स्थानीय तह निर्वाचन : उम्मेदवारकाे संख्या एक लाख नाघ्यो

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगले निर्धारण गरेको समय सोमबार साँझ पाँच बजेपछि सकिएको छ । आयोगले उम्मेदवारको मनोनयन दर्ताका लागि वैशाख ११ र १२ गतेको समय निर्धारण गरेको थियो । पहिलो दिन आइतबार साना दल र स्वतन्त्र उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गराएका थिए । दोस्रो दिन सोमबार भने ठूला दलका उम्मेदवारहरूले पनि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । अन्तिम दिन ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, ७ सय ५३ वटा स्थानीय तहका लागि ७७ वटै जिल्लामा कुल एक लाख, चार हजार, एक सय २३ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन् । आयोगले उम्मेदवारी दर्ताको प्रदेशगत विवरण उपलब्ध गराएको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी मधेस प्रदेशमा उम्मेदवारी परेको छ । जहाँ ११ बजेसम्मको विवरणअनुसार २४ हजार एकसय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता संख्याको दोस्रो नम्बरमा प्रदेश १ परेको छ । यो प्रदेशका स्थानीय तहका विभिन्न पदमा १८ हजार चार सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, लुम्बनी प्रदेशमा १७ हजार सात सय २० जनाले उम्मेदवारी दर्ता गराउँदा वागमती प्रदेशका स्थानीय तहमा भने १७ हजार दुई सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशमा नौ हजार २० र कर्णाली प्रदेशमा आठ हजार नौ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा कम उम्मेदवारी गण्डकी प्रदेशमा दर्ता भएको छ । यहाँ आठ हजार पाँच सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउने कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ । यद्दपि, सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रका दुई पक्षबीच उम्मेदबारीको विषयलाई लिएर झडप भएको थियो । सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रका टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । दुई पक्षबीच झड्प बढ्दै गएपछि स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले केही राउण्ड अँश्रुग्याँस समेत प्रहार गरेको थियो ।

महानगरपालिका
देशको सबैभन्दा ठूलो र पुरानो महानगरपालिका काठमाडौंमा सत्तारूढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रावेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् । एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएका छन् ।

स्थापित प्रदेशसभा सदस्यबाट राजीनामा दिएर काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका हुन् । स्थापित यसअघि पनि काठमाडौं महानगरपालिकाको मेयर भइसकेका छन् । निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पछ्याउँदै उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर लामो समयपछि पुनः मेयरमा उठेका हुन् ।

यसैगरी ललितपुर महानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले उम्मेदवारी दिएका छन् । ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी दिएका छन् । चिरिबाबु ललितपुरका निवर्तमान मेयर हुन् ।

यसैगरी विराटनगर महानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । विराटनगर नगरपालिकामा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवारी दिएका छन् ।

यसैगरी वीरगञ्ज महानगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट मेयरमा जसपा नेपालका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन् । उक्त महानगरमा एमाले र लोसपा नेपालले तालमेल गरेका छन् । जसअनुसार मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपा नेपालका पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन् ।

यसैगरी भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् ।

मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् ।

उक्त महानगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । भरतपुरमा एमाले र राप्रपाबीच तालमेल भएको छ । जसअनुसार मेयरमा एमालेबाट विजय सुवेदी र उपमेयरमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिएका छन् ।

यसैगरी पोखरा महानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन् । उक्त महानगरमा नेकपा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङले उम्मेदवारी दिएका छन् ।

उपमहानगरपालिका
देशका ११ वटा उपमहानगरमा सत्तारूढ गठबन्धन र नेकपा एमालेसहित विभिन्न दलले आआफ्ना उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन् । उपमहानगरमा पनि स्वतन्त्र उम्मेदबारको संख्या निकै ठूलो रहेको छ ।

जनकपुर उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा जसपा नेपालका लालकिशोर साह र उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा शिवशंकर साह र उपमेयरमा रुना झाले उम्मेदवारी दिएका छन् ।

कलैया उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राय यादवले मेयर र जसपा नेपालका प्रमोदप्रसाद गुप्ताले उपमेयरमा उम्मेदवारी दिएका छन् । एमालेबाट विनोद साहले मेयर र रोशन प्रविनले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

धरान उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका किशोर राई र उपमेयरमा नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा मञ्जु काफ्ले र उपमेयरमा पदम लिम्बुले उम्मेदवारी दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले उम्मेदवारी दिएका छन् । एमालेबाट अनन्त पौडेलले मेयर र सुमित्रा काफ्लेले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

इटहरी उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेलले मेयर र नेकपा एकीकृत समाजवादीका केशवबहादुर विष्टले उपमेयरमा उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

घोराही उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा र उपमेयरमा नेपाली कांग्रेसका भूपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा मनकुमारी डिसीले उम्मेदवारी दिएका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा नेपाली कांग्रेसका मेघा शाहीले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

बुटवल उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । एमालेबाट बाबुराम भट्टराईले मेयर र सावित्रादेवी अर्यालले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

तुल्सीपुर उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपा नेपालका कमरुद्दिन राईले उम्मेदवारी दिएका छन् । एमालेबाट पशुपतिदयाल मिश्रले मेयर र शान्तिदेवी ढकालले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

धनगढी उपमहागरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका नृप वड र उपमेयरमा नेकपा माओवादी केन्द्रका शान्ति अधिकारीले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारूले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनको सहमति
गत बुधबार सत्तारूढ गठबन्धन दलले महानगर र उपमहानगरमा चुनावी गठबन्धनको लिखित सहमति गरेका थिए । लिखित सहमतिअनुसार, सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदबारी दिने सहमति भएको थियो ।

कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरा महानगरमा भने उपमेयर पदमा उम्मेदबारी दिने सहमति भएको थियो । उपमहानगरमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटबल, तुलसिपुर, नेपालगञ्ज र धनगढीमा मेयर पद पाउने सहमति भएको थियो । जितपुर सिमरा, घोराही र हेटौँडा उपमहानगरमा भने कांग्रेसले उपमेयर पद पाउने सहमति भएको थियो ।

यसैगरी नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर तथा ललितपुर महानगरमा उपमेयर पद पाउने सहमति भएको थियो । यसका अतिरिक्त माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरमा मेयर तथा धरान र धनगढी उपमहानगरमा उपमेयर पद पाउने सहमति भएको थियो ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिकामा मेयर तथा काठमाडौं महानगरमा उपमेयर पद पाउने लिखित सहमति भएको थियो । यसका अतिरिक्त एकीकृत समाजवादीले हेटौंडा उपमहानगरमा मेयर तथा इटहरी, बुटबल र तुलसिपुर उपमहानगरमा उपमेयर पद पाउने सहमति भएको थियो ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) लाई वीरगञ्ज महानगरको मेयर तथा विराटनगर महानगरको उपमेयर पद दिने सहमति भएको थियो । यसका अतिरिक्त जसपाले जनकपुर उपमहानगरको मेयर तथा कलैया र नेपालगञ्ज उपमहानगरको उपमेयर पाउने सहमति भएको थियो ।

प्रतिक्रिया