देशभरका शिवालयमा दर्शनार्थीको ओइरो

काठमाडौं । देशभरका शिवालयहरुमा पूजाअर्चना गरेर हिन्दू धर्मावलम्बिले मंगलबार धुमधामका साथ महाशिवरात्री पर्व मनाएका छन् । विहानैदेखि शिवालयहरुमा पूजापाठका लागि श्रद्धालुको ओइरो लागेको थियो । काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम अवेरसम्म जारी रह्यो । बिहान आठ बजेसम्म भक्तजनले सहज रूपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको थियो । आठ बजेपछि भने काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको थियो । पशुपतिनाथको नियमित रूपमा दर्शन गर्ने भक्तजनले बिहान सात बजेअघि नै दर्शन गरेका थिए । आठ बजेपछि भने लाइन बढेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर नजिक, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकसम्म पुगेको थियो ।

पशुपतिनाथ मन्दिरभित्र गई करिब १० लाख भक्तजनले दर्शन गरेको बताइएको छ । पशुपति क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । दर्शनार्थीको सुरक्षाका लागि करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार पाँच सय सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको जानकारी सुरक्षा उपसमितिको संयोजकसमेत रहेका कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले दिए ।

भक्तजनलाई व्यवस्थित गरी दिनभर यातायात सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको थियो । यसका लागि नेपाल स्काउटसहित करिब पाँच हजार स्वयंसेवक पनि परिचालन गरिएको कोषका सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रूपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविरलगायतका सेवा प्रदान गरिएको थियो । महाशिवरात्रिका अवसरमा भक्तपुरको डोलेश्वर मन्दिरमा पनि भक्तजनको ओइरो लागेको थियो ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । महाशिवरात्रिका लागि बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खुला गरिएको थियो । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथका साथै काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको थियो । गोकर्णेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै बिजुली बत्तीले सिँगारेर झिलीमिली बनाइएको थियो । गोकर्णेश्वर मन्दिरमा पनि बिहान चार बजेदेखि नै भक्तजन आउन थालेका थिए ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधना हुने महादेवको दर्शनपछि बालयन्त्रको पूजा आराधना हुने मन्दिरमा पनि जानुपर्ने विधि भएकाले पशुपतिनाथ आउने केही भक्तजन गोकर्णेश्वर महादेव मन्दिरमा पनि दर्शनका लागि जाने गर्छन् ।

काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिरमा पनि भक्तजनको भीड लागेको थियो । यसैगरी राजधानीका अन्य स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

देशभरका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको बताइएको छ । महाशिवरात्रीका दिन भगवान् शिवलाई जाडो हुने मान्यताका आधारमा बेलुीक विभिन्न मठ मन्दिर एवं चोक र चौबाटोमा धुनी पनि जगाइन्छ । धुनीमा प्रसाद बनाएर खाने प्रचलनसमेत रहेको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरको दर्शन र पूजा गरेका थिए । महाशिवरात्रीको अवसरमा अन्य विशिष्ठ ब्यक्तिहरु पनि पशुपतिनाथ मन्दिर पुगेको कोषले जनाएको छ । महाशिवरात्रिको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पशुपतिनाथको दर्शन गरेका थिए । पूर्वराजा शाहले मंगलबार साँझ पशुपतिको मूल मन्दिर प्रवेश गरी विधिपूर्वक दर्शन गरेका थिए । पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा लगाएका थिए भने भीडले उनको गाडीलाई घरेको थियो ।

प्रतिक्रिया