनुपर्ने बताएका छन् । डेपुटी गभर्नर मिश्रले १३ खर्बले बजार पुँजीकरण घटेको विषयमा कारण पत्ता लगाउनुपर्ने बताएका हुन ।
पुँजी बजारमा ५१ लाख लगानीकर्ता भनेपनि कतिजनाले आफैले निर्णय गरेर लगानी गर्छन्, त्यो महत्वपूर्ण कुरा भएको भन्दै उनले राष्ट्र बैकले एनआरएनएलाई डलर खाता खोल्ने र डलरमा नै लैजान सक्ने अफर ल्याएको बताए । यसमा सहयोग गर्न पनि डेपुटी गभर्नर मिश्रले सवैसंग आग्रह गरे ।

ब्रोकर कम्पनीको पुनरावलोकन जरुरी


नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन् । उनले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा आफूहरु सबैसँग छलफल गरेर अध्ययन भइरहेको बताए । कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको पनि बताए । बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधि मैत्री बनाउने विषयमा नेप्से लागि रहेको उनको भनाई थियो ।

शेयर बजारलाई परिपक्व बनाउन शेयर बजार र लगानीकर्ता आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उनको भनाई छ । साना तथा मझौला कम्पनीहरुलाई नेप्सेले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्ने र रियल क्षेत्रका कम्पनीहरुलाई पनि नेप्सेमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको जानकारी पनि कार्यक्रममा कार्कीले दिए ।

कार्कीले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्न छिटै कार्यदल गठन गरेर अध्ययन अघि बढाउने तयारीमा नेप्से रहेको बताए । हाल संचालनमा रहेको ओटिसी प्लाटफर्म समेत प्रारम्भिक चरण मै रहेको भन्दै कार्कीले ७ लाखभन्दा बढी कम्पनीहरु रजिष्ट्रार कार्यालयमा दर्ता रहँदा साढे दुई सय कम्पनी मात्रै हाल ओटिसीमा आवद्ध भएको जानकारी दिए ।

१६ महिना यताकै न्युन बिन्दुमा नेप्से

नेप्से परिसुचक १६ महिना यताकै न्युन बिन्दुमा पुगेको छ । गत साता नेप्से परिसूचक करिब १६ महिना यताकै न्यून बिन्दुमा पुगेर बजार बन्द भएको हो । सातामा नेप्से परिसूचक करिब १ सय १७ अंकले घटेर २ हजार २ सय ३८ बिन्दुमा झरेको छ । गत साताको तुलनामा अघिल्लो साता बजार ३ दिन मात्र बजार खुलेकाले कारोबार रकम उच्च दरमा घटेको देखिन्छ । अघिल्लो साता ८ अर्ब २० करोड रूपैयाँको कारोबार भएको बजारमा गत साता भने ४ अर्ब ३४ करोड रूपैयाँको कारोबार भएको हो ।

लगानीकर्ताहरूले खरिदको क्रम नबढाइरहेको दैनिक औसत कारोबार रकममा समेत कमी आएको देखिएको छ । दैनिक औसत कारोबार रकम समेत १ अर्ब ६४ करोड रूपैयाँबाट घटेर एक अर्ब ४४ करोडमा सीमित भएको छ । त्यसोत सेयर बजारका लगानीकर्ताहरु भने नेपाल राष्ट बैकका गभर्नरले बैक व्याजदर बढने बताएको कारण पनि सेयर बजार घटेको बताएका छन । चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा गभर्नर अधिकारीले व्याजदर बढ्ने बताएका हुन । उनले ब्याजदर वृद्धिको सामनाका लागि तयार रहन पनि सवैसंग आग्रह गरेका थिए । उनले भने, ‘अझै पनि प्रणालीमा तरलता अभाव छ, अझै ब्याजदर बढ्ने देखियो, त्यसका लागि सबै तयार हुनु पर्छ ’ । वाह्य क्षेत्रमा देखिएको समस्या समाधान पनि चुनौतिको विषय रहेको उनको भनाई थियो ।

गभर्नर अधिकारीले मुलुकमा चालु आर्थिक वर्षमा अत्याधिक रुपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको पनि बताएका थिए । उनले मुुलुकमा भएको पैसा सबै आयातबाट मुलुक भन्दा बाहिर गएकाले बजारमा तरलता अभावको समस्या देखिएको धारणा राखेका हुन । गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको पनि बताएका थिए । नेपाल इन्भेष्टर्स फोरमकी उपाध्यक्ष दुर्गा तिवारीले गभर्नर अधिकारीको भनाईले बजार थप घटेको बताएकी छिन ।

मूल्य संवेदनशील विषय बजारले निर्धारण गर्नुअघि नै गभर्नरले संकेत गरेकोमा अधिकारीले आपत्ति जनाएकी छिन । हालै अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले समेत ब्याजदरहरू बढाएर भएपनि कर्जा विस्तारलाई सुस्त बनाउनुपर्ने बताएको थियो । आइएमएफले आयातमा प्रतिबन्धको विकल्पमा यसमा जान आग्रह गरेको हो । हाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निक्षेपको ब्याजदर बढाउँदा अघिल्लो महिनाको मुद्धति निक्षेप खातामा सबै बैंकहरूले दिएको ब्याजको औसत निकालेर त्यसको १० प्रतिशत बिन्दुसम्म मात्र बढाउन पाउने व्यवस्था गरेको छ । हाल वाणिज्य बैंकहरूको मुद्धति निक्षेपमा औसत ब्याजदर ११ दशमलव शुन्य ३ प्रतिशत रहेको छ । केही महिनादेखि राष्ट्र बैंकको अप्रत्येक्ष दबाबमा बैंकहरूले १० प्रतिशत बिन्दुसम्मपनि वृद्धि नगरेर यो दरलाई नै कायम गरिरहेका थिए ।

निक्षेपको ब्याजदर बढ्दा सेयरमा भन्दा आम नागरिक बैंकमा रकम राख्न आकर्षित हुन सक्ने आकलन गरिएको छ । त्यस्तै, निक्षेपको ब्याजदरमा हुने वृद्धिले बैंकहरूको कर्जा लगातमा पनि वृद्धि हुन्छ । यसले पनि कर्जा लिएर सेयरमा लगानी गर्नेहरूलाई निरुत्साहित गर्न सक्छ । बजार १६ महिना यताकै न्यून बिन्दुमा आएकोले लगानीकर्ताहरूले पुँजी उपलब्धता अनुसार क्रमशः लगानी थप्दै जान सक्ने तर्फ पनि आकर्षित हुन सक्ने संभावना पनि बजारमा देखिएको छ ।

प्रतिक्रिया