आगलागी र डढेलो सँगसँगै

काठमाडौं । देशको भौगोलिक अवस्था, गरिबी, सामाजिक परिवेश, जनचेतनाको स्तरजस्ता कारणले प्राकृत्तिक विपत्तिको मार आम नेपालीको ‘नियति’ बन्न पुगेको छ । बाढी/पहिरो, शितलहर, हिमपात, हुरीवतास, आगलागीजस्ता प्राकृत्तिक विपत्तिका कारण वर्षेनी अनाहकमा सर्वसाधारणले अमुल्य जिउ/धनको नोक्सानी ब्यहोर्दै आउनु परेको छ । पछिल्लो समय फेरि देशभर आगलागी र डढेलोले उत्पात मच्चाउन सुरु गरेको छ । विगत केही दिनयता आगलागी र डढेलोका घटनाले सर्वसाधारण त्रस्त बनेका छन् । विज्ञहरुका अनुसार गर्मी महिनामा आगो छिटो सल्किन्छ ।

विद्युत सर्ट भएर हुने आगलागी, जंगलमा गएर चुरोट सेवनपछि ठुटा फालेर हुने आगलागी, जंगलमा डढेलो लगाएपछि नयाँ घाँस पलाउँछ भन्ने सोचका कारण मानवसिर्जित डढेलोले सल्किेन आगो र जंगलमा आगो लगाएपछि त्यसको खरानीले बाली सप्रिन्छ भन्ने गलत विश्वासका कारण लगाइने डढेलोले पनि आगो फैलने गरेको विज्ञहरुको भनाई छ । आगलागीका घटनालाई विपद्सँग जोडिने भएपनि मानवसिर्जित समस्याले पनि आगो सल्किंदै आएका थुप्रै घटना छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार आइतबारदेखि सोमबार अपरान्हसम्म देशका विभिन्न स्थानमा २३ वटा आगलागीका घटना भएका छन् ।

० वैशाखदेखि हालसम्म ११९७ वटा आगलागीको घटना
० सोही अवधिमा अगलागीमा परि ७८ जनाको मृत्यु
० आगलागीका कारण २३९५ परिवार प्रभावित
० एक अर्ब ८९ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति
० ६६ स्थानका जंगलमा डढेलो
० डढेलोका कारण तीनजनाको मृत्यु

यो वर्ष वैशाखदेखि फागुन २३ गतेसम्म आगलागीका एक हजार नौ सय ९७ वटा घटना भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा आगलागीका कारण जलेर ७८ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार यो वर्ष आगलागी, बाढी, पहिरो, चट्याङ, सर्पदंश, हावाहुरी, जनावरको आक्रमण, हिमपहिरो लगायतका विपद्का तीन हजार चार सय ६५ वटा घटना भएका छन् । त्यसमध्ये विपद्मा परेर तीन सय २५ जनाको मृत्यु भएको छ । यसअघि २०७७ सालमा विभिन्न विपद्का घटनामा परी पाँच सय सातजनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ ।

डा. डिजन भट्टराई

सर्वसाधरण पनि सचेत हुनुपर्छ : डा. डिजन भट्टराई (प्रवक्ता, एनडीआआरएमए)
गत वर्ष (२०७७ साल) फागुन २३ गतेसम्मको तथ्यांक हेर्दा आगलागीबाट ७८ जनाको मृत्यु भएको देखिन्छ । यो वर्ष पनि २३ गतेसम्मकै तथ्यांक हेर्दा ७८ जनाकै मृत्यु भएको देखिन्छ । गत वर्ष एक हजार आठ सय ५० वटा आगलागीका घटना भएका थिए । यो वर्ष एक हजार आठ सय ८६ वटा घटना भएको देखिन्छ । घटना बढ्योभन्दा पनि सचेतनाको कुरा गरौं । हामीले जुन हिसाबमा घटना नियन्त्रण हुने सोचेका थियौं त्यो अनुपातमा कमी हुन सकेन । गत वर्ष सात सय भौतिक संरचनामा क्षति हुन पुगे भने यो वर्ष साढे पाँच सय भौतिक संरचनामा क्षति पुगेको देखिन्छ ।

घटना वृद्धि भए पनि भौतिक संरचनाको क्षतिमा भने कमी आएको देखिन्छ । आगो लाग्नु एक हिसाबले भवितव्य देखिए पनि अर्कोतर्फ मानवसिर्जित समस्या पनि हो । आगो समयमा नियन्त्रण गर्न नसक्नु सरकारको कमजोरी भएपनि घटना भइरहनु भनेको सर्वसाधरणको चेतनासँग सम्बन्धित विषय हो । तत्काल रेस्पोन्स भयो/भएन भन्ने विषय मात्रै सरकारसँग जोडिन्छ । यसदेखि वाहेक अरु व्यििक्तगत सचेतनाको कुरा हो । अझै हामीले यस्ता विषयमा राम्रोसँग सम्बोधन गर्न सकेका छैनौं । यतिखेर डढेलो लाग्ने समय नै हो । हावाहुरी वेस्सरी चल्छ । सुख्खा मौसम भएकाले डढेलो चाँढो सल्किन्छ ।

डढेलो लगाउँदा घाँस पलाउँछ, खरानी भएको पानी बोकेर खेतबारीमा आउँछ र बाली सप्रिन्छ भन्ने गलत विश्वासले पनि जंगलमा डढेलो लगाउने गर्छन सर्वसाधरणले । अर्कोकुरा विद्युत सर्टबाट हुने आगलागी, घर भित्र आगो ताप्ने निहुँमा कोइला बालेर सुत्ने अनि अक्सीजनको अभावमा मृत्यु हुने घटना पनि जोडिन्छन् । खासगरी सुत्केरी महिलाले सिशुलाई सेक्ने नाममा घरभित्र मक्कल बाल्ने वा हिटर बाल्नाले पनि अक्सीजन अभावका कारण मृत्युजन्य घटना हुने गर्छन् । विशेषतः सर्वसाधरणमा सचेतना भयो भने आगलागीका घटना न्यूनिकरणमा ठोस टेवा पुग्छ ।

सुन्दर शर्मा

जनचेतनाको अभाव छ : सुन्दर शर्मा (डढेलो विज्ञ)
सबैलाई थाहा भएको कुरा हो, आगलागी यसै हुँदैन । नेपालको हकमा जनचेतनाको कमीले अगलागीको घटना बढी भएको देखिन्छ । अनियन्त्रित आगो लगाउने काम बातावरणीय हिसाबले पनि राम्रो होइन । केटाकेटीले खेल्ने नाममा पनि आगलागीका घटना हुँदै आएका छन् ।
हामीले स्कुले शिक्षामा नै यस्ता कुरा राख्नुप¥थ्यो । यतिका वर्षदेखि लागिरहेको डढेलो एवं आगलागीका घटनामा केही कमी भएको छैन । किन नियन्त्रण हुन सकिरहेको छैन । कानुनी हिसाबले हो वा जनचेताको कमी ? हाम्रो मुलुकमा त पूर्वतयारीको अभ्यास पनि देखिंदैन ।

विपद्सँग जुध्न धेरै काम गर्नुपर्ने हुन्छ । नीति, नियम र कानुनी व्यवस्थाको छुट्टै पाटो छन् । स्रोत साधनको ग्यारेन्टी, आगलागी नियन्त्रक र त्यसका लागि आवश्यक बजेटका पनि कुरा आउँछ । नेपालमा बजेटको अभाव छैन । विपद् व्यवस्थापन प्राधिकरण स्थापना भएको पनि लामो समय बितेको छैन । म आफैं विज्ञको हिसाबले काम गरिरहेको छु । अधिकांंश घटनाको अनुसन्धान एवं अवलोकन गर्दा नेपालमा मानव सिर्जित अगलागीका घटना धेरै देखिन्छन् ।

विदेशमा चट्याङ र रेलवेयको लिकबाट आगो सल्किएको घटना हुन्छन् । नेपालमा त्यो छैन । यो हिसाबले राम्रो पक्ष पनि ठान्छु । तर पनि आगालागीका घटना नियन्त्रणमा आउन सकेको छैन । मानवीय व्यवहारमा परिवर्तन ल्याउन सकिएन भन्ने जस्तो लाग्छ । घरवस्तीमा सर्टसर्किट भएर आगलागी हुन्छ । चेतनामूलक काम गर्न सक्यौं भने नियन्त्रण गर्न सकिन्छ । सवै क्षेत्र झकझक्किनु आवश्यकता छ । जिविकोपार्जनसँग जोडिएका घटनाले पनि आगलागीका घटना हुन्छन् । जंगलको दाउरा लिन होस् वा जंगली जनावरको शिकार गर्न पनि आगो लगाउने परम्परा हावी भएको देखिन्छ । यो नियन्त्रण हुनुपर्छ । ग्रासरुट देखिनै सचेतना गराउनुपर्ने अहिलेको टड्कारो अवश्यकता छ ।

घटना—१
आइतबार रातिदेखि सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ—हिलारी विमानस्थल नजिकैको नक्चुङ सामुदायिक वनमा आगलागी हुँदा सोमबार विहान एक घण्टा विमानस्थल अवरुद्ध हुनपुग्यो । सबै उडान रद्द गरिए । भीरमा लागेको डढेलो नियन्त्रण कठिन थियो । हेलिकप्टरबाट समेत पानी हालिए पनि डढेलो नियन्त्रणमा आउन सकेन ।

घटना—२
आइतबार तनहुँको दमौलीस्थित व्यास नगरपालिका–४ मा मुख्य चोकमा सञ्चालित भूपाल हार्डवेयरको गोदाममा भीषण आगलागी भयो । बिहान १० बजेदेखि सुरु भएको आगो चार घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । स्थानीय सुरक्षाकर्मी, दमकल र पानी ट्यांकरले पनि आगो नियन्त्रण गर्न नसकेपछि हेलिकप्टरबाट पानी हालिएको थियो ।

घटना—३
गएको माघ २९ गते झापास्थित मगमग चाउचाउ उद्योगमा आगलागी हुँदा कम्पनीले ठूलो घाटा व्यहोर्नु प¥यो। मेचिनगर नगरपालिका वडा नम्बर १४ स्थित दुहागढीमा सञ्चालित चाउचाउ उद्योगमा लागेको आगो नियन्त्रणमा आउँन चार घण्टा लागेको थियो । स्थानीय, निजी पानी ट्यांकर, दमकल र सुरक्षाकर्मीको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

एकै परिवारका पाँचको मृत्यु
ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा सोमबार विहान एकै परिवारका पाँचजना मृत अवस्थामा भेटिएका छन् । नल्लु बस्ने काइली स्याङतानको परिवारका सदस्य मृत भेटिएका हुन् । आइतबार खाना खाएर सुतेका एकै परिवारका ६ जना सदस्यमध्ये सोमबार बिहान चारजना मृत र दुईजना अर्धचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय कोन्जोसोमका प्रहरी घटनास्थलमा पुगेका थिए ।

घटनामा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेल फोरेन्सिक टोली लिएर पुगेका थिए । उनले घटनाको प्रकृति हेर्दा निसासिएर मृत्यु भएको देखिए पनि मृतकको पोष्टमार्टमको रिर्पोट नआएसम्म यसै भन्न नसकिने सौय दैनिकलाई बताए । उनले भने, ‘घटना प्रकृति हेर्दा हत्या गरेजस्तो कुनै चोटपटक देखिँदैन । प्रारम्भीक अनुसन्धानमा अक्सीसन अभावकै कारण मृत्यु भएको अनुमान छ । अनुसन्धानको काम भइरहेको छ ।’ घटनास्थलमा आगो बलेको कोइला र वान्तासमेत भेटिएको उनले बताए ।

घरधनी ५५ वर्षीया काइली स्याङ्तान, बुहारी २२ वर्षीया शुष्मा स्याङ्तान, नौ वर्षीय नाती आशिष स्याङतान, पाँच वर्षीया नातिनी आश्मा स्याङतान घरमै मृत भेटिएका थिए । अर्धचेत अवस्थामा भेटिएका २३ वर्षीय छोरा शुभाव स्याङ्तानको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै उपचारमा पठाइएका काइलीका दुई दिनका नातिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया