स्थानीय निर्वाचन : आयाराम गयारामको खतरा बढ्दै

काठमाडौं । माओवादी र एमाले अलग हुँदा एमालेमा टाँसिएका रामबाहादुर थापा बादलका आँखा घरी–घरी आफ्नो पुरानो घर पेरिस डाँडातर्फ दौडन्छन् । माओवादी केन्द्रमा हुँदा प्रचण्डको किचन क्याविनेटसम्म पुग्ने र मर्यादा क्रममा प्रचण्डसँगै रहने उनलाई घरी–घरी त्यो सम्झेर बाडुली लाग्छ ।

कुनै राजनीतिक नियुक्ति वा मन्त्री नियुक्तिमा प्रचण्डले पहिला बादलसँग परामर्श लिन्थे । अहिले उनी समाचार माध्यममा त्यस्तो नियुक्तिको समाचार आएपछि मात्र थाहा पाउने उनी निकट स्रोतको दावी छ । एमालेका शक्तिशाली अध्यक्ष बनेका केपी शर्मा ओलीका किचन क्याविनेट र बैठकमा समेत वरिपरि र आफूभन्दा जुनियर नेताले दिवारको काम गरेपछि उनलाई बिगत सम्झेर घिर्लिक्क थुक निल्नुको विकल्प देखिएको छैन ।

वर्तमान सांस्कृति, पर्यटन तथा नागरिक उड्यायनमन्त्री प्रेम आले कुनै बेला रुखले कार्बनडाईअक्साईड र मान्छेले अक्सिजन फाल्छ भनेर दूनियाँलाई हसाउने नेतामा पर्छन् । उनी त्यसबेला ओलीको आलोचनामा कसैले केही भनेमा बुरुक्क उफ्रन्थे र हनुमान भक्ति प्रदर्शनमा उत्रन्थे ।

फागुन २८ गते एमाले र माओवादी केन्द्र अदालतले अलग गरिदिएपछि प्रचण्ड र माधव नेपालको नेतृत्वमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएको छलफलमा एकै दिन दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले गुट बदले । उनीहरु यता फाईदा होला कि उती भनि बालुवाटार र बानेश्वर दौडादौड गरीरहे ।

मानौँ उनीहरुमा नयाँं खालको म्याराथुन दौड चलिरहेको छ । नेपालको राजनीतिमा यसलाई आयारामगयारामको रुपमा समेत यसलाई चित्रण गर्ने गरिन्छ । हुन त यो आयाराम गयारामको सुरुवात यो पहिलो थिएन । २०५४ संसदमा फ्लोरक्रस गर्ने र गुट बदल्ने संख्या समेत उतिकै थियो ।

२०५१ सालको मध्यावधी निर्वाचनमा देशैभरी नेपाली कांग्रेसका गणेशमानसिंह पक्षीय र चुनावमा टिकट नपाएका नेताहरुले वागी उम्मेदवारी दिएपछि कांग्रेसले त्यसको समाना गर्नुपरेको थियो । अहिलेको स्थानीय चुनावमा त्योभन्दा बढी आयाराम गयारामको खतरा बढ्दै छ ।

त्यसैले स्थानीय निकायको निर्वाचन कसको पक्षमा जान्छ भनेर अहिले नै आँकलन गर्न कठिन छ । हालै मात्र विराटनगरमा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेदवार बनाउने भएको छ ।

एमालेले यसलाई आयारामको स्वागत गरेको देखिन्छ । वर्षौँ दुःख गरेर सो पार्टीमा बसेको नेता तथा कार्यकर्ता अर्को पार्टीबाट आएर अरुले फुत्त टिकट खोसीदिँदा उनीहरुले प्रश्न गर्ने छन्, यो कुन अदर्शमा पर्छ होला ?

२०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । उनी २५ फागुनमा नेकपा एमाले प्रवेश गरेका थिए । केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका बगडीयालाई एमाले रंगेली नगर कमिटीले सर्वसम्त मेयरको उम्मेदवार बनाउन सिफारिस गरेको छ । २०७४ को चुनावमा मेयर उपमेयर दुवै माओवादीले जितेको रंगेली नगपालिकामा एमाले उम्मेद्वार तेश्रो भएका थिए ।

त्यसैगरी झापाको मेचीनगरपालिकामा आफूले टिकट नपाएपछि पुराना एमाले कार्यकर्ता डिल्लीराम घिमिरेले एमाले छाडेका छन् । मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक–पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताए ।

सत्ता गठबन्धनको बैठकमा कांग्रेसले एमाले र गठबन्धन बाहिरका दलले जितेका पालिकामा भागबन्डा गर्दा दोस्रो मत प्राप्त गर्ने दलले प्रमुख पाउनुपर्ने प्रस्ताव अघि सारेको छ । माओवादीले संसद्को शक्ति र यसअघि राष्ट्रिय सभाको निर्वाचनमा अपनाइएको मोडलअनुसार भागबन्डा गरिनुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादीले एमालेले जितेका स्थानमध्ये ५० प्रतिशत पालिकाको नेतृत्व आफूहरूले पाउनुपर्ने माग गरेको छ ।

एमाले विभाजन भएकोले त्यसमा कसरी मापदण्ड तयार गर्ने भन्नेमा गठबन्धनमा अलमल छ । सत्तारुढ राजनीतिक दलबिच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णयविरुद्ध चितवनको भरतपुर महानगरपालिकापछि चन्द्रपुर नगरपालिका रौतहटमा लफडा सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहनगर भरतपुर महानगरपालिका कांग्रेस स्थानीय तहका नेता विपक्षमा उभिएको सार्वजनिक भइरहेको बेला नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहट, चन्द्रपुर पनि गठबन्धनको विपक्षमा उभिएको हो ।

प्रतिक्रिया