जाल्पा सामुदायिक लघुवित्तको आईपीओ माघ २१ देखि आउँदै

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो ।

माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । यससँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको वर्खास्तिसँगै अवरुद्ध भएको आईपीओ निष्काशन प्रक्रिया सुरू भएको छ ।

कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।

प्रतिक्रिया