प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन दलहरुबीच दूरी बढिरहेका बेला आज शिर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

‘भेटवार्तामा एमसीसीको नाम उच्चारण पनि भएन,’ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले भने, ‘अन्य समसामयिक विषयमा छलफल भयो ।’ एमसीसी संसदमा टेबुल गर्ने र अनुमोदन गर्ने विषयमा सत्तारुढ दलहरुबीच मतभेद रहँदै आएको छ ।

माओवादी र एकीकृत समाजवादीले संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नहुने बताउँदै आएका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस हालकै हवस्थामा एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा रहेको छ ।

यसै साता देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसीलाई फागुन भित्र संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता गरी पठाएको पत्र सार्वजनिक भएपछि सत्तारुढ दलहरुबीच थप दूरी बढेको हो ।

यसैबीच बुधबार प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । भेटमा उनीहरुले एमसीसीका विषयमा साझा धारणा बनाएका थिए । साझा धारणा लिएर आज प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार भेटवार्तामा प्रचण्ड र नेपालले हालकै अवस्थमा एमसीसी अनुमोदन गर्न नसकिने स्पष्ट अडान राखेका थिए । तर भेटवार्तामा सहभागी माओवादी नेता श्रेष्ठले भने एमसीसीका विषयमा छलफल नै नभएको दाबी गरे ।

प्रतिक्रिया