चित्रमा मानव वन्यजन्तु सहअस्तित्व

ललितपुर । वन्यजन्तु र मानवबीचको सम्बन्ध सहअस्तित्वका रुपमा रहिरहनुपर्छ भन्ने लक्ष्यका साथ चित्रकला प्रतियोगिता गरिएको छ । जावलाखेलस्थित सदर चिडियाखानामा २७औं वन्यजन्तु सप्ताह २०७९ का क्रममा गरिएको प्रतियोगितामा उपत्यकाका २२ विद्यालयका ८२ विद्यार्थी सहभागी भएका थिए । विविध कार्यक्रमसहित प्रारम्भ गरिएको कार्यक्रमको नारा ‘मानव वन्यजन्तु सह–अस्तित्व हाम्रो साझा दायित्व’ रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विद्यार्थीमार्फत जल, जमिन, जंगल, जनावर, जडीबुटी, जलाधार जोगाउन जनचेतनामूलक कार्यक्रममध्ये आइतबार उपत्यकाव्यापी स्थलगत चित्रकला प्रतियोगिता गरिएको कार्यक्रमका संयोजक एफओजेडका सल्लाहकार तथा संरक्षण अभियन्ता देवीप्रसाद घिमिरेले बताए ।

डब्लुडब्लुएफ नेपालको विशेष सहयोग र सहकार्यमा सम्पन्न यस कार्यक्रममा एफओजेड सदस्य विद्यार्थीहरु लगायत उपत्यकाभरिका २२ विद्यालयका ८२ विद्यार्थी सहभागी भएका थिए । डब्लुडब्लुएफबाट रोस्ना सुवेदी, सदर चिडियाखानाबाट रचना साह तथा लिना चालिसे, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत शुष्मा राना, सहायक संरक्षण शिक्षा अधिकृत पुरुषोत्तम शर्मा, कलाकार राजु पिठाकोटे तथा पत्रकार तथा कलालेखक देवेन्द्र थुम्केलीसहितको निर्णायक समूहले प्रतियोगिताका सहभागीको चित्र छनोट गरेका थिए । सैनिक आवासीय महाविद्यालय भक्तपुरका रसिकबहादुर भण्डारी प्रथम, एम्बिसन ऐकेडेमी मध्यबानेश्वरकी अनिता श्रेष्ठ द्वितीय, ओम ज्ञान मन्दिर लोकन्थली भक्तपुरका किन्जल भण्डारी तृतीय तथा ग्रिनफिल्ड नेसनल सेकेन्डरी स्कुलकी स्मृति श्रेष्ठ र लोयल्टी एकाडेमी मण्डिखाटार काठमाडौंकी सोनाम शेर्पा सान्त्वना घोषित भए ।

पुरस्कृत विद्यार्थीलाई यही बैशाख ७ गते एक विशेष समारोहबीच पुरस्कृत विद्यार्थीलाई नगदसहित पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक देवीप्रसाद घिमिरेले जानकारी दिए । उनले दुई वर्षसम्म कोभिड–१९ का कारणले आफूभित्रको सिर्जनात्मकतालाई बाहिर ल्याउन प्रतियोगिताले सघाउँ पुगेको बताए । घिमिरेले भने, ‘वन्यजन्तु तथा प्रकृतिको संरक्षणका निम्ति नयाँ पुस्तासम्म पुग्नका लागि प्रतियोगिता निकै उपयोगी माध्यम हो । हामीले यहीमार्फत बालमस्तिष्कमा वन्यजन्तु र मानवको सह–अस्तित्वलाई उजागर गर्ने प्रयत्न गरेका हौं ।’ उनले विद्यार्थीलाई सिर्जनशील बनाउँदै उनीहरुभित्र रहेको क्षमतालाई प्रकट गर्न प्रतियोगिता सफल भएको सुनाए ।

प्रतिक्रिया