भूकम्प लाभग्राहीको रकममा हिनामिनाको प्रयास !

दोलखा । तामाकोसी गाउँपालिका–४ मालुका कृष्णबहादुर श्रेष्ठ केही वर्षदेखि वैदेशिक रोजगारीमा छन् । उनकी श्रीमती माया गुरुङ श्रेष्ठ पनि काठमाडौं बस्दै आएकी छन । उनीहरू भूकम्प लाभग्राही हुन् । उनीहरूको आवास पुनर्निर्माण अनुदानको पहिलो किस्ता ५० हजार कृष्णबहादुर श्रेष्ठले लिएका थिए । त्यसपछि उनी वैदेशिक रोजगारीमा गए । उनीहरूको घर निर्माण गतवर्ष नै सम्पन्न भइसकेको वडाध्यक्ष होमबहादुर श्रेष्ठ बताउँछन् । घर पुनर्निर्माण सम्पन्न भइसकेपछि उनीहरूको नाममा दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख गरेर २ लाख ५० हजार निकासा भयो । उनीहरू जिल्ला बाहिर भएका कारण अनुदान रकम निकासा भएको कुनै जानकारी भएन । अनुदान रकम निकासा भए न भएको बुझ्दा अरूले नै पैसा निकालेको थाहा पाएपछि उनले वडा कार्यालय, गाउँपालिकाको कार्यालय, अनुदान रकम वितरण गर्ने एनएमबी बंैकमा निवेदन दिए ।

पछि कसले कसरी पैसा निकालेको रैछ भनेर बुझ्दा तामाकोसी–४ मालुका वडाध्यक्ष होमबहादुर श्रेष्ठको मिलेमतोमा सुन्दरी श्रेष्ठको नाममा निकालिएको रैछ । भूकम्प लाभग्राहीको मन्जुरीविना कसरी अरूको नाममा पैसा निकालिएको रहेछ भनेर बुझ्दा वडाध्यक्ष श्रेष्ठले गत २९ असारमा भूकम्प लाभग्राही कृष्णबहादुर वैदेशिक रोजगारमा र उनको श्रीमतीसमेत सँगै रोजगारीमा रहेका कारण उनको आमा नाता पर्ने सुन्दरी श्रेष्ठलाई भुक्तानी दिनु भनेर सिफारिस गरेको पाइयो । सोही सिफारिसलाई आधार मानेर एनएमबी बंैक किर्ने शाखाले सुन्दरी श्रेष्ठलाई २ लाख ५० हजार भुक्तानी ग¥यो । वडाध्यक्षले विदेश नै नगएको मान्छेलाई विदेश छ भनेर सिफारिस दिएर अरूको नाममा रकम निकासा गरेपछि भूकम्प लाभग्राही कृष्ण श्रेष्ठले विभिन्न निकायमा उजुरी गरे । उजुरी गरेपछि सुन्दरी श्रेष्ठले निकासा लिएको रकम बैंकमा नै फिर्ता गरिन् । बंैकमा रकम फिर्ता गरेपछि वडाध्यक्षले बैंकमा पुनः अर्को सिफारिस पठाए । भूकम्प लाभग्राही कृष्ण श्रेष्ठको खाता रोक्का गर्नका लागि वडाध्यक्षले सिफारिस गरेपछि सोही पत्रलाई आधार मानेर बंैकले पुनः सो रकम खातामा रोक्का भएको छ ।

भूकम्प लाभग्राही कृष्ण श्रेष्ठकी पत्नी माया गुरुङ श्रेष्ठ बैंकमा पैसा निकाल्न एनएमबी बैंक किर्ने शाखा पुग्दा खाता रोक्का गरेको पाइएको हो ।
रिपोर्टिङको क्रममा हामी एनएमबी बैंक किर्ने शाखा पुग्दा भूकम्प लाभग्राही कृष्ण श्रेष्ठकी श्रीमती माया गुरुङ श्रेष्ठले म अहिलेसम्म वैदेशिक रोजगारमा गएको छैन मेरो श्रीमान मात्र विदेश हुनुहुन्छ, हामी दुबै बैदेशिक रोजगारमा गएका छौँ भनेर हाम्रो मञ्जुरीनामा पनि दिएको छैन कसरी हाम्रो नाममा आएको रकम अरूको नाम निकासा भएको देखेर आफू छक्क परेको बताइन् ।

गत ४ असोजमा दर्ता नम्बर ०७७÷७८ चलानी नम्बर ८१ वडाध्यक्ष होम श्रेष्ठले गरेको सिफारिसमा लेखिएको निजी आवास पुनः निर्माणमा कार्यक्रमअन्तर्गत खटी आएको प्राविधिकको त्रुटिको कारण निज कृष्ण श्रेष्ठको घर निर्माण नभइकन सिफारिस भएर आएको दोस्रो र तेस्रो किस्ता गरेर २ लाख ५० हजार रकम रोक्का गरिदिनहुन सिफारिस गरिएको छ । सोही सिफारिसलाई आधार मानेर एनएमबी बंैक शाखाले भूकम्प लाभग्राहीको अनुदान रकम रोक्का गरेको छ ।

गत असारमा भूकम्प लाभग्राहीको आमा नाता पर्ने सुन्दरी श्रेष्ठको नाममा निकासा दिनु भनेर सिफारिस दिएका वडाध्यक्ष होम श्रेष्ठले लाभग्राहीको नाममा पैसा बंैकमा फिर्ता भएपछि खाता रोक्का गरिदिएपछि वडाध्यक्ष श्रेष्ठले मनपरी रूपमा सिफारिस भएको प्रमाणित भएको हो । यता वडाध्यक्ष होमबहादुर श्रेष्ठले आपूmले वैदेशिक रोजगारमा गएको भनेर सिफारिस दिएको स्वीकार गरेका छन् । उनले हामीसँग गत चैतमा नै भूकम्प घर सम्पन्न भएको बताउने वडाध्यक्ष श्रेष्ठले ६ महिनापछि गत असोजमा घर निर्माण सम्पन्न नभएको भन्दै लाभग्राहीको खाता रोक्का गरिदिए ।

वडाध्यक्षले दिएको सिफारिस लेखिएको चलानी नम्बर ८१ रहेको छ भने सोही चलानी नम्बर वडा कार्यालय रजिस्टरमा हेर्दा चलानी नम्बर ८१ मा विवाह प्रमाणित गरिएको भनेर उल्लेख गरिएको छ । यता किर्ने बैंकका शाखाका प्रमुख अर्जुन कार्की भने वडाको सिफारिसका आधारमा रकम निकासा गरेको र वडाको अर्को सिफारिसको आधारमा नै खाता रोक्का गरेको बताए ।

प्रतिक्रिया