पेट्रोलियम व्यवसायीको धम्की : ‘इन्धन आपूर्ति ठप्प पार्छौं’

 

काठमाडौं । विश्वभर इन्धन महँगो भएर सर्वसाधारणको दैनिक जनजिवन कष्टकर बन्दै गइरहेको अवस्थामा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले अत्यावश्यक इन्धनको आपूर्ति ठप्प गर्ने चेतावनी दिएको छ । समितिले ६ बुँदे माग अघि सार्दै उक्त माग पुरा नभए आगामी चैत ५ गतेदेखि अत्यावश्यक इन्धनको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो । समितिले नेपाल आयल निगमलाई ६ बुंदे माग पनि बुझाएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरु सम्मिलित उक्त समितिले सोमबार आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छन ।

समितिले पेट्रोलियम ऐन बनाएर तत्कालै कार्यान्वयनमा ल्याउनुपर्ने माग अघि सारेको छ । यस्तै एलपीजी विनियमावली, विक्रेता विनियमावली र ढुुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको प्रतिनिधिको सहभागितामा परिमार्जन गरेर कार्यान्वयनमा ल्याउनुपर्ने माग अघि सारेका छन् ।
आयल निगममार्फत पेट्रोलियम व्यवसायिक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गर्नुपर्ने सुधार र योजनाबारे अध्ययन गरी आवश्यक नीति कार्यान्वयनमा ल्याउनु पर्ने, सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनुपर्ने तथा पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिशन फागुन १९ गतेदेखि नै पाउनुपर्ने माग सारेका छन् ।

पछिल्लो समयमा निगमले यो कमिशन उपलब्ध गराउन स्थगित गरेको छ । यसैगरी एलपी ग्यास ढुवानी गर्ने साधनको भाडादर स्वचालित हुनुपर्ने माग पनि सारिएको छ । समितिले जारि गरेको बिज्ञप्तीमा चैत ५ गतेदेखि १५ गतेसम्म स्थानीयस्तरमा का पेट्रोलियम ब्यवसायी र स्थानीय एशोसिएशन, पेट्रोलियम ढुवानी ब्यवसायी संघ, तथा एलपी ग्याँस उद्योग संघका प्रतिनिधिसम्मलित आन्दोलन समिति गठन गर्ने उल्लेख गरेको छ ।

यसैगरी चैत ६ गतेदेखि सम्पूर्ण एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पीडीओ बहिष्कार गर्ने र चैत १० गतेदेखि सम्पूर्ण एलपी ग्यास उद्योगहरुले भारतका सबै रिफाईनरीबाट ग्यास लोड गर्ने प्रक्रिया बहिष्कार गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । यसैगरी चैत १४ गतेदेखि एलपी ग्यास उद्योगहरुले सम्पूर्ण नाकाबाट भन्सार छुट्टाउने प्रक्रिया वहिष्कार गर्ने, चैत १६ गतेदेखि देशभरका पेट्रोलियम पदार्थ बोक्ने ढुवानी टैंकरहरुले पीडीओ बहिष्कार गर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

समितिले चैत १७ गतेदेखि देशभरका एलपी ग्यास उद्योगबाट विक्रेताहरुलाई खाना पकाउने ग्यास सिलिण्डरको बिक्री बितरण बन्द गर्ने, चैत १८ गतेदेखि पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङ तथा अनलोडिङ प्रक्रिया अवरुद्ध गर्ने र बिक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया