राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

काठमाडौं । राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको उक्त प्रदर्शनीको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको विकासको कामलाई राज्यले अझै प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरूप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यामबाट योगदानहरु पु¥याउँदै जानुपर्ने आवश्यकता छ ।’ उनले अरनिको लगायतका ललितकलाका पुञ्जहरुले आफ्नो कलाको माध्यमबाट विश्वसामु नेपाललाई परिचित गराएको बताए । उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने जनाउँदै ललितकलाले नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आएको विचार व्यक्त गरे ।

उपराष्ट्रपति पुनले मन्तव्यका क्रममा अन्तर्राष्ट्रिय स्तरसम्म नेपाल र नेपालीको शीर उच्च पार्नमा कलाकारको योगदान अमूल्य रहेको बताए । उनले आफू विदेशमा जाँदा पनि नेपाली लोककला, परम्परागत चित्रकला, मूर्तिकलाको प्रदर्शनी अवलोकन गरेको सुनाए । उक्त कार्यक्रममा प्रतिष्ठानका कुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ को मूल आयोजक समितिका अध्यक्ष के.के. कर्माचार्यले नेपाली ललितकलाको विकासमा प्रतिष्ठानले निरन्तर काम गर्दै आएको बताए । उनले समाजलाई गतिशील र सिर्जनशील बनाउन कला र कलाकारको विकासमा जोड दिनुपर्ने विचार व्यक्त गरे ।

राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ का कार्यकारी समितिका संयोजक एवं उपकुलपति गोपाल चित्रकारले नेपाली कलाको मौलिकतालाई बचाउन र अन्तर्राष्ट्रियकरण गर्न प्रतिष्ठानले भूमिका खेल्दै आएको बताए । यस्तै, प्राज्ञ रमेश खनालले नेपालमा प्रचलित सबै कलालाई प्रदर्शनीमा राखेर नेपालको विविधतालाई चिनाउने काम गरिएको धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर, नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा लगायत विभिन्न अग्रज कलाकार र ठूलो संख्यामा कलाकार तथा कलापारखीको उपस्थिति रहेको थियो ।समारोहमा निम्न कलाकारले सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।

सो अवसरमा अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मान २०७९ बाट अग्रज कलाकारद्वय कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई एक लाख नगदसहित सम्मान गरियो । यस्तै, ललितलकाल लेखन पुरस्कारबाट कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीलाई २५ हजारसहित पुरस्कृत गरियो । २५ हजार राशिसहितको यस वर्षको ललितकला पत्रकारिता पुरस्कारबाट पत्रकार सुशीला तामाङलाई सम्मान गरियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नयाँ वर्षको छेको पारेर बैशाख २ गतेदेखि सुरु गर्न लागेको उक्त प्रदर्शनीमा ३४१ कलाकारका ३८९ कलाकृति छनोट भएका छन् ।

एक महिनासम्म चल्ने सो कला प्रदर्शनीमा आधुनिक÷परम्परागत चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, वास्तुकला, कार्टुन, फोटोग्राफी, भावभंगीमा कला, प्रतिस्थापन लगायतका विविध विधा कलाको प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा विभिन्न विधाका कलाकारलाई सम्मानित एवं पुरस्कृत गरिँदै आएको छ । जस अनुसार यस वर्षको एक लाख राशीसहितको ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ अग्रज कलाकारद्वय कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ललितकला लेखन पुरस्कार कलाकार तथा लेखक देवेन्द्र थुम्केली र कला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिने जानकारी दिए ।

यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनीमा ६० हजारसहित आधुनिक चित्रकलातर्फ किशोर नकर्मीले राष्ट्रिय ललितकला पुरस्कार पाएका छन् । यस्तै, यस विधाबाट २५ हजार राशिको विशेष पुरस्कार विश्व थापा, प्रनोदकुमार दत्त र शान्त राहादी थापाले पाउन सफल भएका छन् । परम्परागत चित्रकलामा सुदर्शन सिंख्वालले राष्ट्रिय पुरस्कार पाएका छन् भने शंकर श्रेष्ठ, कलानन्द सत्यम, मिङमा छिरिङले विशेष पुरस्कार पाएका छन् । वास्तुकला तथा अन्य सिर्जनात्मक कलामा सजल शिवाकोटीले राष्ट्रिय ललितकला पुरस्कार पाएका छन् । यसै विधामा राजकी अर्याल, दीपेन्द्र ढुंगाना, केशव राज खनाल, दौलत न्यौपानेले विशेष पुरस्कार पाएका छन् । यसैगरी, हस्तकलार÷शिल्पकलाको राष्ट्रिय ललितकला पुरस्कार अमिर शाक्य तथा विशेष पुरस्कार सविता चेम्जोङ, संगीता थापाले पाएका छन् ।

लोककलातर्फ रामप्रकाश श्रेष्ठले राष्ट्रिय तथा नेहाकुमारी दास तथा सरितादेवी मण्डलले विशेष पुरस्कार पाएका छन् । परम्परागत मूर्तिकला राष्ट्रिय पुरस्कार विष्णुप्रसाद लिबी तथा विशेष पुरस्कार वीरेन्द्र शाक्य तथा सुरेश लावट तुलाधरले पाएका छन् । आधुनिक मूर्तिकलातर्फको राष्ट्रिय ललितकला पुरस्कार मानबहादुर बल तथा विशेष पुरस्कार मित्थु थारु र माधव पौडेलले पाएका छन् । ललितकला प्रादेशिक पुरस्कारबाट सन्तोष राई प्रदेश १, पुनम झा मधेश प्रदेश, राजन छेताला बागमती प्रदेश, निर्मल थापा मगर गण्डकी, प्रकाश पुन मगर लुम्बिनी, कोन्चोक डुग्याल तामाङ कर्णाली र दीपक आउजी सुदूरपश्चिम प्रदेश पुरस्कृत भएका छन् ।

यसैगरी प्रदर्शनीलाई अनलाइनमार्फत देखाइएको कुलपति कर्माचार्यले जानकारी दिए । सो प्रदर्शनीको क्युरेटिङ कलाकार मुकेश श्रेष्ठले गरेका हुन् । कुलपति कर्माचार्यले राष्ट्रिय ललितकला प्रदर्शनी ललितकला क्षेत्रको एउटा ठूलो पर्व भएको बताउँदै यसलाई सफल बनाउन कलाकार, कलाप्रेमी महानुभाव पत्रकार र सबै नेपालीको सहयोग र सद्भाव आवश्यक पर्ने बताए । प्रदर्शनीमा विभिन्न विधाका जम्मा ४२६ कलाकृति राखिएको छ र प्रदर्शनी सार्वजनिक विदाका दिनसमेत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म एक महिनासम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया