लागू औषधको फस्टाउँदो कारोबार : प्रहरीदेखि जेल प्रशासनसम्मको मिलेमतो

काठमाडौं । लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या नेपाल प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको देखिन्छ । लागू औषधको दुव्र्यसन, अवैध उत्पादन र तस्करीले आर्जित अकुत धनराशिको गलत कार्यमा दुरुपयोग हुने जटिल समस्यबारे प्रहरी जानकार हुँदाहुँदै पनि यसको कारोबार नियन्त्रण हुन सकेको छैन । संयुक्त राष्ट्र संघले विभिन्न २५ प्रकारका प्रिकर्सर रसायनहरू निषेधित गरेको छ । तर, तस्कर एवं कारोवारीले सुरक्षा निकायलाई चुनौति दिँदै यसको निरन्तर कारोबार गरिरहेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पहिलो पटक बरामद गरेको स्यूडोएफिड्रिले त अनुसन्धान गर्ने प्रहरी अधिकारी नै सोच्न बाध्य भएका थिए ।

यति महँगो लागू औषध नेपालमा कसरी भित्रियो ? नेपालमा मात्रै नभएर विश्वमा सबैभन्दा बढी दुव्र्यसन हुने लागू औषधमा गाँजा र एम्फेटामाईन पर्छन् । एनसीबी अधिकारीका अनुसार अफिम, मर्फिन, हेरोइन, डाइजेपाम, निट्राजेपाम, गाँजा र भाङ शिथिलात्मक लागू औषध भित्र पर्छन् । कोकिन, एम्फेटामिन, मेथाफेटामिन उत्तेजनात्मक र एलएसडी, मेसकालिन र म्याजिक मसरुम भ्रमात्मक लागू औषध भित्र पर्छन् । शिथिलात्मक औषधी पीडानाशक हुन् । चिकित्सकले अत्यधिक पीडा भएका बिमारीलाई पीडा कम गर्न मर्फिन र मेथाडोन प्रयोग गर्छन् ।

एनसीबीका प्रमुख एसएसपी हृदय थापाका अनुसार पछिल्लो समयमा लागू औषध कारोबारीले चरेश र फर्मास्यूटिकल ड्रग (डाइजेपाम, फेनारगन र बुप्रेनर्फिन) को कारोबार गरिरहेका छन् । प्रहरीले पटकपटक यी लागू औषधका कारोबारीलाई पक्राउ गरे पनि यसको तस्करी नियन्त्रणमा आउन नसकेको एनसीबीको ठम्याई छ । लागू औषधको अर्थोपार्जन विश्वव्यापी संगठित आपराधिक सञ्जाल विस्तारभित्र पर्छ । कोकिन दक्षिण अमेरिकाको बोलिभिया, कोलम्बिया र पेरुमा उत्पादन हुन्छ । कोकिनको मूल्य अत्यधिक भएकाले धनी राष्ट्रहरूमा तस्कर हुने र धनाढ्यवर्गले नै दुव्र्यसन गर्दछ ।

त्यसैले कोकिनलाई धनी (एलिट ड्रग) हरुको लागू औषध भनिन्छ । कोकिन नेपाली बाटो भएर तस्करी हुँदै आएको छ । एनसीबीले सूचना पाएसम्म यसका कारोबारीलाई पक्राउ गर्दै आएको विभिन्न घटनाक्रमले पुष्टी पनि गरेको छ । नेपालमा दुर्व्यसन हुने हेरोइन शुद्ध सेतो, कच्चा खैरो ब्राउन सुगर गाँजा, चरेस, भाङ, निट्राजेपाम, नाइट्रोसन, कोरेक्स, डाइजेपाम, मर्फिन, मेथाडोन र अन्य मनोदीपक सब्सटान्सहरू एम्फेटामिन, मेथाफेटामिन र एक्सटेसी पर्छन् । एनसीबीका अनुसार नेपाली गाँजा भारतमा तस्करी गर्ने र चरेश उत्पादन गरेर थाइल्याण्ड, जापान, अमेरिका, चीनलगायतका मुलुकमा तस्करी हुने गरेका छन् । नेपालमा विभिन्न लागू औषध दुव्र्यसनीको संख्या एक लाख रहेको आंकलन गरिएको छ ।

स्थानीय र अन्तर्राष्ट्रिय तस्करहरूले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेर हेरोइन, अफिम र कोकिन तस्कर गर्ने गरेको तथा गाजा, चरेस र तरल चरेस नेपालबाटै युरोप, अमेरिकाको बजारमा तस्करी हुने गरेका विभिन्न घटनाक्रमले देखाएको छ। लागू औषधका आन्तरिक र बाह्य कारोबारी नेपालभित्र सक्रिय रहेको प्रहरीले बरामद गरेको लागू औषधको परिमाणले पनि देखाउँछ । अझ कारोबारमा प्रहरीकै अधिकृत तहका कर्मचारी र जेल प्रशासनका कर्मचारीको मिलेमतोले प्रहरी अनुसन्धान झन जटिल मोडमा पुगेको छ ।

