स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय चुनावमा माओवादीसँग गठबन्धन नहुने बताएका छन् । बिहीबार बिहान ९ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्ताका लागि खुमलटार पुगेका नेता कोइरालाले आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुन नसक्ने बताएका हुन् ।

कांग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार दुई नेताबीचको भेटमा आगामी निर्वाचन, संसद सुचारुलगायतका विषयमा छलफल भएको थियो। ‘नेता कोइरालाले आगामी चुनावमा कांग्रेस र माओवादीबीच गठबन्धन हुन नसक्ने कुरा राख्नुभयो’ थपलियाले भने, ‘माओवादीले कांग्रेसलाई भोट हाल्दैन भन्ने कुरा उहाँले राख्नुभयो ।’

माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुले सत्ता गठबन्धन निर्वाचनपछि सम्म कायम रहेन र निर्वाचनमा गठबन्धन हुने बताउँदै आएका छन् । तर कांग्रेसका कतिपय नेताहरुले चुनावी गठबन्धनको पक्षमा छैनन् । नेता कोइरालाले मंगलबार प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया