सरकारी कर्मचारी सुस्त, विचौलिया चुस्त

चमिना भट्टराई

सवारी चालक अनुमतिपत्र नवीकरण गर्न वर्षौं लाग्छ । सरकारी कर्मचारीले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरिदिने भए विचौलियाको के काम हुन्थ्यो ! सरकारी कर्मचारी हो आफ्नो कार्यालयमा विचौलिया भित्र्याउने । उनीहरूलाई सोधियोस्, ‘तपाईंको फाँटमा विचौलियाको काम के ? कसका अनुमतिले किन प्रवेश गर्छन्, विचौलिया के काम गर्छन् ?’ यति गर्न सकियो भने न विचौलिया पक्राउन गर्न प्रहरी खटिनुपर्छ न सेवाग्राहीले सास्ती खेप्नुपर्छ

पछिल्ला दिनमा सरकारी कार्यालयमा विचौलिया पक्राउ परेका समाचार बग्र्रेल्ती आउन थालेपछि केही लेख्नै मन लाग्यो । सरकारी तलब खाएर काम गर्न बसेकालाई घुस खुवाउनुभन्दा बेरोजगार यी नै विचौलियालाई खुवाउनु बेस भन्ने पनि भेटिन थालेको छ । यसरी तर्क गर्नेको कुरो सुन्दा ठिकै मान्नुपर्ने अवस्था पनि छ । सरकारी अड्डामा सामान्य काम लिएर जाँदा खेप्नुपर्ने अनेक प्रकारका सास्तीले मान्छे दुई/चार पैसा खर्च गरेर विचौलियाको सहयोग लिएको बताउँछन् । यसरी गर्ने काम समयमा नै हुने र झन्झट पनि कम हुने उनीहरूको तर्क हुन्छ ।

यातायात कार्यालय पुग्नै पर्देन, एक किलो मिटर यतैबाट सोधिन्छ, ‘के काम छ भन्नुस् । कर तिर्ने हो । लाइसेन्स नवीकरण हो, झुत्रो ब्लुबुक नयाँ बनाउने हो ? वा अरू काम छ हामी सजिलै गराइदिँला !’ यस्ता आवाजसहित बाटो छेक्न आउने धेरै भेटिन्छ । यिनको कनेक्सन कार्यालयका हाकिमदेखि पियनसम्म हुन्छ । उनैको कार्यालयजस्तो हालिमुहाली ! केही महिनाअघि काठमाडौंको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा झुत्रो भएको ब्लुबुक नयाँ बनाउन जाँदा आफैंले भोगेको अनुभव हो यो । मुख्य राजमार्गबाट भित्र छिर्दा यस्तै भन्दै घेरा लाग्ने युवाको जमात ठुलै थियो । सरकारी अड्डामा गर्ने काम सहज भए यी विचौलिया किन चाहिन्थ्यो ! यिनले काम पाउँथेनन् र हामीले विचौलिया खोज्दैन थियौँ ।

बिहान १०ः३० तिर कार्यालय पुगेको थिएँ । त्यहाँका कार्यालयको व्यवस्थापन पक्ष निकै अस्तव्यस्त थियो । एउटा शाखाबाट अर्को शाखा जान र पत्ता लगाउनै सकस गइहाले काम गर्ने कर्मचारी आफ्नै तालमा व्यस्त । निजी कुरा निजी गफ ! अनि फाइल कता छ कस्तो अवस्थातामा छ पत्ता लगाउन कठिन । पत्ता लगायो ‘यो काम आजै कसरी हुन्छ ? कहाँ छ कहाँ तपाईंको फाइल ? खोज्न समय लाग्छ । तपाईंजस्ता कतिको काम रोकिएर बसेको छ सबैको गर्नु पर्यो नि ! काम मेरो मात्रै होइन, मजस्ता सबै सेवाग्राहीको गर्नुपर्छ भन्ने मनमनै सोचेँ । काम आजै हुने रहेछ कि रहेनछ गरी हेर्नुप¥यो भन्ने लाग्यो मलाई त्यहाँको ताल जान्नु पनि थियो । सेवाग्राहीको लाइनमा बसेर सेवा लिने कि सजिलो बाटो खोज्ने दोधारमा परेँ ।

कार्यालयको अवस्था र कर्मचारीको ताल बुझेर थाकेको म काम गरी दिने समूह खोज्दै थिएँ, आँखामा एउटा अफिस पर्यो । महिलाले चलाएका रहेछन् । काम गर्ने सबै महिला ! राजस्वबाहेक अतिरिक्त सात सय रुपैयाँ दिने सर्तमा मैले उनीहरूलाई आफ्नो काम लगाएँ । श्रम लगाएपछि त्यसको मूल्य तिर्नै प¥यो, भने बमोजिमको अतिरिक्त रकम तिर्न राजी भएँ । सरकारी कर्मचारीको काम गर्ने शैलीप्रति एकातिर रिसले मुर्मुरिँदै थिएँ । जसरी पनि काम गर्नुको विकल्प पनि थिएन । अर्को दिन जानु कर्मचारीको कोठा चाहार्नु र चाकडी गर्नुभन्दा मेरो लागि त्यहि उचित उपाय थियो ।

कर्मचारीको भर परेको भए त्यो दिन मेरो काम सकिँदैन थियो । मजस्तै दिनहुँ धाउने अरू पनि थिए । कहिले के मिलेन कहिले के मिलेन भन्दै फर्काइका, जसले मैले जसरी निजी अफिसलाई काम सुम्पन तयार थिएनन् । आरामले उनीहरूको कुर्सीमा बसेँ, उनीहरूकै पानी खाएँ । ‘म्याम सही गर्न आफैं जानुपर्छ जाउँ,’ भनेको बेला गएर सही गरिदिएँ । दुई घण्टामा काम सकाएर फर्किएँ । उनीहरूले काम गरे वापत पैसा पाए, मैले सजिलै सेवा । रहरले यस्तो काममा मान्छेले अतिरिक्त पैसा खर्च गर्दैन । मैले पनि रहरले गरेको होइन, वाध्यताले हो मान्छेले अतिरिक्त खर्च गर्ने । मैले पनि त्यो दिन त्यसै गरेँ ।

सही गर्न दुईपटक कर्मचारीको अघि पर्दा देखेँ, उनीहरू विचौलियासँग एक घरका सम्बन्ध भएका मान्छे जस्तै व्यवहार गर्छन् । उनीहरूले लगेको फाइलमा सही गर्न समय लाग्दैन । त्यही छेउमा उभिएको अर्को सेवाग्राहीले सोधेको कुरा बोल्न पनि अल्छीलागे जस्तो गर्छन् । मनमनै भने, वाह ! ‘द्रव्यदेवी तिम्रो लीला’ भनेर निस्किएँ । आखिर मेरो काम हुँदोरहेछ नि दुई घण्टामा भयो । कर्मचारीले गरेको भए पनि लाग्ने त्यही समय होला ! तर, उनीहरू सेवाग्राहीलाई किन बाध्य बनाउँछन् विचौलिया प्रयोग गर्न ! यस बारेमा राज्यको ध्यान जानुपर्छ ।

विचौलिया प्रयोग गर्दा सेवाग्राहीलाई मात्रै होइन, सरकारी कर्मचारीलाई पनि काम कम पर्ने र नाफा पनि पाइने रहेछ । ‘हामीले धेरै पैसा लिएजस्तो लाग्यो होला तपार्इंलाई । यो पैसाबाट हामीले कर्मचारीलाई पनि दिनुपर्छ । सबै हामीले लिने होइन । उनीहरूलाई भाग नलगाए त हामीलाई फाइल छुनै दिँदैनन् ।’ मेरो काममा सहयोग गरिदिने ती महिलाले भनिन् । ए त्यसैले पनि रहेछ यिनीहरूसँग गरेको मित्रवत व्यवहार भन्ने लाग्यो । कर्मचारीले खोज्नुपर्ने फाइल उनीहरू आफैं खोज्दा रहेछन्, कागजमा कहाँ के विवरण भर्नुपर्ने हो त्यो पनि उनीहरूले नै भर्ने सरकारी कर्मचारीको काम भनेको सही गर्ने मात्रै र निजी कुरामा गफिने रहेछ । अरू काम तिनै विचौलिया भन्नेले गर्ने । यसले त उनीहरूलाई फाइदै फाइदा । काम पनि गर्न नपर्ने, कमिसन पनि पाइने ।

यो माथिका उदाहरण मात्रै हो । नेपालका हरेक सरकारी कार्यालयको काममा देखिएका ढिलासुस्ती र कर्मचारीको हेलचेक्राइँको परिणाम हो विचौलियाको कार्यालयमा रजाइँ । सवारीचालक अनुमतिपत्र बनाउनै सास्ती छ । सवारी चालक अनुमतिपत्र नवीकरण गर्न वर्षांै लाग्छ । सरकारी कर्मचारीले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरिदिने भए विचौलियाको के काम हुन्थ्यो ? सरकारी कर्मचारी हो आफ्नो कार्यालयमा विचौलिया भित्र्याउने । उनीहरूलाई सोधियोस्, ‘तपाईंको फाँटमा विचौलियाको काम के ? कसका अनुमतिले किन प्रवेश गर्छन, विचौलिया के काम गर्छन् ?’ यति यसो गर्न सकियो भने न विचौलिया पक्राउन गर्न प्रहरी खटिनु पर्छ न सेवाग्राहीले सास्ती खेप्नुपर्छ ।

प्रहरीले विचौलियालाई कारबाही गरिरहँदा उनीहरूलाई दुलही जसरी कार्यालय भित्र्याउने र चोटाकोठा छिरेर काम गर्न दिने सरकारी कर्मचारी दोषीको भागीदार बन्नुपर्छ कि पर्दैन ? यसो भनिरहँदा कतिलाई लाग्न सक्छ ‘विचौलियालाई छुट दिने त !’ बिल्कुल होइन, विचौलियाले काम गर्ने नपर्ने वातावरण बनाउने हो । सरकारी कर्मचारीले आफ्नो काम इमानदारीपूर्वक गर्ने । फाइल आफैं खोज्ने, कहाँ के लेख्नुपर्छ आफैं लेख्ने हो भने किन जान्छन् सरकारी कार्यालयमा विचौलिया ! विचौलियाले सेवाग्राही मर्कामा परेमा कर्मचारीलाई फाइदा छ त्यसैले उनीहरू नै त्यलाई सहजै कार्यालय प्रवेश दिन्छन् । यसलाई नियन्त्रण गर्ने हो भने, हरेक सरकारी कार्यालयका कर्मचारी माथिदेखि तलसम्म काममा जवाफदेखि बन्नुपर्छ । विचौलिया भित्र्याएर सही गरेको भरमा तलब र कमिसन खाने उनीहरूको धन्दा बन्द गराउनुपर्छ ।

प्रतिक्रिया