सात वर्ष लागेको ‘श्री त्रिकुलनाथ’ को पौभा

काठमाडौं । कलाकार अमृत डंगोल नेपाली परम्परागत पौभा चित्रकला क्षेत्रमा परिचित नाम हो । विगत तीन दशकदेखि निरन्तर यस कलामा साधनारत् डंगोलले सात वर्ष लगाएर ‘श्री त्रिकुलनाथ’ शीर्षकको चित्र हालै पूरा गरेका छन् । कलाकार डंगोलका अनुसार ‘श्री त्रिकुलनाथ’ लाई ‘त्रिदेव’ को रुपमा समेत बुझिन्छ । ती बोधिसत्व मञ्जुश्री, बोधिसत्व अवलोकितेश्वर र बोधिसत्व बज्रपाणी हुन् । नाथ भन्नाले सास्ता गुरु भन्ने पनि बुझिन्छ । बोधिसत्व मञ्जुश्री लौकिक एवं लोकोत्तर प्रज्ञाको कमी भएकाहरुलाई प्रज्ञाद्वारा मद्दत गर्ने अधिष्ठान गरेका देवताका रुपमा चिनिन्छ । महायानमा प्रज्ञा बृद्धिको लागि विशेषतः उनको उपासना गरिन्छ र आर्य शान्तिदेवले पनि उनको विशेष कृपा प्राप्त गरेका थिए । त्यसैले आर्य शान्तिदेवले बोधिचर्या अवतारजस्तो महान ग्रन्थ लेखेका थिए । पहेँलो वर्णका मञ्जुश्रीले दाहिने हातमा खड्ग लिएको विषय चित्रमा देखाइएको छ । खड्ग लिनुको कारण समस्त प्राणीहरुको राग, द्वेष, मोह, अहंकार, लोभ आदि सबै नकारात्मक ऊर्जालाई क्षेदन गरी सकारात्मक ऊर्जा जस्तै, प्रेम, अरुको हित, शान्ति, ज्ञान, दान दिने आदि इत्यादिमा परिणत गरिदिनु हो । देब्रेहातको पद्मको संज्ञा ज्ञान र शुन्यता ज्ञान मानिन्छ ।

यस्तै, बोधिसत्व अवलोकितेश्वरलाई करुणाद्वारा प्राणीहरुको हित गर्ने र आफ्नो नाम लिँदा सभा आदिमा भय नहोस् भनेर अधिष्ठान गरेका देवताका रुपमा चिनिन्छ । चित्रमा महायानमा करुणाको बृद्धिको लागि विशेषतः उनको उपासना गरिन्छ र उनलाई बुद्धहरुको करुणाकै अभिव्यक्ति मानिन्छ । नेपालको अधिकांश हिमाली क्षेत्रका बौद्ध धर्मावलम्बीले उनको उपासनामा बढी जोड दिएको पाइन्छ । उनी सेतो वर्णका हुन्छन् । चार हातमध्ये दायाँमा अक्षमाला र बायाँमा कमलको फूल तथा दायाँ र बायाँले निलमणि लिएको एवं बज्रासनमा उनी बसेका हुन्छन् ।

यसैगरी, बोधिसत्व बज्रपाणी बलद्वारा प्राणीहरुको हित गर्ने र भय हरण गर्ने अधिष्ठान गरेका देवताका रुपमा चिनिन्छन् । उनलाई विशेषतः बल र बाधा आदि निवारणको लागि उपासना गरिन्छ । उनलाई बुद्धहरुकै बलको प्रतीक पनि मानिएको छ । दीघनिकायको आबद्ध अम्बठ्ठ सुत्तमा तथागतको बचन राख्न ठुलो फलामको कुट लिएका र वरिपरी आगोको ज्वालासहित चम्किएको अवस्थामा बजिरपाणी (बज्रपाणी) देखा परेर अम्बठ्ठलाई सात टुक्रा पार्ने आँटेको प्रसंग पाइन्छ । बज्रपाणी निलोमा कालो मिसिएको वर्णका हुन्छन् । उनी दुईहाते र चारहाते दुवै रुपमा रहेको पाइन्छ ।

चित्रमा आलंकारिक, रुपभेदिक, वर्णनात्मक तथा प्रतीकात्मक ढंगले बनेको छ । कलाकारले विषयलाई परम्परित मान्यतानुसार नै बनाएको पाइन्छ

कलाकार डंगोलले यी विशेषता झल्किने गरी श्री त्रिकुलनाथको चित्र बनाएका हुन् । चित्रमा आलंकारिक, रुपभेदिक, वर्णनात्मक तथा प्रतीकात्मक ढंगले बनेको छ । कलाकारले विषयलाई परम्परित मान्यतानुसार नै बनाएको पाइन्छ । उनले सात वर्षको अवधिमा अन्य चित्र बनाए पनि धेरै समय यसमा दिएको सुनाए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले चित्रको विषयवस्तु र प्रस्तुति निकै आकर्षक र कलात्मक रहेको बताए । उनले चित्रमा सुक्ष्मदेखि धार्मिक मान्यताका विषयलाई कलाकारले कुशलतापूर्वक उठान गरेको सुनाउँदै भने, ‘कलाकार डंगोलले लामो समय लगाएर बनाएको श्रीकुलनाथको चित्रमा कला, विषय र शैली निकै सबल रुपमा प्रस्तुत भएको देखिन्छ ।’


कलाकार डंगोलले नेपाली पौभा कलाको परम्परागत मान्यतामा रही विषयलाई उठाउन सकेको कोशिस गरेको सुनाए । उनले भने, ‘कलाकारले विषय अनुसार कलाकृति रचना गर्ने हो । मैले सक्दो कोशिस गरेर चित्र बनाएको छु ।’ कलाकार डंगोलले नेपाली मौलिक कलाको विकास र प्रवद्र्धनमा राज्य तथा सरोकारी संघसंस्थाले योजनाबद्ध काम गर्नुपर्ने जनाउँदै कलाकारले सकेसम्म उत्कृष्ट कला रचना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालको मौलिक पहिचानलाई विश्वमा चिनाउन सफल परम्परागत कलाको संरक्षण, प्रवद्र्धन तथा विकासका लागि कलाकार, विश्वविद्यालय, सरोकारी संघसंस्था, प्रतिष्ठान, संघीय, प्रादेशिक तथा स्थानीय सरकारकाले योजना बनाएर काम गर्नुपर्दछ ।’ डंगोलले समाज र देशको समृद्धिका लागि कला र संस्कृतिको विकासमा जोड दिनुपर्ने धारणा राखे ।

आमा चन्द्रदेवी डंगोल र बुवा विष्णुबहादुरका सुपुत्र अमृतको जन्म काठमाडौंको भोटेबहालमा २०३२ सालमा भएको हो । उनले सुरुमा मामाको छोरा गोविन्द डंगोलसँग कला सिकेको बताए । त्यस्तै, अग्रज कलाकार विजय सर्गसँग तीन वर्ष घरमै गएर कला सिकेपछि आफूमा निखारता आएको सुनाउँदै उनले २०४७ सालदेखि यस क्षेत्रमा सक्रिय भएको जानकारी दिए । उनले २०५१ सालमा ललितकला क्याम्पस भोटाहिटीका कला विषयको अध्ययन गरेका थिए । उनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति एवं अग्रज कलाकार केके कर्माचार्यसँग चित्र तथा मूर्ति बनाउन सिकेको सुनाए । यस्तै, अग्रज कलाकार उदयचरण श्रेष्ठको ‘तारा’ शीर्षकको कलाबाट आफू प्रभावित भएको बताए । त्यो चित्र उनले २०४७ सालमा मामाको छोरा गोविन्द डंगोलकहाँ देखेको र त्यसले नै आफूलाई कलाकार बन्न अभिप्रेरित गरेको जनाए । उनले अहिलेसम्म सात दर्जन बढी पौभा चित्र बनाइसकेको जनाउँदै आगामी दिनमा अझै सशक्त ढंगले कलाक्षेत्रमा लाग्ने बताए ।

 

प्रतिक्रिया