रहश्य बन्दै एआईजी बढुवा निर्णय : तालुक निकाय नै अन्यौलमा

काठमाडौं । प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) थप्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित भएको एक साताभन्दा लामो समय बितिसक्दा पनि निर्णयबारे आधिकारीक धारणा बाहिर आएको छैन । तत्कालीन समयमा मन्त्रिपरिषद्मै रहेका केही मन्त्रीले एआईजीको दरवन्दी थप गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सार्वजनिक गरेका थिए । तर, मन्त्रिपरिषद्को निर्णय न त अहिलेसम्म गृह मन्त्रालयमा पुगेको छ, न त्यसको जानकारी प्रहरी मुख्यालयले नै पाएको छ । आकांक्षीहरुबीच दौडधुप पनि जारी छ । गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘एआईजी थप्ने निर्णय के भयो भनेर दिनहुँ प्रश्न खेप्नुपर्छ । हामीलाई अहिलेसम्म कुनै आधिकारीक जानकारी आएको छैन । कसरी जफाव दिने ?’

त्यसो त प्रहरी मुख्यालयमा अहिले पनि यही विषयको दिनदिनै चर्चा हुँदै आएको छ । ‘एआईजी थपियो भनेर निर्णय त बाहिर आयो तर, आधिकारीकता छैन । यो निर्णयमा के रहस्य छ, थाहा हुन सकेन’, मुख्यालयका एक उच्च अधिकारीले भने, ‘निर्णय नै नभई त पक्कै बाहिर आएन होला !’ थप भएको दरबन्दीमा बढुवाका लागि डीआईजीहरु क्रमशः धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनीलगायतका प्रतिष्पर्धी छन् । थप भएको दरबन्दीमा बढुवा हुनका लागि डीआईजी सिंह, लामा, धानुक र सुवेदीको लबिङ तीब्र छ ।

‘एआईजी थप्ने निर्णय के भयो भनेर दिनहुँ प्रश्न खेप्नुपर्छ । हामीलाई अहिलेसम्म कुनै आधिकारीक नै जानकारी आएको छैन । कसरी जफाव दिने ?’

सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआईजीमा बढुवा भए पनि भावी महानिरीक्षक (आईजीपी) को दाबेदार बन्नेछन् । उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजी बनिसकेका छन् । हालको प्रहरी नियमावलीले बरिष्ठतालाई बढुवाका लागि खासै मान्यता प्रदान गरेको छैन । कार्यक्षमता, कार्यदक्षता र सरकारले चाहेको उम्मेद्वारलाई नै आईजीपी बनाउन सक्ने नियमावलीले व्यवस्था गरेको छ ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीले २०७९ साल वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् । उनको अवकाशपछि विश्वराज, सहकुल र सरकारले केही दिनमै नियुक्त गर्ने एआईजीमध्ये एकजना आईजीपी बन्नेछन् । वालुवाटारस्थित प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनजना एआईजी थप्ने गृहको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । उक्त निर्णय गृह मन्त्रालयमा पठाइए पनि गोप्य राखिएको छ । अब एआईजीमा सिफारिस गर्ने आकांक्षीमध्येको नामसहित बढुवा सिफारिस गरिने जानकारी वालुवाटार स्रोतले दिएको छ । स्रोतले भन्यो, ‘एआईजी थप्ने प्रस्ताव स्वीकृत भएर गृहमा पुगिसक्यो । अब एकैपटक सिफारिस सूची निर्णय भएर मात्रै बाहिर ल्याउने तयारी छ ।’

‘एआईजी थप्ने निर्णय हल्ला भनौं भने क्याबिनेटकै मन्त्रीज्यूहरुले मिडियामा भटाभट बोल्नु भएको छ । तर, निर्णय के भयो, अहिलेसम्म हामीलाई औपाचारिक पत्र आएको छैन ।’

तर, गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलले भने मन्त्रिपरिषद्को निर्णय हालसम्म पनि गृहमा आइनपुगेको दावी गरे । उनले भने, ‘एआईजी थप्ने निर्णय हल्ला भनौं भने क्याबिनेटकै मन्त्रीज्यूहरुले मिडियामा भटाभट बोल्नु भएको छ । तर, निर्णय के भयो, अहिलेसम्म हामीलाई औपाचारिक पत्र आएको छैन ।’ उनका अनुसार बढुवा आकांक्षी र उनीहरुका सुभचिन्तकले बढुवा सिफारिसबारे फोन गरेर सोधपुछ गर्दै आएका छन् । प्रहरी केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले एआईजी बढुवा सिफारिसबारे कुनै पत्र नआएकाले केही बताउन नसक्ने जानकारी दिए । उनले भने, ‘मुख्यालयले पत्र नै पाएको छैन । आधिकारीक रुपमा बोल्न त पत्र चाहियो नि ? बरु तालुक निकाय गृहलाई नै थाह होला ।’

पाँचजनाको निर्णय तयारी !
तीनजना एआईजी बढुवा सिफारिस निर्णय गोप्य राखिएको विषयमा प्रहरी मुख्यालयका उच्च अधिकृत र बढुवा आकांक्षी ससंकित बनेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचजना एआईजी बनाउनुपर्ने दबाब बढेको छ । खासगरी डीआईजीद्वय गणेश ऐर र ईश्वरबाबु कार्कीलाई एआईजीमा बढुवा गर्नुपर्ने दबाब पार्टी भित्रैबाट छ । एकतर्फ बढुवा गर्दा प्रतिपक्षले समेत विरोध गर्ने भएपछि देउवाले विरोध नआउने गरि संख्या बढाएर भए पनि एआईजी बढुवा गर्ने तयारी गरेको उच्च स्रोत बताउँछ ।

ऐर आफ्नै जिल्लावासी भएकाले पनि प्रधानमन्त्री देउवा दबाबमा छन् । त्यसो त डीआईजी वसन्त लामा पहिला रामबहादुर थापा ‘बादल’ निकट मानिन्थे । तर, अहिले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । यसैगरी अर्का बढुवा अकांक्षी वसन्त पन्त गृहसचिव टेक नारायण निकट मानिन्छन् । इश्वरबाबु कार्की विराटनगरमा बसेकाले नेपाली कांग्रेसका संस्थापन पक्ष (कोईराला परिवार) निकट मानिन्छन् । अर्का डीआईजी उत्तम सुवेदी पनि विराटनगरवासी हुन् । उनले पनि कोइराला परिवारमार्फत देउवालाई दबाब दिँदै आएका छन् । दाङका धिरजप्रताप सिंह नेपाली कांग्रेस निकट नेताका सम्पर्कमा छन् । अर्का डीआईजी रविन्द्रबहादुर धानुक भने माओवादीकै नेता एवं वर्तमान अर्थमन्त्री जनार्दन शर्मा निकट मानिन्छन् । उनी प्रधानमन्त्री देउवाकै दुइ पटकसम्म पिएसओ समेत बसिकसेकाले उनको सम्भावना बढी देखिन्छ ।

प्रतिक्रिया