गाेलसहित ८ स्टारले आइपिएल नखेल्ने

दिल्ली । इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्स र अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क सहित विश्व क्रिकेटका ८ स्टार खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ नखेल्ने निर्णय लिएका छन् । आइपिएल २०२२ को मेगा अक्सनमा ३ सय १८ विदेशी खेलाडीले नाम दर्ता गर्दा स्टोक्स सहितका खेलाडी भने छैनन् । स्टोक्स, स्टार्कसँगै तीव्र गतिका बलर जोफ्रा आर्चर, क्रिस वोक्स, शीर्षक्रमका ब्याटर जो रुट, वेस्टइन्डिजका आक्रामक ब्याटर क्रिस गेल , इंग्ल्यान्डका टम करन र साम करन दाजुभाइले पनि अक्सनमा आफ्नो नाम दिएका छैनन् । यी खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटलाई मध्यनजर गर्दै मेगा अक्सनमा आफ्नो नाम नदिएको बुझिएको छ ।

यसै साता इंग्ल्यान्डले एसेज सिरिजमा अष्ट्रेलियासँग लज्जास्पद ४–० को हारपछि बेन स्टोक्सले आफू आइपिएल नभएर काउन्टी च्याम्पियनसिप खेल्ने बताएका थिए । साम करन र आर्चर भने चोटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पूनरागमन गर्ने प्रयासमा छन् । इंग्ल्यान्डका खेलाडी घरेलु प्रतियोगिता र सिजनमा केन्द्रित रहेको बुझिएको छ । अष्ट्रेलिया तीव्र गतिका बलर स्टार्कले २०१५ पछि आइपिएल खेलेका छैनन् । उनले पछिल्ला केहि सिजनमा अक्सनमै आफ्नो नाम दिएका छैनन् । रुटले भने अक्सनमा नाम दर्ता गराउँदैनन् । स्टोक्स र आर्चर राजस्था रोयल्सबाट आइपिएल खेलेका थिए । गत सिजन आर्चरले चोटका कारण आइपिएल खेलेका थिएनन् । बेन स्टोक्सले गत सिजनमा एक मात्र खेल खेलेका थिए । चोटका कारण पहिलो खेलपछि उनले खेलेका थिएनन् । बेन स्टोक्सलाई १२ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । आर्चरले ७ करोड २० लाख भारु एक सिजनको पारिश्रमिक पाउँदै आएका थिए ।

प्रतिक्रिया