‘बैकिङ् प्रणालीमा अझै तरलता अभाव रहन्छ’

काठमाडौं । बैकिङ प्रणालीमा अझै तरलता अभाव रहने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा उनले सो कुरा बताएका हुन । गभर्नर अधिकारीले ब्याजदर वृद्धिको सामनाका लागि तयार रहन पनि सवैसंग आग्रह गरे । उनले भने, ‘अझै पनि प्रणालीमा तरलता अभाव छ, अझै ब्याजदर बढ्ने देखियो, त्यसका लागि सबै तयार हुनु पर्छ ’ । वाह्य क्षेत्रमा देखिएको समस्या समाधान पनि चुनौतिको विषय रहेको उनको भनाई थियो ।


अर्थतन्त्रमा केही सुधार देखिएको उनको भनाई छ । कोभिड पश्चात चलायमान भएको अर्थतन्त्रले आर्थिक वृद्धि बढाउने अनुमान भएपनि लक्ष्य अनुसार हुन नसकेको उनको धारणा छ । उनले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत् निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताए । गभर्नर अधिकारीले मुलुकमा चालु आर्थिक वर्षमा अत्याधिक रुपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको पनि बताए । उनले मुुलुकमा भएको पैसा सबै आयातबाट मुलुक भन्दा बाहिर गएकाले बजारमा तरलता अभावको समस्या देखिएको धारणा राखेका थिए । गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको बताए ।


उनले व्यापार घाटा बढ्दै गएमा आयातका नीतिहरुमा सोच्नु पर्ने अवस्था रहेको बताए । अहिले पनि सरकारले केही वस्तुको आयातमा रोक लगाउने नीति प्रयोग गरिरहेको उनको भनाइ छ । उनले सरकारले आयातमा रोक लगाएको नीति संधैको लागि नभएर छोटो समयको लागि भएको बताए । उनले विदेशीबाट आउने रेमिटेन्स औपचारिक क्षेत्रबाट ल्याउने प्रयास गर्दा गर्दै पनि नसकिएको बताए । अनुदान तथा सहुलियत दिएर रेमिटेन्स बढाउने कुरा गरे पनि अहिले नेपाल जस्तै विदेशी मुलुक पनि विदेशी मुद्रा दिन नसक्ने अवस्थामा रहेकाले सोचे जस्तो रेमिटेन्स आउन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया