शुभकालिका गाउँपालिका औद्योगिक ग्रामको लागि छनौट

कालिकोट । जिल्लाको शुभकालिका गाँउपालिका कर्णाली प्रदेशकै औद्योगिक ग्राम बन्ने एक मात्र पालिकामा परेको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षका लागि औद्योगिक ग्राम बन्ने नगर तथा गाउँपालिका मध्येमा शुभकालिका गाउँपालिकालाई छनौट गरेको हो ।

देशभरबाट ४ वटा नगरपालिका र २ वटा गाउँपालिका मात्रै छनौट सूचिमा परेकोमा कर्णाली प्रदेशका १० जिल्लाभरिमा कालिकोटको शुभकालिका गाउँपालिका मात्रै छनौटमा परेको हो । मन्त्रालयका अनुसार छनौटमा पर्ने स्थानीय तहहरुमा शुभकालिका गाउँपालिकाको साथै महालक्ष्मी नगरपालिका धनकुटा, निलकण्ठ नगरपालिका धादिङ, पाणिनी गाउँपालिका अर्घाखाँची, दीपायल सिलगढी नगरपालिका डोटी छनौटमा परेका छन् ।

छनौटमा परेका स्थानीय तहहरुले औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा ९२ लाख बजेटमा कार्य सम्झौता गरि औद्योगिक क्षेत्र पूर्वाधार सुरुवात गर्नुपर्ने भएको छ । शुभकालिका गाउँपालिका छनौटमा परेको कारण समयसिमाभित्रै सम्झौता गरि नमूना कार्यको रुपमा औद्योगिक क्षेत्र पूर्वाधार विकास गरिने गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी गराए ।

कालिकोट जिल्लाका सन्दर्भमा ९ वटै स्थानीय तह मध्ये संघ प्रदेशबाट आउने अनुदान बजेट मात्रै नभई अन्य संघ संस्था तथा दातृ निकायसँग पहल गर्दै पूर्वाधार विकासका साथै सामाजिक परिवर्तनका लागि अग्रसर रहेको छ । शुभकालिका गाउँपालिकामा स्थानीय तहको निर्वाचन भईहँदा शेरीघाट–हुल्मदेखि अगाडि बढ्नै नसकेको सडक हाल शुभकालिका वडा ३ भर्ताको पर्जैसम्म पुगेर गाडी समेत सञ्चालनमा रहेका छन् । यसैगरी दैलेखदेखि ब्याउली हुँदै निर्माण भएको सडक पनि हाउडी हुँदै शुभकालिका – ८ को घट्टेखेतमा पुगिसकेको र अब केही दिनमा साविक मुग्राहासम्म गाडी सञ्चालन हुने गाउँ पालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले बताईन् । हाल हाउडी लेकमा हिमपातले सडक अवरुद्ध छ ।

शुभकालिकामा यसैगरी शेरी–काली–भर्तागाड हुँदै चौलागाईंबाडा सडक शुभकालिका ५ उधोगाउँ पुगेको वडा अध्यक्ष केशन शाहीले बताए । शुभकालिकाले खानेपानीको क्षेत्रमा ८ वटा बृहत् खानेपानी योजना मार्फत १ घर १ धाराको कार्यक्रम लागू गरि गाउँपालिकाका सबै घरमा धारा पुर्याउने काम यो वर्षभित्रै पूरा गरिसक्ने लक्ष्यका साथ कार्य गरिरहेको बताइएको छ । यस्तै करोडौं लगानीमा अलपत्र परेका भलेटागाड र हाउडीगाड बिधुत योजना सञ्चालनमा ल्याई गाउँनै झलमल्ल पार्नुका साथै वडा नम्बर १, २, ३ भर्ता गाउँमा राष्ट्रिय प्रशारण लाइन बिस्तार भइ केही दिनमै बत्ती बल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँ पालिकाले वडा नम्बर ४ को राराकाटीयामा १ सय ५० किलोवाटको सोलार मिनिग्रेड समेत निर्माण गरि बत्ती बाल्ने अन्तिम तयारीमा पुगेको बताइएको छ । यस्तै शैक्षिक क्षेत्र तर्फ प्रबिधि मैत्री शिक्षाको व्यवस्था गरि पालिका भरिका २९ वटा बिधालयमा प्रोजेक्टर बाट अनलाइन कक्षा सञ्चालन भईहेको छ । यसका साथै सुनौला हजारदिनका गर्भवती आमाहरुलाई सो अवधिमा ६ क्यारेट अण्डा,घ्यू,मह दिने व्यवस्था सहित पोषणमैत्री गाउँपालिका कार्यक्रम सञ्चालनमा ल्याइएको गाउपालिका अध्यक्ष खडानन्द चौलागाँईले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया