अझै चर्चामा एमसीसी : माआवोदी केन्द्रमा चर्को विवाद

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा चर्को विवाद देखा परेको छ । खासगरी एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकै रुष्ट देखिएका छन् । एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन माआवादी केन्द्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । पार्टी महाधिवेशनको निर्णय विपरित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी सम्झौता अनुमोदनका लागि सघाएको श्रेष्ठको आरोप छ । नेता श्रेष्ठले एमसीसी अनुमोदन भएको दिनलाई कालो दिनको रुपमा लिइनुपर्ने र एमसीसीविरुद्घ आन्दोलन जारी राख्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । तर, अध्यक्ष प्रचण्डले भने एमसीसी अनुमोदन भएपछि शान्ति प्रक्रिया र संविधानको रक्षा भएको प्रतिक्रिया दिएका छन् ।

प्रचण्डले सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठलाई नै इंगित गर्दै ‘महाकाली सन्धिका बेला बामदेव गौतमलाई जस्तै लोकप्रिय हुन मन लागेर एमसीसीको विरोध गरिएको’ अभिव्यक्ति दिएका थिए । प्रचण्डले पार्टी छाड्ने मन भए रोक्न नसकिने मनसाय पनि व्यक्त गरेका थिए । प्रचण्डको उक्त अभिब्यक्तिबाट श्रेष्ठ झनै रुष्ट बनेका थिए । त्यसपछि श्रेष्ठले आफु निकट नेताहरुसँग पनि बाक्लो छलफल गरेका थिए । श्रेष्ठलाई उनी निकट नेताहरुले तत्कालै माओवादी केन्द्रको सदस्यबाट राजीनामा दिनुपर्ने, फागुन २० गतेदेखि बोलाइएको केन्द्रीय समिति बैठकमा पनि उपस्थित नहुने र नयाँ ढंगले पार्टी पूर्ननिर्माणमा लाग्नुपर्ने सुझाव दिएका थिए ।

नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदन भएको दिनलाई कालो दिनको रुपमा लिइनुपर्ने र एमसीसीविरुद्घ आन्दोलन जारी राख्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । तर, अध्यक्ष प्रचण्डले भने एमसीसी अनुमोदन भएपछि शान्ति प्रक्रिया र संविधानको रक्षा भएको प्रतिक्रिया दिएका छन् ।

तर श्रेष्ठले पार्टीको बैठकमा जाने, त्यही आफना कुरा ब्यवस्थित रुपमा राख्ने र त्यहाँ राखिएका कुराको सम्वोधन के कति हुन्छ, त्यसलाई हेरेर मात्र आधिकारिक निर्णयमा पुग्ने आफु निकट नेताहरुलाई बताएका छन् । केन्द्रीय समितिको बैठकमा श्रेष्ठ समुहले अध्यक्ष प्रचण्डमाथि महाधिवेशनको निर्णय उल्लंघन गरेको आरोपमा अनुशासनको कारवाही गर्न माग गर्ने तयारी गरेको पनि बताइएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फागुन २० देखि २२ गतेसम्म काठमाडौंमा बस्दैछ ।

एमसीसीका कारण पार्टीभित्र विवाद चर्कंदै गएपछि मंगलबार अध्यक्ष प्रचण्ड नेता श्रेष्ठलाई भेट्न आफै हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेका थिए । उक्त भेटमा पनि श्रेष्ठले एमसीसीको विषयमा आफ्नो अडान कायमै राखेको बताइएको छ । अध्यक्ष प्रचण्डले भने एमसीसीको विषयमा विमति रहे पनि अन्य विषयमा मिलेर अघि बढ्न श्रेष्ठसँग प्रस्ताव राखेका थिए । श्रेष्ठले पनि आफुहरु तत्कालै छुट्टिने निष्कर्षमै नपुगेको बताएका थिए । संसदमा एमसीसी अनुमोदनको विषयमा मतदान हुँदा श्रेष्ठ पक्षका गिरिराजमणि पोखरेल र अन्जना विंशंखेलेृ पनि विपक्षमा मत ब्यक्त गरेका थिए । तोडफोड र आगजनीपछि लगाइएको निषेधाज्ञाको समेत उल्लंघन गर्दै प्रदर्शनकारीहरुले एमसीसीको विरोधमा आफ्नो प्रदर्शन जारी राखेका छन् । निषेधाज्ञा उल्लंघन गर्ने २३ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा १८ जना प्रहरी घाइते भएका छन् ।

कतै झड्प कतै बम
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भए पनि त्यसको पक्ष÷विपक्षमा हुँदै आएको वहस र विरोध भने अझै जारी छ । एमसीसीको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन् । तोडफोड र आगजनीपछि लगाइएको निषेधाज्ञाको समेत उल्लंघन गर्दै प्रदर्शनकारीहरुले एमसीसीको विरोधमा आफ्नो प्रदर्शन जारी राखेका छन् । निषेधाज्ञा उल्लंघन गर्ने २३ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरी निरीक्षकसहित १८ जना प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट नगर प्रहरीप्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार घाइते प्रहरीमध्ये नौ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने बाँकी नौजना सामान्य घाइते छन् । दुई सर्वसाधारणसमेत घाइते भएका छन् ।

विरोध प्रदर्शनका कारण वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार रातिदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको थियो । सोमबार बन्दकर्ताले सुर्खेतस्थित विभिन्न राजनीतिक दलको पार्टी कार्यालयमा आगजनी र तोडफेड गरेका थिए । एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका थिए ।

यसैगरी बाँकेको खजुरामा मंगलबार बिहान बम फेला परेको थियो । बेवारिसे अवस्थामा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारको मुख्य चोकमा प्रेसर कुकरमा ‘नो एमसिसी’ लेखेर राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दिए ।

उनका अनुसार बजारको मुख्य चोकमा शंकास्पद वस्तु रहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरी निष्क्रिय बनाउनका लागि नेपाली सेनाको भैरवप्रसाद गणमा खबर गरिएको थियो । नेपालगञ्ज गुलरिया सडकखण्डअन्तर्गत खजुराको बीच बजारमा बम फेला परेपछि केही समय सडक अवरुद्ध भएको थियो । यसैगरी एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिएकोमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संघर्षको थप कार्यक्रम घोषणा गरेका छन् । विरोधकाबीच एमसीसी संसदबाट अनुमोदन गरिएको भन्दै सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले सोमबार नै सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ ।

विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंहको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (ऋषि कट्टेल), आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले एमसीसीविरुद्ध संयुक्त संघर्ष गर्दै आएका छन् ।

यसअघि उनीहरुले एमसीसी संसदबाट अनुमोदन हुन नदिन दबाबमुलक आन्दोलन गर्दै आएका थिए । सडकबाट एमसीसी रोक्न दबाब दिए पनि सत्ता गठबन्धन दलहरुले १२ बुँदे ब्याख्यात्मक टिप्पणी गर्दै एमसीसी सम्झौता संसदबाट अनुमोदन गराएका थिए । एमसीसी संसदबाट अनुमोदन गरिएको विरोध स्वरुप ६ दल र दुई मोर्चाले मंगलबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । विप्लव नेकपाको बुद्धनगरस्थित कार्यालयमा बसेको संयुक्त बैठकले फागुन २० देखि चैत ६ गतेसम्मको विरोध कार्यक्रम घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत फागुन २० गते काठमाडौंमा विरोध प्रदर्शन र संयुक्त विरोधसभा, फागुन २२ गते बुद्धिजीवीहरुको अन्तरक्रिया, फागुन २४ गते देशब्यापी विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरुको देशब्यापी प्रदर्शन र सभा तथा फागुन ३० गते मजदुरहरुको देशब्यापी विरोध प्रदर्शन र सभा रहेका छन् । यसैगरी चैत २ गते किसानहरुको देशब्यापी विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक तथा दलित मोर्चाको देशब्यापी प्रदर्शन र सभा तथा अन्तिम दिन चैत ६ गते राष्ट्रिय मुक्ति मोर्चाहरुको देशब्यापी विरोध प्रदर्शन र सभा रहेका छन् ।

प्रतिक्रिया