संसदबाट एमसीसी अनुमोदन भएको तीन दिनपछि ओलीले सार्वजनिक गरे पार्टीको धारणा

काठमाडौं । अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएको तीन दिनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

अध्यक्ष ओलीले पार्टीको धारणा सार्वजनिक गर्दै देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास’ भनेका छन् । गत आईतबार सभामुख अग्नीप्रसाद सापकोटाले एमसीसी बहुमतले पारित भएको घोषणा गरेका हुन् । त्यस दिन भने एमाले मौन बसेको थियो ।

एमालेले आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीको लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै भने, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौँ, अन्तिममा तिनै दलले प्रस्ताव पास गरे, यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ ।’

उनले कुनै पनि देशको सर्तसहितको सहयोग, अनुदान राम्रो नहुने पनि बताए । तर, देशको संसदबाटै प्रस्ताव पास भइसकेकोले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानुपर्ने पनि बताए ।

कार्यक्रममा उपमहासचिव ज्ञवालीले पछिल्लो घटनाक्रमले सभामुखले उक्त पदको गरिमा अनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको बताए । यसपटक पनि उनले एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको आरोप लगाए ।

उनले भने, ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा लिइयो, अहिले वास्तविक चेहेरा उदांगो भयो ।’ उनले आफूहरूले एसीसी प्रस्तावमा भएका अस्पष्ट विषय छलफलका संसदमा दर्ता गरेको दावी पनि गरे ।

‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी प्रस्ताव पास हुनु भनेको साकाहारीले खोलाको माछा खानु नहुने तर किनेको हुन्छ भनेजस्तो मात्रै भएको पनि बताए । ‘यो संसस्दीय अभ्यासको विद्रुप रुप मात्रै भएको उनको ठहर छ ।

साथै अध्यक्ष ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् ।

मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ । यद्यपि, यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उनले बताए ।

एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले संसदबाटै एमसीसी पास भइसकेकाले अब यसलाई राष्ट्रहित विपरित नहुने गरी, स्वाधिनताको विपरित नहुने गरी, सार्वभौव नेपालीको स्वतन्त्रमा कुनै चोट नपुग्ने गरी कार्यान्वयनमा लैजानु पर्छ ।

प्रतिक्रिया