अकिल हुसेनले तोडे सोमपालको विश्व कीर्तिमान

लण्डन । वेस्टइन्डिजका स्पिनर अकिल हुसेनले नेपाली तीव्र गतिका बलर सोमपाल कामीले आठ वर्षअघि टि२० आईमा १० औं नम्बरमा ब्याटिङ गर्दै बनाएको सर्वाधिक रनको विश्व कीर्तिमान तोडेका छन् । अकिलले इंग्ल्यान्डविरुद्ध दोस्रो टि२० आई खेलमा १६ बलमा ३ चौका र ४ छक्कासहित ४४ रनको अविजित इनिङ खेल्दै सोमपालको कीर्तिमान तोडेका हुन् । योसँगै अकिल टि२० आईमा दशौं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि उक्त कीर्तिमान सोमपाल कामीको नाममा थियो । सोमपालले २०१४ नोभेम्बरमा हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रनका साथ कीर्तिमान बनाएका थिए ।

अकिलले आक्रामक ब्याटिङ गरेपनि वेस्टइन्डिज एक रनले पराजित भएको छ । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित२० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो । अकिलले अन्तिम ओभरमा सकिब महम्मदलाई दुई चौका र तीन छक्कागरि कुल २८ रन जोडेपनि झिनो हार टार्न सकेनन् ।

अकिलले अन्तिम तीन बलमा लगातार तीन छक्का प्रकार गरेका थिए । रोमारियो शेफर्ड २८ बलमा १ चौका र ५ छक्कासहित ४४ रनमा अविजित रहे । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

जेसन रोयले ३१ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । टम ब्यान्टन २५, मोईन अली ३१ र क्रिस जोर्डनले २७ रन जोडे । वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले २–२ विकेट लिए । पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । तेस्रो खेल बुधबार हुनेछ ।

प्रतिक्रिया