पर्वत । महिला भन्ने बित्तिकै गृहिणीको रूपमा चिन्ने चलन छ । घरपरिवार, इष्टमित्र बालबच्चाको जिम्मा नै महिलाको हो भनेर समाजले जिम्मा नै लगाएजस्तो अनुभूति हाम्रो समाजले गराएको छ । तर, महिलाले मौका पाए भने जे पनि गर्न सक्छन् भन्ने उदाहरण रूपमा पर्वतका महिला देखापरेका छन् । पर्वतका महिलाहरू चुलोचौकोमा मात्रै सीमित छैनन्, आम्दानी गरेर परिवार पनि पाल्न सक्छन् भन्ने उदाहरण मोदी गाउँपालिकाले दिएको छ । मोदी गाउँपालिकाले महिला लक्षित कार्यक्रमहरू ल्याएर साच्चिकै अवस्था नै परिवर्तन गर्न सहयोग गरेको स्थानीय महिलाहरूको भनाइ छ । यो गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र पातिचौर हो । यहाँ व्यवसाय र रोजगारीको अवसर खोज्न आउनेदेखि आफ्ना बालबच्चालाई निजी विद्यालय पढाउन गाउँबाट बजार झर्नेहरूको संख्या पनि अधिक छ । हिजोसम्म उनीहरू मध्ये धेरै जनाको जीविकोपार्जन गर्ने आधार रक्सीपारेर बेच्नु थियो । तर, मोदीगाउँपालिकाले ढाकाउद्यमतर्फ यहाँको महिलाहरूलाई आकर्षित गराएपछि भने उनीहरूको दिनचर्या तानमै बित्ने गरेको छ । ‘पहिला धेरै दुःख थियो, घरबाट बाहिर निस्कन समेत गाह्रो थियो हाम्लाई’, आफ्नो कथा व्यथा सुुनाउँदै तानमा नै ढाका बाट टोपी, ब्लाउजको कपडा र पछ्यौरीलगायत धेरै प्रकारका बस्तुहरू बनाउने कल्पना नेपाली भन्छिन्, ‘पहिला श्रीमानको कमाइको आस गर्नुपर्ने अवस्था थियो अहिले आपैmँ १५ देखि २० हजारसम्म महिनाको कमाइ गर्छु ।’
त्यति मात्रै होइन कहीँ कतै ढाका उद्यमसम्बन्धी तालिमको आयोजना भयो भने प्रशिक्षकको रूपमा समेत जाने गरेको नेपालीको भनाइ छ । अहिले पातिचौरलाई ढाकागाउँ भनेर पनि चिन्न थालिएको छ । उद्यमी महिलाहरूलाई सजिलोका लागि पातिचौर बजारमा साझा सुविधा केन्द्र पनि स्थापना गरिएको छ । यस केन्द्रमा ३० जनाको समूहले तानमा ढाकाका विभिन्न कपडाहरू बुन्दै आएका छन् । त्यस्तै आफ्नै घरमा व्यक्तिगत तान राखेर काम गर्नेहरू १५ जनाको संख्यामा छन् । सामान्य घर खर्च चलाउन पनि श्रीमानको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गराइदिएकोमा गाउँपालिकालाई धन्यवाद दिदै अर्की उद्यमी महिला सम्पदा पुन भन्छिन्, ‘धेरै समय सिक्न लाग्यो सुरुसुरुमा त सकिन्न कि जस्तो पनि भयो तर अहिले यसबाट नै घर खर्च चलेको छ ।’ श्रीमानको आम्दानी अचेल देख्न पनि पाइएको छैन तर आपूmहरूले कमाएको पैसाले आफ्ना आवश्यकता र बालबच्चाको समेत पढाइ खर्च पुगेको यहाँका अधिकांश महिलाको भनाइ छ ।
हातैले बुनेको, कलात्मक र आकर्षक बुट्टाहरू राखिएका कारण यहाँको ढाका हस्तकलाको रूपमा समेत लोकप्रिय छ । बिक्री गर्न समस्या नहोस् भन्नका लागि गाउँपालिकाले कोसेली घरसमेत सञ्चालनमा ल्याएको छ । तानमा हातैले बुन्नुपर्ने भएकाले गर्दा मिहिनेत धेरै हुने र अन्यकपडाको तुलनामा ढाका अलिक महँगो हुने उद्यमीहरू बताउँछन् । गरिब, विपन्न वर्गका लागि पालिकाले लघुउद्यम विकास कार्यक्रम अन्र्तगत बजेट बिनियोजन गरेरै उद्यमीहरूलाई सघाउँदै आएको मोदी गाउँपालिकाकी उद्यमविकास संयोजक सीताकुमारी शर्माले जानाकारी बताइन् । उनी भन्छिन्, ‘केही गर्न चाहने र आर्थिक अवस्था न्यून रहेका महिलाहरूका लागि पालिकाले ८० प्रतिशतसम्म लगानी गरिदिएर उद्यमी बन्नका लागि प्र्रेरितसमेत गरेको छ ।
मोदी गाउँपालिका लघुउद्यम र होमस्टेका लागि परिचित छ । यहाँ ढाका मात्र नभएर अल्लो र उनी बाट बनाइएका कपडा, नेपाली हाते कागज, कृषि उपज, सिस्नुको धुलो लप्सीका परिकार लगायतको उत्पादनतर्फ पनि उद्यमीहरू सक्रिय छन् । उद्यमतर्फ केही गर्छु भन्ने मनसाय भएका महिला तथा विपन्न बर्गका नागरीकलाई कुनै न कुनै पेसामा आकर्षण गरेर रोजगारीको सिर्जन गर्ने सायद नेपालमा नै पहिलो गाउँपालिका हुन सक्नेसमेत संयोजक शर्माको दावी छ । ढाका उद्यमसम्बन्धी तालिम लिएका महिलाहरूको प्रत्येकका घरमा तान राखेर घरमा बचेको समयमा तानमा बसेर आयआर्जन गर्दै आएका छन् ।
प्रतिक्रिया