‘एमसीसीको व्याख्यात्मक घोषणाको चीनले अध्ययन गरिरहेका छ’

काठमाडौं । चीनले नेपालको संसद्‌बाट आइतबार अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौताबारे टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनविनले नेपालको संसद्‌बाट अनुमोदित एमसीसीसँगै ‘व्याख्यात्मक घोषणा’को चीनले अध्ययन गरिरहेको बताएका छन् ।

पत्रकारले उनलाई अमेरिकी परियोजना नेपालको संसद्ले अनुमोदन गरेको बारेमा प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफमा वाङले नेपाल एक सार्वभौम देश भएको र अहिले उक्त व्याख्यात्मक घोषणामा थप टिप्पणी नभएको बताए । चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकासको बाटो छनोट गर्न निरन्तर समर्थन दिने भन्दै प्रवक्ता वाङले एमसीसीभन्दा नेपालकै संविधान माथि हुने पनि विश्वास लिएको उल्लेख गरे ।

अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक समानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने, सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने उनको टिप्पणी थियो । अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने र आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्‍याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिँदै आएको उनले बताए। हिजो आइतबार मात्र नेपालको संसद्ले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो। एमसीसी सम्झौतामा केही अस्पष्टता रहेकाले यसलाई स्पष्ट पारेको सरकारको दाबी छ।

प्रतिक्रिया