चितवनका उद्योगमा लोडसेडिङ सुरु, दैनिक १४ घण्टा लाइन काटिँदै

चितवन । चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा सोमबारदेखि १४ घण्टा लाइन काट्न सुरु गरिएको छ ।

अघोषित रूपमा १४ घण्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् ।

‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको छ’, उनले भने, ‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’ प्राधिकरणले औपचारिक रूपमा भने लोडसेडिङ घोषणा गरेको छैन ।

उद्योगमा कम्तीमा आठ घण्टासम्म बिजुली दिने योजना रहेको उनले बताए । गार्हस्थ उद्योगमा भने लोडसेडिङ हुन नदिइने उनले बताए ।

‘चुनाव आइरहेको छ, यस्तो बेलामा घरमा पनि लोडसेडिङ भयो भने त नेताहरूलाई जनताले कुट्छन्, त्यसो भएको हुनाले घरमा लोडसेडिङ हुन दिन नहुने हामीलाई दबाब छ’, उनले भने ।

रुस र युक्रेन युद्धको प्रभाव भारतको ऊर्जा क्षेत्रमा पनि परेपछि भारतले विजुलीको मूल्य बढाएको हो । बढेको मूल्यमा पनि बिजुली सप्लाइ सहज नहुँदा लोडसेडिङ सुरु भएको हो । नदीमा पानीको बहाव बढेपछि मात्रै बिजुली सहज हुने देखिएको छ ।

प्रतिक्रिया