काठमाडौं । भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आएको छ । शर्माको एग्रिमो मंगलबार परराष्ट्र मन्त्रालयमा आइपुगेको हो । सरकारले उनलाई कात्तिक ११ गते राजदूतमा सिफारिस गरेको थियो । उनको संसदीय सुनुवाइ मंसिर २२ मा भएको थियो । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो ।
भारतले भने एग्रिमो पठाउन तीन महिना बढी समय लगाएको हो । सामान्यत: डेढ-दुई महिनामा एग्रिमो पठाउने अन्तर्राष्ट्रिय प्रचलन छ तर कहिलेसम्म एग्रिमो आउनुपर्छ भन्ने समय तोकिएको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि राजनीतिक कोटामा नियुक्त भएका सबै राजदूत फिर्ता बोलाइएको थियो ।
भारतका लागि तत्कालीन नेपाली राजदूत निलाम्बर आचार्य फिर्ता भएपछि गत असोजदेखि दिल्लीमा राजदूत खाली छ । कोरोनाको तेस्रो लहर र भारतका विभिन्न राज्यहरूमा भएको चुनावका कारण शर्माको एग्रिमो स्वीकृत हुन समय लागेको भारतीय पक्षले बताएको थियो । शर्माको एग्रिमो आएसँगै अब उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नेछिन् ।
प्रतिक्रिया