लागू औषध कारोबारबाटै रातारात धनी हुने अभिलाशामा अवैध सम्पत्ति आर्जन गर्न पल्केका प्रहरी अधिकारीदेखि लिएर जेल प्रशासनका कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिँदै आएको छ । केही जेलसमेत गएका छन् । कारोबारीले प्रहरीको आँखा छल्न बुद्ध ग्रन्थ, क्यूरियो सामाग्री, सिरक, विभिन्न साजसज्जाका सामाग्री, ल्यापटप लगायतका विद्युतीय उपकरण, ट्रक एवं सवारीसाधनको पछाडि फल्सबटम बनाएर लागू औषध तस्करी गर्दै आएको देखिन्छ । ट्रान्स पार्टीको नाममा प्रशासनकै स्वीकृति लिएर खोलिएका केही डान्स क्लबहरुमा समेत लागू औषधको कारोबार हुँदै आएको विगतका घटनाक्रमहरुले पनि देखाएका छन् ।

यसैगरी विभिन्न ब्यवसायको आडमा समेत लागू औषधको कारोबार हुने गरेको प्रहरी अनुशन्धानले पुष्टि गरेको छ । यस्तै एक घटना कैलालीमा भएको थियो । उक्त घटनामा लागू औषध करोबारीको अनुसन्धान गर्दा प्रहरी आफै अर्को घटनामा मुछिन पुगेका थिए । धनगढी उपमहानगरपालिकाको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा लागू औषध कारोबारी समात्न गएका प्रहरीले नै मोबाइल चोरी गरेको सीसीटीभी क्यामरामा देखियो । सुरुमा प्रहरी खानतलासीका लागि पुगे पनि सीसीटीभी फुटेजमा मोबाइल चोरी गरेको देखिएपछि प्रहरी हवल्दार होमबहादुर पाल र प्रहरी जवान भरतबहादुर बुढा पक्राउ परे । उनीहरुमाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।

प्रहरी निरिक्षक नै जेल चलान
लागू औषध कारोबारीसँग मिलेमतो गरेको आरोपमा प्रहरी निरिक्षक (इन्सपेक्टर) नै जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौँले लागू औषध कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक रुद्रबहादुर शाही र नेपाल एयरलाइन्सका पूर्वपाइलट भुपेन शेरचनलाइए पुर्पक्षको लागि थुनामा पठाएको छ । प्रहरी निरिक्षक शाही महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत थिए । कोरोना संक्रमणका बेला बन्दाबन्दीको समयमा इन्सपेक्टर शाहीले आफ्नै गाडीमा लागू औषध तस्करी गरेको प्रमाणसहित उनी गत वर्ष असार ११ गते पक्राउ परेका थिए ।

इन्सपेक्टर शाही आफै तराई गएर लागू औषध ओसारेको अनुसन्धानबाट खुलेको थियो । इस्पेक्टर शाहीको गाडीमा रहेको झोलाबाट सात बोत्तल लागू औषध डायलेक्स–डीसी र ४६ ट्याब्लेट नाइट्रभेटसमेत बरामद भएको थियो ।
तत्कालीन समयमा शाही र शेरचनसँगै पक्राउ परेका सन्तोषकुमार शाह, एलिसन बस्नेत र अभिनास थपलिया जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा गएका थिए ।

जेलभित्रैबाट लागू औषध तस्करी
कारागार (जेल) का कर्मचारी र जेलभित्रै रहेका कैदी बन्दीको मिलेमतोमा पनि लागू औषधको कारोबार हुने गरेको रहस्य प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरो (एनसीबी) को टोलीले जेलभित्रैको कनेक्सनमा लागू औषध तस्करी गरेको आरोपमा गत पुसमा १७ जनालाई पक्राउ गरेको थियो । २०६८ सालमा ब्यूरोले लागू औषध खैरो हेरोइन सात सय ग्राम मुद्दामा पक्राउ गरी हाल रौतहट कारागारमा १८ वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताको योजनामा कारागारबाटै लागू औषधको धन्दा सञ्चालन भइरहेको थियो ।

गुप्ताले सिन्धुली कारागारकी कर्मचारी कार्यालय सहयोगी ३९ वर्षीय रिता सारुमगरको मिलेमतोमा लागू औषधको कारोबार गर्दै आएका थिए । भारतबाट ८० रुपैयाँमा खरिद गरेर ल्याइने लागु औषध नेपालसम्म आइपुग्दा एक हजार रुपैयाासम्ममा बिक्री हुँदै आएको थियो । तीनवटा समुहबाट बरामद लागू औषधको बजार मूल्य २३ लाख रुपैयाँ बराबर थियो । सिन्धुली कारागारमा रहेका भारतीय नागरिक गुड्डु, कारागारका टेलिफोन नाइके सन्तोष स्याङ्तान र कार्यालय सहयोगी रिता सारुमगरको सहयोगमा लागू औषध तस्करी हुँदै आएको थियो । स्याङ्तान २०७६ सालमा सिन्धुलीबाट ५५ केजी गाँजासहित पक्राउ परेर जिल्ला अदालत सिन्धुलीको फैसलाबाट रौतहटमा पाँच वर्षको कैद सजाय भोगिरहेका छन् ।

एसएसपी हृदय थापा (प्रमुख, एनसीबी)

हामी नियन्त्रणमूखी छौं : एसएसपी हृदय थापा (प्रमुख, एनसीबी)
लागू औषध कारोबारको अवस्था हेर्दा जति बरामद भइरहेका छन्, त्यसलाई नै आधार बनाएर कति खपत भइरहेको छ भनेर हामीले अनुसन्धान गर्ने हो । खासगरी फर्मास्युटीकल ड्रगको प्रयोगकर्ता नेपालमा बढी छन् । ब्राउन सुगरको अवैध बजारमूल्य अहिले ग्रामको १२ हजार रुपैयाँसम्म पर्छ । सबैले सेवन पनि गर्न सक्दैनन् । त्यसको सट्टा फर्मास्युटीकल ड्रगको प्रयोगकर्ता बढी छन् । हामीले अहिले जो प्रयोगकर्ता छन्, तिनहरुलाई समातेर त्यसको मुख्य विन्दुसम्म पुग्ने प्रयास गरेका छौं ।

फर्मास्युटीकल ड्रगको ईन्जेक्सन हान्ने वित्तिकै त्यसको अर्को डोज समयमा पाएन भने दुव्र्यसनीहरुमा चिडचिडापन हुने, के गर्ने, कसो गर्ने भनेर छट्टपट्टी हुनेजस्ता लक्षण देखा पर्छन् । तर, खैरो हेरोइनको भने तीनपटक सेवन गरेपछि डोजको मात्रा पुग्ने रहेछ । यसले गर्दा सामान्य परिवारको मान्छेले ब्राउन सुगर सेवन गर्न सक्दैन । अहिले पछिल्लो पटक किशोर किशोरीदेखि युवापुस्तासम्म लागू औषधको दुव्र्यसनमा परेको देखिन्छ । खासगरी एसईई पढ्ने केटाकेटीदेखी प्लस टु पढ्ने किशोरहरुको झुकाव लागू औषध सेवनमा देखिन्छन् । राम्रा घरानाका युवापुस्ता पनि लागू औषध सेवनमा सक्रिय रहेको भेटिएको छ । हामीले औषधी व्यवस्था विभाग र गृह मन्त्रालयको समन्वयमा लागू औषध कारोबार नियन्त्रण कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।

सहसविच फणिन्द्रमणी पोखरेल (प्रवक्ता, गृह मन्त्रालय)

अभिभावक पनि जिम्मेवार हुनुपर्छ : सहसविच फणिन्द्रमणी पोखरेल (प्रवक्ता, गृह मन्त्रालय)
गृह मन्त्रालयले प्रहरी परिचालन गर्ने हो । गृह मन्त्रालय आफै लागू औषध नियन्त्रण गर्न खट्दैन । रिहाव सेन्टरसँगै उपचार गर्ने विभिन्न संस्थासँगको समन्वयमा काम गरिरहेका छौं । उनीहरुको सल्लाह र सुझावलाई विश्लेषण पनि गरिरहेका छौं ।
विभिन्न रिहाव सेन्टरहरुको अनुगमन गरिरहेका छौं । लागू औषध सेवन भनेको सिटामोल पनि हुँदो रहेछ । खोकीको औषधी पनि लागू औषध हुँदो रहेछ । सीमित मात्रामा सेवन ग¥यो भने औषधी हुने र अत्यधिक मात्रामा सेवन गर्दा औषधी नै लागू औषध हुने रहेछ ।

यसको सेवन नियन्त्रण गर्न गाहे छ । एक विर्को खाँदा खोकीको औषधीको काम गर्ने तर, एक बोतल सेवन गर्दा त्यही औषधी लागू औषध हुने । यसको नियन्त्रणका लागि प्रहरी परिचाल भइरहेका छन् । राज्यलाई भन्दा पनि व्यक्तिलाई चिन्ता हुुनुपर्ने देखिन्छ । आफ्ना छोराछोरीलाई कलेज वा स्कुल पठाउँदा उनीहरु के गर्छन् ? खाँजा खान्छन् कि खाँदैनन् ? के कस्तो ब्यवहार देखाउँछन् ? त्यसको निगरानी अभिभावकले पनि गर्नुपर्ने हुन्छ । अभिभावकले अभिभावकत्व निर्वाह गर्न नसक्दा पनि धेरै युवापीढी लागू औषधको कुलतमा फसेका छन् । छोराछोरीलाई डाक्टर, ईन्जिनियर पढाउनु पर्ने तर, उसको इच्छा नहुँदा पनि निराश भएर लागू औषधमा फस्ने गरेको विभिन्न घटनाक्रमले देखाएको छ । पहिले दुई÷चारवटा सहरी क्षेत्रमा थियो, अहिले गाउँगाउँमा पनि लागू औषध सेवनकर्ता भेटिन्छन् । यसमा राज्य मात्रै होइन, अभिभावकलाई पनि उत्तिकै दोषी देख्छौं ।

प्रतिक्रिया