वेलिव्रिज पुलले जोडियो मुगु–हुम्ला

मुगु । मुगुको कर्णाली नदीमाथि स्थानीय सरकारको लगानीमा वेलिव्रिज निर्माण भएसँगै हुम्ला जिल्ला मुगु जिल्लासँग सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाको आर्थिक लगानीमा वडा न.ं ३ र १३ मा रहेको ईमालमोर भन्ने स्थानमा मुगु कर्णाली नदीमाथि वेलिव्रिज निर्माण भएसँगै हुम्ला जिल्ला र मुगु जिल्ला सडक सञ्जालमा जोडिएका हुन् ।

छायाँनाथ रारा नगरपालिकाका वडा नं. १ देखि हुम्ला जिल्ला चंखेली गाँउपालिकाको दार्म तल रहेको हुम्ला कर्णालीसम्म ग्रामिण पहुँच कार्यक्रम तेस्रो चरण… ले सडक बनाए पनि मुगु कर्णाली नदीमा पुल नहुँदा यहाँका स्थानीयहरुले सडक बनेर पनि यातायातको सुविधा लिनबाट वन्चित हुँदै आएका थिए ।

तत्कालिन जिल्ला विकास समिति हाल संघीय सरकारको माताहातमा करिव ६ करोडको ठेक्का गरेर मुगु हुम्ला लिङ्क रोडको मुगु कर्णाली नदीमा पक्की पुल बनाउन ठेक्का लगाए पनि प्राविधिक कारण देखाउँदै ठेकेदार पक्षले पेश्की लिएर पनि लामो समयसम्म पुल नबनाई गुमनाम बसेको थियो ।

कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री महेन्द्र बहादुर शाही २०७७ सालमा पक्की पुल निर्माण स्थलमै पुगेर ठेकदारलाई पुल बनाउन लगाउने यदि नबनाएमा ठेक्का रद्घ गरि पेश्कि लिएको रकमसहित असुलउपर गरेर नयाँ ठेक्का खोल्ने बताए पनि कुनै सुनुवाई भएके छैन ।

यसैबीच मुगु कर्णाली पारी रहेका छायाँनाथ रारा नगरपालिका– १३ र १४ मा सडक बनेर हुम्लासम्म जोडिए पनि मुगु कर्णाली नदीमा पुल नहुँदा सडकको सदुपयोग हुन सकेको थिएन ।

संघ र प्रदेश सरकारको आसमा बस्दा–बस्दा बनेको सडकसमेत जिर्ण हुने अवस्था आएपछि छायाँनाथ रारा नगरपालिकाले करिव ६ करोड ३ लाख २१ हजार १५७ लागत स्टमेट मध्य ५ करोड २० लाख ५५ हजार ९०२ रुपयाँमा वेलिव्रिज बनाउने गरि २०७७ पुस २९ गते जलप–रविचक्र जेभि भरतपुर ८ चितवनको निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

उक्त सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न गरि आईतबाट विधिवतरुपमा पुलको उद्घाटन गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए । ‘संघ सरकार र प्रदेश सरकारले बनाउला भनेर हामीले आश मान्यौँ, संघले ठेक्का खोलेको ९ वर्ष वितिसक्दा पनि पेश्की लिएको ठेकदार कता छ पत्तो छैन, प्रदेश सरकारले आश्वासन मात्र दियो, हाम्रो नगरमा हामीले बनाउने हो, माथिका सरकारको भर पर्ने हो भने विकास सम्भव छैन भनेर कार्यपालिकाले नै निर्णय गरेर यो पुल बनाउन ५ करोड बढी खर्च गरेको हो’, नगरप्रमुख शाहीले भने ।

उक्त पुल बनेसँगै छायाँनाथ रारा गरपालिका–ं १३ र १४ पाइने स्याउ, सिमि, ओखर जडिवुटीले बजार पाउने र स्थानीयहरुको आयस्तर समेत बढ्ने वडा नं १३ का वडाअध्यक्ष चक्रबहादुर सावतले बताए । कृषकले मात्र होईन पुल बनेसँगै पर्यटन क्षेत्रको पनि विकास हुने अपेक्षा गरिएको उनले बताए ।

रु १ मा अंकित चंखेली हिमाल, दुध ताल र थार्प मक्ष्टो थान जस्ता पर्यटकीय क्षेत्र कर्णाली पारि पर्ने र यही सडक भएर हुम्लाको सिकिकोटसम्म जान सकिने भएकाले पर्यटकको रोजाईमा पर्न सक्ने स्थानीय बताउँछन । पुल नहुँदा कृषि उत्पादन सदरमुकाम गमगढीमा बिक्रीका लागि ल्याउन हिँडेर ३ घण्टा लगाउने कृषक पुल बनेसँगै अब आधा घण्टामा गमगढीसम्म पुग्ने भएका छन् ।

पुल बनेपछि छायाँनाथ रारा नगरपालिका– १३,१४ र हुम्ला जिल्लाका चंखेली, सर्केगाड, खार्पुनाथ र सिमिकोट गाँउपालिका प्रत्यक्ष लाभान्वित भएका छन् । उद्घाटित पुल ५५ मिटर लम्बाई र ३० लोड भार रहेको निर्माण कम्पनीका सम्पर्क क्यक्ति बखतबहादुर मल्लले बताए ।

मुगु कर्णालीमाथिको पुल नगरप्रमुख हरिजंग शाहीको वाहुलीबाट विधवतरुपमा उद्घाटन गरिएको र अब सवारी तथा मालवाहक साधनहरु कर्णाली पारी र हुम्लासम्म नियमित चल्ने भएका छन् ।

प्रतिक्रिया