प्रतिवद्धता कागजमै सीमित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य विजयी भएपछि २०७४ साल जेठमा उनले सय दिनमा एक सय दुई वटा काम गर्छु भन्दै कार्ययोजना सार्वजनिक गरेका थिए । यसो िभनिरहँदा महानगरपालिकाभित्र जकडिएको कर्मचारीतन्त्रबारे पनि राम्ररी जानकार थिए, मेयर शाक्य । लामो समयको अन्तरालमा स्थानीय तहको निर्वाचनपछि महानगरले मेयर पाएको थियो । तर, यसअघि कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका अधिकृतहरुले महानगरपालिकाभित्र गर्नसक्ने विकासको कामका बारेमा दिएको प्रतिवेदन अहिले पनि महानगरका दराजमा थन्किएका छन् । काठमाडौंमा महत्वाकांक्षी मनोरेलदेखि पुरानो वसपार्कमा विजनेश पार्क बनाउने योजनासम्ममा मेयर शाक्य अगाडि थिए । उनकोे झन्डै पाँच वर्षे कार्यकाल वितिसक्यो तर, दुवै योजनाले हालसम्म पूर्णता पाएको छैन ।

मनोरेलको प्रसंग त एक हिसाबले हराइसक्यो भनेपनि हुन्छ । पुरानो वसपार्कमा अन्डरग्राउण्ड पार्किङसहितको विजनेश टावर निर्माणधिन अवस्थामा छ । २०७८ साल साउनभित्र बनिसक्ने उक्त टावरको काम अहिलेसम्म आधा पनि सम्पन्न भएको छैन । अहिले पनि महानगरपालिकाको आफ्नै भवन छैन । पुरानो बागदरबार र चाइना टाउन मार्गमा रहेको ट्रेड सेन्टरबाटै महानगरपालिकाको काम सञ्चालन हुँदै आएको छ । जबकी थुप्रै स्थानीय निकायले यस अवधिमा आफ्नै प्रशासनिक भवन निर्माण गरिसकेका छन् ।

महानगरको नयाँ भवन टेकुमा बन्दै छ । तर, उक्त भवनको निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने त्यहाका कर्मचारी बताउँछन् । शाक्यले मेयर हुने बित्तिकै महँगो मोबाइल र विलासिताका सवारीसाधन खरिद गरे । त्यसले उनलाई धेरै विवादीत पनि बनायो । उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) सँग शाक्यको कहिल्यै सुमधुर सम्बन्ध बन्न सकेन ।

काठमाडौंको जहिल्यैको टड्कारे समस्या भनेको समयमा फोहोर उठ्न सक्दैन । जितपूर फेदीमा अवस्थित सिसडोलमा फोहोर फाल्ने डम्पिङ साइटको स्थायी समस्या अहिलेसम्म समाधान हुन सकेको छैन । त्यहाँका स्थानीय वासिन्दाको माग पुरा गर्न नसकेपछि शाक्य मात्रै होइन यसअघिका मेयर र कार्यकारी अधिकृतले त्यहाँ फोहोर फाल्ने स्थायी समाधान गर्न सकेका छ्रनन् ।

तर, पाँच वर्षसम्म मेयर शाक्यले स्थायी समाधन खोज्न सकेका छैनन् । टेकुमा निर्माणाधीन काठमाडौं महानगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरका चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले उक्त भवन निर्माणको बोलपत्रको मूल्यांकन प्रतिवेनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेकाले महानगरका खरिद एकाइका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद एकाइ प्रमुख उप–निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको अख्तियारको आरोप छ । अहिले चार जानै कर्मचारी निलम्बनमा छन् । भाडाको भवनमा कार्यालय सञ्चालन गर्दै आएका मेयर शाक्यका लागि यो घटनाले शीर निहुराएको छ ।

महानगरभित्रै पर्ने धरहरा र रानीपोखरीको पुनर्निर्माण केन्द्र सरकारले आफ्नै बजेटमा सम्पन्न गर्यो। धरहरा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रानीपोखरी राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घान गरेका थिए । शाक्यले त्यहाँ दुवै अतिथिको सत्कार गरेपनि थप्पडी बजाएमात्रै । अर्कोतर्फ हनुमानढोकाको पुनर्निर्माण पनि अहिले सरकाले गर्दैछ ।

खुला क्षेत्रमाथि नै अतिक्रमण
काठमाडौंको खुला क्षेत्रको संरक्षण, उद्यान र हरियाली मार्फत सुन्दरता फर्काउने प्रण गरेका मेयर शाक्यको कार्यकालमा खुला क्षेत्रमाथि नै सबैभन्दा बढी अतिक्रमण भए। ऐतिहासिक धरोहर र सम्पदा व्यापारिक स्वार्थमा प्रयोग गर्ने चेष्टा भयो । ऐतिहासिक रानीपोखरीदेखि कमलपोखरीको पुनःनिर्माणमा शाक्यले परम्परागत सीप र शैली अपनाउन सकेनन् । बरु उनले पुरातात्वीक महत्वको रानीपोखरी र कमलपोखरीमा कंक्रिट प्रयोग गर्न स्वीकृति दिए। त्यसको विरोधमा स्थानीय देखि सम्पदाविद्वहरु नउभिएको भए रानीपोखरी कुरुप अवस्थामा पुगिसक्थ्यो ।

काठमाडौंमा मोनोरेलको त कुरै छाडौं, शाक्यको कार्यकालमा शहरको सौन्दर्यकरणका लागि सम्झनलायक कुनै काम भएन । काठमाडौंको संस्कृति झल्किने भित्ते रंगरोगनमा पनि शाक्यले केही गर्न सकेनन् । स्वतन्त्रताको इतिहास बोकेको खुलामञ्चलाई शाक्यले बसपार्कमा परिणत गरे। नेपाली सेनाको कब्जामा रहेको टुंडिखेलको विकल्पमा खुला खुलामञ्च थियो। तर, त्यहाँ पनि कालोसूचीमा रहेका व्यापारीलाई भाडामा दिएर उनले पसल सञ्चालन गर्न दिए। विरोधपछि अहिले खुलामञ्च वसपार्कमा परिणत भएको छ ।

वसपार्कबाट कति कर उठ्छ त्यसको कुनै लेखाजोखा छैन। सार्वजनिक सम्पत्ति व्यापारिक प्रयोजन निम्ति लिजमा दिने सरकारको काममाथि महानगरपालिकाले कहिल्यै प्रतिरोध गरेन । बरु सार्वजनिक सम्पत्ति दोहनमा मेयर शाक्य मूकदर्शक बनिरहे । शाक्यको कार्यकालमा अवैधानिक तवरमा मिचिएका कति जमीन फिर्ता ल्याउन सकियो र तिनको हरियालीकरण भयो? कति संख्यामा वृक्षरोपण गरियो र रोपिएका वृक्षहरूको हेरचाह भईरहेको छ छैन ? सार्वजनिक स्थल, पाटी, चौतारा, पर्खाल, आकाशे पुल आदिको मर्मतसम्भार र रङरोगन के कति भयो ? त्यसको मूल्यांकन हुन जरुरी छ ।

महानगरपालिकाका मेयर शाक्य सम्पर्कमा आउन चाहेनन्। महानगरका सहायक प्रवक्ता महेश काफ्लेले महानगरले भ्याएसम्मका आफ्नो कामलाई निरन्तरका दिइरहेको दावी गरे। उनले भने,‘ एक त कोभिड संक्रमणसँग पौंठाजोरी खैल्नुपर्ने बाध्यता थियो । संक्रमितको व्यवस्थापन गर्ने देखि लिएर उपचारकालागि आवश्यक वेडहरुको स्थापना र अक्सिजनप्लान्ट सम्मका काम गर्नुपरेका कारणले नियमित कामलाई पछाडी धकेल्नुपर्यो। तर मेयरसाब आफ्नो योजनामा अडिक हुनुहुन्छ । काम भइरेका छन् । केही अन्तिम चरणमा छन् ।’

वाचा र प्रगति
१. मासिक सुरक्षाभत्ता पाँच हजार बनाउने । ८४ वर्ष पुगिसकेको १२ हजार बनाउने – पुरा भयो
२. ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनस्र्थापनाको प्रक्रिया अगाडि बढाउने – प्रक्रियामै छ
३. ‘ग्रिन एण्ड क्लिन काठमाडौँ’ अन्तर्गत रुद्राक्षको बिरुवा रोप्ने – मेयरले मात्रै रोपे अन्य रोपिएन
४. महानगरपालिकाभित्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरूमा द्रूतगतिको निःशुल्क वाइफाइ – वाईफाई देखाउँछ तर, चल्दैन
५. बाटो विस्तार गर्न पीडित समुदायसँग वार्ता गरेर समस्या समाधान गर्ने – वार्ता भए पनि समाधान भएन
६. ‘साइकल सिटी महानगर’ को कार्ययोजना प्रारम्भ गर्ने – कागजमै सीमित
७. महानगर योजना आयोग गठन – छ
८. महानगरपालिकाको आफ्नै पूर्वाधार कमिटी गठन गर्ने – गठन भयो तर, काम भएन
९.महानगरपालिकाको आफ्नै लगानीमा कम्पनी स्थापना गर्ने – प्रगति शुन्य
१०. महानगरपालिकाको नयाँ सांगठनिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र परिचालन – बन्यो
११. महानगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स प्रणाली सुरु गर्ने – व्यवहारमा कार्यान्वयन शून्य
१२. प्रत्येक युवालाई खेल, शारीरिक व्यायाम, व्यावसायिक तालिम, हस्तकला, ललितकला, प्रविधिलगायत रचनात्मक काममा आबद्ध गराउने कार्यक्रम ल्याउने – कागजमै सीमित
१३. समयसापेक्ष रोजगारीमूलक वातावरण सिर्जना गर्ने र युवाका लागि अनलाइन रोजगार सूचना केन्द्र सुरु गरिने – व्यवहारमा लागू छैन
१४. खेलकुद क्षेत्रका विषेश प्रतिभा र योगदान गर्नेहरूलाई नियमित सहयोग गर्न पुरस्कार तथा प्रोत्साहनका लागि अक्षय कोष स्थापना गर्ने – केहीले पाए तर, पूर्ण कार्यान्वयन छैन
१५. नेपाल प्रहरीसँग समन्वय गरेर महानगरका संवेदनशील स्थलहरूमा सिसिटिभी जडान गर्ने काम सुरु गर्ने – केही हदसम्म कार्यान्वयन
१६. स्वयम्भू, बौद्ध, पशुपति र वसन्तपुरलगायतका धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष योजना बनाएर काम सुरु गर्ने – योजना बने तर, कार्यान्वयन कछुवा गतिमा
१७. सार्वजनिक–निजी साझेदारीकोे नीति अवलम्बन गर्ने – आफन्तलाई पोस्नेमात्रै काम
१८. विभिन्न स्थानमा मिनी असन बजार सञ्चालनका लागि अध्ययन गर्ने – अध्ययन प्रतिबेदन बाहिर आएन
१९. भित्री शहरको हरेक पाँच सय मिटरमा र बाहिरी शहरमा आवश्यकता अनुसार पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने – कागजमै सीमित
२०. धर्मपथमा रहेको पुरानो काठमाडौँ महानगरपालिकाको जग्गामा पूर्वस्वीकृत नक्सा अनुसार भवन निर्माण सुरु गर्ने – प्रक्रिया सूरु तर कार्यान्वयन कछुवागतिमा
२१. महानगरपालिकाका करदाताको सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था गने – कार्यान्वयन भएन
२२. महानगरबाट सञ्चालित चःमति, मनोहरालगायतका स्थानमा अवरुद्ध ल्याण्डपुलिङको काम यथाशिघ्र सम्पन्न गर्ने – कार्यान्वयन पुरा भएन
२३ ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम सञ्चालन – कागजमै सीमित
२४.सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरेर धुलो र खाडलरहित सडक निर्माण गर्ने – कार्यान्वयन फितलो
२५.‘सही समय सही ठाम, नो ट्राफिक जाम को अभियान’ – नारामै सीमित
२६. बाटामा थुपारिएका निर्माण सामग्री हटाउने – सानालाई मात्रै नियम
२७. पेन्डिगमा रहेका मुद्दालाई १०० दिनभित्र टुंग्याउने – टुंगिन बाँकी
२८. प्रत्येक वडामा महानगर स्वयंसेवक घोषणा गरी परिचालन गर्ने – सुरुका दिनमा भए अहिले छैन
२९. बर्खेपानी संकलनको अभियान गरि भूमिगत जल भण्डारण गर्ने अभियान– कागजमै सीमित
३०. घर–घरमा अत्याधुनिक प्रविधियुक्त सेप्टीट्याङ्की जडानको अभियान सुरु गर्ने – अभियान सुरु भयो तर कार्यान्वयनले पूर्णता पाएन
३१. चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा बाल मनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग वाणिज्य महासङ्घका सहकार्यमा बृहद् प्रदर्शनी केन्द्र निर्माणको पहल गर्ने – कार्यान्वयन भएन
३२. ‘भोकरहित जनता शोकरहित महानगर’ का लागि सुपथ मूल्यको मेयर फुड पार्लर खोल्ने प्रक्रिया आरम्भ गर्ने – नारामै सीमित
३३. राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने – दुई पटक भयो। निरन्तरता हुन सकेन
३४. राजस्व अध्ययन बोर्ड बनाएर अनुसन्धान अध्ययन थाल्ने – कार्यान्वयन भएन
३५. काठमाडौँका बारेमा जानकारी दिने मोबाइल एप्स सुरु गर्ने – एप बन्यो तर, समयसापेक्ष भएन
३६. स्मार्ट भर्टिकल कार पार्किङ नीति निर्धारण गरी कार्यान्वयन गर्ने – टेकुमा डिजाईन पार्किङ अभाव कायमै
३७. महानगरका विशेष स्थानमा भेइकल फ्रि जोन घोषणा गर्ने – केही ठाउँ बने तर अझै बाँकी
३८. ‘काठमाडौँ महानगर झिलिक्क ः घरघर टिलिक्क’ अभियान थाल्न – कागजमै सीमित
३९. धरहरा प्रिमिसेसको गुरुयोजना बनाएर कार्यान्वयन गर्ने – केन्द्र सरकारले गर्दैछ
४०. महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा काष्ठमण्डपको पुनर्निर्माण गर्ने – पुनर्निर्माण पुरा हुन बाँकी
४१. सम्पदा पुनर्निर्माणमा जनसहभागितामा विल्ड ब्याक बेटर अवधारणा अनुसार कार्यान्वयन गर्ने – अबधारणा बन्यो कार्यान्वयन भएन
४२. भूकम्पपछि पुनर्निर्माणका लागि राज्यले व्यवस्था गरेको अनुदान र सहुलियत ऋण प्राप्तिका लागि सहजीकरण गर्ने – अझै सबैले पूर्ण किस्ता पाएका छैनन्
४३. नदी किनारमा रहेका मठमन्दिरको संरक्षणसहितको बागमती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थाल्ने – अवधारणा बन्यो तर पूर्णता पाएनन्
४४. महानगर र गोकर्णेश्वरको समन्वय÷सहकार्यमा तारेभिर परियोजनाको प्रक्रिया अगाडि बढाउने – प्रक्रिया अघि बढ्यो तर पूर्णता हुनपाएन
४५. टोखा नगरपालिकासँग समन्वय÷सहकार्य गरेर टोखाका सांस्कृतिक सम्पदा संरक्षण, प्रवद्र्धन एवं झोरस्थित बाणेश्वर वाटर फल पार्क बनाउन प्रक्रिया अगाडि बढाउने – अनुदान दिईयो तर काम भएन
४६. ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरूको नयाँ ललितपत्तनम् नामको आर्ट एण्ड क्राप्ट निर्माण प्रक्रिया सुरु गर्ने – कागजमै सीमित
४७. काठमाडौँको भित्री शहरका दक्षिणी भेगको क्वःने को ऐतिहासिक क्षेत्रलाई आवश्यक प्रक्रिया पूरा गरी जीवन्त संग्रहालय (लाइभ म्युजियम) घोषणा गर्ने – कागजमै सीमित
४८. पुरातात्विक मापदण्ड अनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गर्ने – पुनर्निर्माण भयो तर केन्द्रीय सरकारबाट
४९. ऐतिहासिक दरबार हाइस्कूल पुनस्र्थापनाका लागि सार्वजनिक वहस गरी काम सञ्चालन गर्ने – स्कुल सञ्चालनमा आयो तर केन्द्रीय सरकारको बजेटमा
५०. इन्टरनेसनल आर्ट र कल्चरल हब बनाउन सुरु गर्ने – कहाँ कति बन्यो लेखाजोखा छैन
५१. भद्रकाली मन्दिर र परिसरको विस्तृत परियोजनाका लागि सर्वेक्षण गर्ने – सर्वेक्षण भयो तर परियोजनाको काम सुरु भएन
५२. अध्ययन भइसकेको हनुमानढोका क्षेत्रमा पहिले रहेको प्रहरी कार्यालय परिसरलाई विशेष सांस्कृतिक क्षेत्रको रूपमा परिमार्जन गरी निर्माणकार्य आरम्भ गर्ने – कार्यान्वयन भएन
५३. निश्चित समय तालिका अनुसार यातायात सञ्चालन गर्न अपाङ्ग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्ने – व्यवहारमा लागू भएन
५४. कार पार्किङ मलको नीति बनाएर काम सुरु गर्ने – नीति बनेको छैन
५५.जञ्जालमुक्त सडक सञ्जाल कार्ययोजना सुरु गर्ने – कार्ययोजनाले पूर्णता पाएन
५६. निर्माणाधीन चक्रपथ विस्तारको काम यथाशिघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने – विस्तारको लागि अतिक्रमण हट्यो तर काम सरु भएन
५७. भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म बागमती किनारहुँदै केवल बसको सम्भाव्यता अध्ययन सुरु गर्ने – अध्ययनकै चरणमा
५८. सम्पूर्ण ट्राफिक लाइट मर्मत गरेर सुचारु गर्ने – केही मर्मत भए तर अझै बाँकी छन्
५९. ‘क्लिन द सिटी’ अभियानको प्रारम्भ धुँवाधूलो न्यून गरेर ‘नो माक्स सिटी’ को अभियानबाट सञ्चालन गर्ने – अभियान सञ्चालन भएपनि पूर्ण कार्यान्वयन भएन
६०. पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारमा रहेको बालुवा खानीलाई पाशुपत सरोवर निर्माणका लागि पहल गर्ने – कार्यान्वयन भएन
६१. काठमाडौँलाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकका सामग्री किन्ने व्यवस्था गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादनका लागि अनुदान दिने र किन्ने व्यवस्थासमेत गर्ने – कार्यान्वयन भएन
६२. शहरको सुन्दरता र दुर्घटना न्यूनीकरणका लागि अव्यवस्थित पोल तथा तारहरूको उचित व्यवस्थापनका लागि आवश्यक खाका तयार गर्ने – तारले अझै राजधानी कुरुप देखिएका छन्
६३. ज्येष्ठ नागरिकका लागि घरघरमा निःशुल्क सेवाका लागि महानगरपालिकाका स्वयंसेवक परिचालन गर्ने – कार्यान्वयन भएको
६४. विपन्न, असहाय र विभिन्न कारणले बिचल्लीमा परेका नागरिकलाई उच्च प्राथमिकतामा राख्दै आवश्यकता अनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धारकार्य सुरु गर्ने – सुरुमा प्रहरीको समन्वयमा भए तर, पछि समस्या ज्यूँकात्यूँ
६५. राज्यको लगानीसँगै विभिन्न संघ–संस्थाबाट सञ्चालित, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, असहाय तथा अपाङ्गता भएका नागरिक संरक्षण केन्द्रको गुणस्तरवृद्धिका लागि अनुगमन गर्ने – अनुगमन भएपनि समस्या समाधान भएन
६६. महानगरपालिका, सम्बन्धित व्यवसायीको परिवार र संघसंस्थाको समेत साझेदारीमा शहरको तरकारी बजार, कल कारखाना, शिक्षण केन्द्र, स्वास्थ्य केन्द्रनजिकै शिशु स्याहार र बाल विकास केन्द्र सुचारु गर्ने – प्रक्रियामै रहेको
६७. महानगरलाई दुव्र्यशनमुक्त शहर बनाउन रोकथाम र निर्मूल पार्ने योजना बनाएर काम सुरु गर्ने – व्यवहारमा लागू भएन
६८. सेवानिवृत्त कर्मचारीका साथै ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै उहाँहरूको ज्ञान, सीप एवं अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लब, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्र÷व्यायाम÷योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदि सहितको सुविधासम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने – कागजमै सीमित
६९. ‘हेल्लो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने – कार्यान्वयन फितलो
७०. महानगरका सरकारी र सार्वजनिक ठाउँहरूलाई ‘बाउन्ड्रीलेस गार्डेन’ का रूपमा विकास गर्ने – धेरै स्थानमा बन्नबाँकी
७१. घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिना भित्र प्रदान गर्ने – कार्यान्वयन भएको
७२. महानगरपालिका भवन निर्माणको काम सुरु गर्ने – निर्माणधीन तर भ्रष्टाचारको मुुद्दा अख्तियारमा
७३. नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट खेल्न मिल्ने स्थल बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्ने – पहल भएपनि रिजल्ट आएन
७४. प्रेम दिवसलगायत अन्य विभिन्न दिवसको अवसर पारेर युवा जोडीलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न विरुवा, फलफूल वा फूलहरू रोप्ने व्यवस्था मिलाउने – कार्यान्वयनमा आएन
७५. छाडा जीवजन्तु तथा फोहोर मैलालगायत समस्या तत्काल समाधान गर्ने – छाडा जीवजन्तुको व्यवस्थापन भएपनि फोहोरमैला समस्या ज्यूँकात्यूँ
७६. घरबाट निस्केको कुहिने फोहोर व्यवस्थापन गरेर जैविक मल बनाउने प्लान्ट राख्ने अनिवार्य व्यवस्था गर्न महानगरले प्राविधिक सीप र प्रविधिका लागि अनुदान दिने – केहीले पाए पनि अझै धेरै लाभान्वित हुन सकेनन्
७७. महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने ‘सम्पदा–मार्ग’ को पूर्वघोषित कार्यक्रममा आवश्यक परिमार्जन दक्ष पथप्रर्दशकसहितको सुविधासम्पन्न टुरिष्ट बस सञ्चालन गर्ने – कार्यान्वयन भएन
७८. काठमाडौँ महानगर र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा सटल बसको व्यवस्थासहितको सहिद स्मृति पार्क र पृथ्वीनारायण स्मृति सङ्ग्रहालयसहितको युवा पार्क निर्माण गर्ने – पार्क निर्माणको चरणमा रहेको
७९. तिनकुनेको जग्गाको समस्या समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरु गर्ने – कागजमै सीमित
८०. अपाङ्गतामैत्री पार्क निर्माणको काम सुरु गर्ने – केही स्थानमा कार्यान्वयनको चरणमा
८१.‘कौसी खेती तथा गार्डेन ः घरघरमा जैविक तरकारी खेती’ का लागि आवश्यक बाकस, मल, प्लाष्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्ने। न्यून शुल्कमा विरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने – कार्यान्वयन भयो तर सबैले सुविधा पाएनन
८२. अव्यवस्थित र असुरक्षित भविष्यका कारण जीवनदेखिको निराशाका कारण बढ्दो मानसिक समस्याहरू रोकथाम र उपचारका लागि उचित प्रवन्ध गर्ने – अमूर्त योजना
८३. हिंसापीडित महिलाको तत्काल उद्धार र पुनव्र्यवस्थापन गर्ने – अझै पूर्णता पाएन
८४. तरकारी, फलफूल र खाद्यान्नमा विषादिको प्रयोग नियन्त्रणका लागि परीक्षण गर्ने व्यवस्था मिलाउने – सुरुमा परिक्षण भयो तर अहिले न्यून
८५. राजधानी महानगरलाई देशका सबै नेपालीको साझा ‘मैत्रीनगर’ को रूपमा विकास गर्न सात वटै प्रदेशका लागि प्रदेश भवन निर्माणका लागि प्रक्रिया थाल्ने – प्रक्रिया सुरु भएपनि कार्यान्वयन भएन
८६. पुरानो बसपार्कमा प्रस्तावित काठमाडौँ टावर निर्माणका सम्बन्धमा जनभावनाको कदर गर्दै काम सुरु गर्ने – निर्माणसम्पन्नमा ढिलाई
८७. महानगरभित्रका सबै होलसेल बजारलाई यातायात सुविधासहित व्यवस्थित गर्ने – कागजमै सीमित
८८. गोंगबुँ बसपार्कको गुरुयोजनालाई परिमार्जनसहित अगाडि बढाउने – परिमार्जनकै चरणमा
८९. स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न साना तथा घरेलु, मझौलास्तरका उद्योग, व्यापार–व्यवसायहरूको लगत संकलन गरी कार्ययोजना अगाडि बढाउने – लागत संकलनकै चरणमा
९०. परम्परागत शिल्पी तथा व्यवसायमा आबद्ध नागरिकलाई आधुनिक प्रविधि एवं पुँजीनिर्माणमा सहजीकरण गर्ने – कार्यान्वयनको चरणमा
९१. मझौला तथा साना व्यवसाय सुरु गर्नेहरूलाई लगानीमैत्री विनियमहरू बनाउन सुरु गर्ने – कार्यान्वयनको प्रक्रियामा
९२. बागबजारमा रहेको भक्तपुर बसपार्कको नयाँ व्यवस्थापन गर्ने – अझै अव्यवस्थित
९३. होम एड्रेसिङ प्रणालीलाई व्यवस्थित गर्ने – पूर्णता पाएन
९४. डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागू गर्ने – कागजमै सीमित
९५. भूकम्पप्रतिरोधी भवन निर्माणका लागि महानगरपालिकाले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन कार्यविधि तयार गर्ने – कार्यान्वयनमा आएको
९६. ‘काठमाडौँ स्मार्ट सिटिजन कार्ड’ कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशिघ्र काम सुरु गर्ने – नारामै सीमित
९७. हाइड्रोजन फ्युलको सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्यारम्भ गर्ने – अध्ययनकै चरणमा
९८. स्मार्ट सिटीको पूर्वाधारका लागि चाहिने महानगर बोर्डब्याङ्क को स्थापना गरी काम थाल्ने – कार्यन्वयनकै चरणमा
९९. पत्रकारहरूका लागि सम्पूर्ण व्यावसायिक सुविधासहितको सञ्चार केन्द्रको कार्ययोजना सुरु गर्ने – सञ्चारकेन्द्र बन्यो तर सबैखालका सूचना आउँदैनन
१००. चौबिस घण्टे जीवन्त शहरको योजना बनाउने – ठमेललाई बनाउने भनिएपनि कार्यान्वयन हुन सकेको छैन
१०१. महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्रीका साथै प्रविधिमैत्री कार्यालयको रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने – उजुरी डेक्स राखेपनि उजुरी उपर कारबाही फितलो छ ।

प्रतिक्रिया