नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालन गरिएको छ । एक पालिका एक घरबासको अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ र मगरको बस्ती रहेको धवलागिरिमा नौमती सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो । मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन मगर समुदायले घरबास सञ्चालनमा ल्याएका छन् । सुरुमा नौ घरलाई घरबासका रूपमा सञ्चालनमा ल्याइएको छ । ‘यसलाई बढाउँदै लैजाने हो’, होमस्टे परामर्शदाता पूर्णचन्द्र उपाध्यायले भने ।
उनले मगर संस्कार र संस्कृतिको जगेर्नामा पनि यसले सहयोग गर्ने उल्लेख गर्दै होमस्टे सञ्चालनमा आएसँगै मगर कला, संस्कृति, रहनसहन र खानपानमा जोड दिइएको बताए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले होमस्टे आर्थिक समृद्धिसँग पनि जोडिने भएकाले खजुराको समृद्धिमा यसले टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नौमती सामुदायिक घरबास धवलागिरिका अध्यक्ष छविकला थापाले धवलागिरिमा पाहुना भएर आउनेलाई मगर संस्कृतिमा मनोरञ्जन गराइने बताइन् । संस्कृतिसँगै नजिकै रहेको किरणनालामा गोही हेर्ने र नौमती बाजाको धुनमा नाचगान गरी भरपुर मनोरञ्जन लिने व्यवस्था घरबास गाउँमा गरिएको उनले जानकारी दिइन् ।
उनले स्थानीय मगर अगुवा चित्रबहादुर रानामगरले मगर र गुरुङको खानपान, संस्कृतिलाई बचाउँदै भावी पुस्तालाई समेत संस्कार र संस्कृति बचाइराख्न प्रेरणा दिन खोजिएको बताइन् । ‘हाम्रा पुर्खाले गरेका परम्परागत कुराको सिकाइ, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले घरबास सञ्चालन गरिएको हो’, उनी भन्छिन् । घरबास महासंघका महासचिव कृष्ण चौधरीले घरायसी वातावरणमा बसोबास, आफ्नै खेतबारीमा उत्पादन भएका जैविक खानाका परिकारको स्वाद पस्कन घरबास प्रभावकारी हुने बताए । ‘कला, संस्कृतिको जर्गेना गरी राम्रो आयआर्जनका रुपमा समेत घरबासलाई प्रवद्र्धन गर्न आवश्यक छ’, उनले भने ।
प्रतिक्रिया