एमसीसी अनुमोदनपछि प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच टेलिफोन संवाद

काठमाडाैं । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनबीच टेलिफोन संवाद भएको छ । मंगलबार राति अमेरिकी विदेश मन्त्री ब्लिन्कनबीच संवाद भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले गरीबी निवारण, विकास र जलवायु परिवर्तन लगायत विषयमा छलफल भएको जनाएका छन् ।

यससँगै युक्रेनमाथि भइरहेको रूसी आक्रमणका विषयमा पनि छलफल भएको छ । युक्रेनको सार्वभौमिकतालाई समर्थन जनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले जनाएका छन् । यस्तै ब्लिन्कनको सचिवालयले आर्थिक विकास, क्षेत्रीय चुनौती, युक्रेनमाथि रूसी आक्रमण लगायत विषयमा संवाद भएको जनाएको छ ।

‘आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको कुराकानीमा रूसको अकारण आक्रमण तथा युक्रेनको सम्प्रभुता र भौगोलिक अखण्डताप्रतिको हाम्रो समर्थन लगायत विषयमा कुराकानी भयो,’ ब्लिन्कनको सचिवालयले भनेको छ, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौती सम्बन्धी विविध मामिलामा सहकार्य जारी राख्नेछौं ।’

प्रतिक्रिया