भरतपुरमा दलहरूका चुनावी सभा

चितवन । राजनीतिक दलहरूले भरतपुरमा चुनावी प्रचारका लागि आमसभा गर्ने भएका छन् । सत्ता गठबन्धनले बिहीबार सभा गर्दै छ भने विपक्षी गठबन्धनले वैशाख २५ गते सभा गर्दैछ । सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकामा प्रमुख पदमा माओवादी केन्द्रकी रेनु दाहाल र विपक्षी गठबन्धनबाट नेकपा एमालेका विजय सुवेदी उम्मेदवार छन् । निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्षीय गठबन्धन र विपक्षीय गठबन्धन दुवै लागि परेका छन् । यसै सन्दर्भमा सत्तापक्षीय गठबन्धनले भरतपुरमा शीर्ष नेताको उपस्थितिमा जनसभा गर्न लागेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सत्ता गठबन्धनको जनसभामा पार्टीका सभापति शेरबहादुर देउवाको समेत उपस्थिति हुँदै छ । सो सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्री गगन कुमार थापासँगै जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताको उपस्थिति हुनेछ । जिल्ला सभापति खनालले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूको हैसियतबाट नभएर पार्टीको सभापति र नेताको हैसियतले उहाँहरू यहाँ आउन लाग्नुभएको हो ।’

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताको उपस्थितिमा चुनावी सभा हुँदै छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा दुवै गठबन्धनले सभा गर्दै छन् । स्थानीय तह निर्वाचन ०७४ मा भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका थिए भने गठबन्धनका तर्फबाट प्रमुखकी उम्मेदवार रेनु दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरेकी थिइन् । राप्रपाका तर्फबाट बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८ सय ४२ मत प्राप्त गरेका थिए । गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेकी पार्वती शाह ठकुरीले ४७ हजार १ सय ९७ मत प्राप्त गरेक थिइन् । एमालेका तर्फबाट उम्मेदवार बनेकी दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन् भने राप्रपाबाट उम्मेदवार बनेकी रिना गुरुङले ७ हजार २ सय ५२ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादी सत्ता गठबन्धनतर्फ छ भने राप्रपा नेकपा एमालेसँग मिलेको छ ।

चितवनमा ३ लाख ९७ हजार ६ सय ८५ मतदाता छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ लाख १३ हजार ३ मतदाता थिए । यसपालिको स्थानीय तहको चुनावमा ७४ हजार ६ सय ७२ मतदाता थपिएका छन् । ०७४ को स्थानीय तहको चुनावलाई आधार बनाउँदा थपिएकामध्ये आधाभन्दा बढी भरतपुर महानगरमा थपिएका हुन् । भरतपुर महानगरपालिकामा ३५ हजार ४ सय ७८ मतदाता थपिएर १ लाख ८५ हजार ७ सय ५२ मतदाता पुगेका छन् ।

प्रतिक्रिया