विराटनगर । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मोरङ जिल्लाका संवेदनशील मतदान स्थल तथा केन्द्रहरूको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी भेगसँग तथा नेपाल–भारत सीमासँग जोडिएका मोरङको पालिकाहरूमा रहेका संवेदनशील मतदानस्थलको समितिले अनुगमन गरेको हो । कतिपय मतदानस्थलहरू भैगोलिक विकटता तथा सडकको पहँुचभन्दा टाढा रहेकाले त्यस्ता मतदानस्थललाई संवेदनशील देखिएको विश्लेषण गर्दै अनुगमन गरिएको सुरक्षा समितिका प्रमुख एवं मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
अनुगमनको क्रममा मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागि गर्न सकिने उपायका विषयमा जनप्रतिनिधि तथा स्थानीय समुदायसँग समन्वयगर्दै सुरक्षा समितिले छलफल सुझावसमेत लिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । प्रमुख जिल्ला अधिकारी दाहालसहित मोरङका प्रहरी प्रमुख शान्तिराज कोइराला, नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर, ३ नं. गण हेडक्वार्टर टंकीसिनवारीका सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने तथा राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एवं उपअनुसन्धान निर्देशक वासुदेव सिग्देल लगायतको सुरक्षा समिति सम्मिलित टोलीले मतदानस्थलको अनुगमन गरेको हो । स्थानीय तहका निर्वाचनका लागि विद्यालय तथा वडा कार्यालयहरूलाई मतदानस्थल तोकिएको छ । अनुगमनको क्रममा केही मतदानस्थल साँघुरो रहेकाले त्यसलाई व्यवस्थित गरिने जनाइएको छ । मिकलाजुङ गाउँपालिकासहित केही पालिकाको विकट स्थानमा रहेका मतदानस्थलमा हेलिप्याडको समेत व्यवस्था मिलाइने सुरक्षा समितिले जनाएको छ ।
मोरङ जिल्लामा स्थानीय तहमा निर्वाचनका लागि तीन सय मतदानस्थल तथा ८ सय २० मतदान केन्द्र मतदानका लागि तोकिएको छ । सुरक्षा समितिका अनुसार तोकिएको मतदान स्थलमध्ये ४९ वटालाई अति संवेदनशील १ सय ५५ वटालाई संवेदनशील तथा ९६ वटालाई सामान्य मतदान स्थलको रूपमा विश्लेषण गरिएको छ । यसपटकको निर्वाचनमा मोरङमा ७० वटा मतदान केन्द्र थप गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
सुरक्षा समितिले सबैपालिकाको मतदानस्थल तथा केन्द्रको अनुगमनगरी सोहीअनुसार सुरक्षा रणनीति तयार गर्ने जनाएको छ । अहिलेसम्म सयभन्दा बढी मतदान स्थलको सुरक्षा समितिले अनुगमन गरेको र अनुगमन भएका सबै मतदानस्थल मतदाताका लागि पायक पर्ने स्थानमा रहेको बताइएको छ । भौगोलिक अवस्थालाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न भएपछि सबै मतपेटिकालाई मतगणना स्थलसम्म तत्काल सहज रूपले पु¥याउनेगरी सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ ।
प्रतिक्रिया