भारतीय ओभरलोड गाडी निर्वाध चल्दा नेपाली यातायात व्यवसायी मारमा

भैरहवा । भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातयात व्यावसायी मर्कामा परेका छन् ।

ओभरलोड बोकेर निर्वाधरुपमा भारततीय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रुपमा तौल पुलमा ओभरलोड चेकजाँच गरेका छन् ।

सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्नेमा पटक पटकको अनुरोध गर्दासमेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघका प्रथम उपाध्यक्ष सुनिलराज विष्टले बताए ।

भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन ।

ओभरलोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने यातायात व्यवसायी बालकृष्ण बनियाले बताए । ‘हाम्रो अवस्था दयनीय भएको छ। हप्ता दिनसम्म गाडी थन्काउनु परेको अवस्था छ, लाखौ मुल्य लगानी गरेर राज्यलाई राजश्व बुझाउनु बाहेक केही विकल्प छैन’, बानियाले भने ।

जुनसुकै देशको सवारीसाधान नेपाल आए त्यहँको कानूनलाई मान्नुपर्ने भए पनि दैनिक रुपमा भारतीय गाडी सेटिङको रुपमा नेपाल प्रवेश गरी ओभरलोड बोकेर देशभर घुमिरहेको पश्चिमाञ्चल यातयात व्यवसयीका उपाध्यक्ष गुप्तबहादुर केसीले बताए ।

ओभरलोड नबोकी नेपाल आएका गाडी केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भएपनि प्रतिबन्धित गाडी नेपाल आउदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने उनले भने । शुक्रबार संयुक्त रुपमा गरिएको चेकजाँचले २२ वटा गाडीले ओभरलोड बोकेको पाइएको छ ।

मालवाहक सवारीसाधनको भारवाहन नियमनसम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानून अनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए संस्थाले ट्रक नविकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवा सुविधाबाट बञ्चित हुनुपर्ने लगायतका व्यवस्था रहेको छ ।

प्रतिक्रिया