काठमाडौं । अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नाममा स्थापित पुरस्कारबाट अग्रज साहित्यिक पत्रकार रोचक घिमिरे पुरस्कृत भएका छन् । शर्माको ८५औँ जन्मोत्सवको अवसरमा आयोजित राजधानीमा एक समारोहका बीच नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले घिमिरेलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नगेन्द्रराज शर्माले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार राशिसहित घिमिरेलाई सम्मान गरेका थिए । सो अवसरमा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यिक पत्रकारिता जगतमा रोचक घिमिरे र नगेन्द्रराज शर्मा आदरणीय र अनुकरणीय व्यक्तित्व भएको बताए ।
उनले साहित्यिक पत्रकारितामार्फत दुवै जनाले विशिष्ट योगदान दिएको जिकिर गरे । श्रेष्ठले भने, ‘हामीलाई चिनाउने कुनै प्रधानमन्त्री या मन्त्रीले होइन, हामीलाई चिनाउने भनेको ‘रचना’ र ‘अभिव्यक्ति’ ले नै हो । २०२७ सालमा स्थापित भएको पत्रिका ‘अभिव्यक्ति’ का सम्पादकको रहेका व्यक्तित्वको नाममा स्थापना भएको र २०१८ सालदेखि ‘रचना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आउने व्यक्तित्वलाई सम्मान गर्नु उहाँहरूले समाजमा देखाउनु भएको आदर्शको सम्मान हो ।’ पुरस्कार छनोट समितिका अध्यक्ष रामप्रसाद पन्तले आमसाहित्यिक पत्रकारले उक्त पुरस्कार स्थापनाका लागि कोषको रकम प्रदान गरिरहेको बताए । उनले पुरस्कार कोष स्थापनाका लागि कम्तीमा पाँच लाख रुपैयाँ आवश्यक पर्ने जानकारी दिए ।
साहित्यकार विजय चालिसेले साहित्यिक पत्रकारिता पुरस्कार स्थापना भएकोमा खुसी व्यक्त गर्दै यो पुरस्कारको दीर्घकालीन स्थायित्वको कामना गरे । उनले कतिपय पुरस्कार स्थापना भएर दुई चार वर्षपछि बन्द भएको सुनाउँदै त्यस्तो अवस्था नआउने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा साहित्यकार देविका तिमल्सिनाले आफूले लेख्नुभन्दा पनि अरूलाई लेख्न लगाएर अरूको साहित्यिक चिनारी बनाइदिने व्यक्तित्वको सम्मान हुनु हरेक साहित्यकारको गर्वको कुरा रहेको बताइन् । पुरस्कृत व्यक्तित्व रोचक घिमिरेले एक जना साहित्यिक पत्रकारिताका साधकका नाममा स्थापित यो पहिलो पुरस्कार प्रदान गरेकामा खुसी व्यक्त गरेका थिए ।
घिमिरेले उक्त नगद पुरस्कारमा थप पाँच हजार थप गरी ३० हजार रुपैयाँ नगद राशि नगेन्द्रराज शर्मा साहित्यकार पुरस्कार कोषका अध्यक्ष पवन आलोकलाई प्रदान गरे । कार्यक्रममा साहित्यकार मोहन दुवाल, किशोर पहाडी, गोविन्द गिरी प्रेरणा, विनोद दीक्षित, त्रिभुवनचन्द्र वाग्ले, ध्रुव सापकोटा, राप्रउ पोखरेल, जयदेव भट्टराई, भाषाविद् चूडामणि गौतम लगायतको उपस्थिति थियो । यो पुरस्कार नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारले नगेन्द्रराज शर्माको नाममा स्थापना गरेका पुरस्कार हो । पुरस्कार कोषको अध्यक्ष साहित्यकार पवन आलोक रहेका छन् ।
प्रतिक्रिया