नृत्य कार्यशालामा एक दर्जन कार्यपत्र

रुपन्देही । देशभर प्रचलित नृत्यसम्बन्धी पाँचदिने प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्यकर्मी संघ नेपाल रुपन्देहीको सहकार्य र बुटबल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाको प्रवद्र्धनमा कार्यशाला गरेको हो । सो कार्यशालामा २४ जना कलाकारले मुलुकका पाँच प्रदेशका एक दर्जन बढी नृत्य सिकेका छन् । बुटबलस्थित शंकरनगरमा मंगलबारबाट सुरु भएको पाँचदिने ‘नृत्य निर्देशक कार्यशाला २०७८’ मा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दर्जन बढी नृत्यको प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । हरेक नृत्यको कार्यपत्र प्रस्तुतिसहित प्रयोगात्मक रुपमा प्रशिक्षण दिइएको कार्यक्रमका सहजकर्ता एवं सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए । सो अवसरमा एक दर्जन नृत्यको कार्यपत्र प्रस्तुत गरिएको छ । कार्यशालामा प्रदेश १ बाट नृत्य निर्देशक नगेन्द्र राईले साकेला नृत्यको कार्यपत्र प्रस्तुतिसँगै नृत्य प्रशिक्षण दिएका थिए ।

यस्तै, नृत्य निर्देशक ओमप्रकाश बस्नेतले प्रदेश १ को राजवंशी समुदायको हुदुर दुरा नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुत गरे । साथै उनले मधेश प्रदेशको सामा चखेबा नृत्य प्रशिक्षण र कार्यपत्र प्रस्तुत गरे । बागमती प्रदेशबाट ललितपुरका सुरेन्द्र देशारले अष्टमातृका नाच र कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, बागमती प्रदेशबाट नृत्य निर्देशक मोहन तौजले काभ्रेमा प्रचलित राजारानी नाचको कार्यपत्र प्रस्तुतसहित प्रशिक्षण दिए । बागमतीबाटै कोभिडको कारण प्रतिभा पुन उपस्थित हुन नसके पनि उनको मेहेन्दो माया नाचको कार्यपत्रलाई नृत्य निर्देशक रोचक थापाले प्रस्तुत गर्दै सो नृत्य सिकाए ।

नृत्य निर्देशक गोरे गुरुङले गण्डकी प्रदेशमा प्रचलित घाटुनाचको कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षण दिए । कार्यशालामा शुक्रबार चारओटा नाचको कार्यपत्र प्रस्तुतिसँगै नाच सिक्ने र नाचेर देखाउने कार्य गरियो । शुक्रबार गण्डकी प्रदेशबाट बमबहादुर गुरुङले कृष्णचरित्र नाच र गुरुङ समुदायको मृत्य संस्कारमा नाचिने छ्याडु (सेर्गा) नाचको कार्यपत्र प्रस्तुत गर्नुका साथै यी सबै नाच सिकाए । जसमध्ये कृष्णचरित्र नाच सिकेर परम्पारगत पोशाकमा युवराज जर्घामगर, हिमाल थापा, रविन थापा, युवराज गुरुङ, नविन गुरुङ, रोशन गुरुङ, मुकेश गुरुङ र ओसिन सारु मगरले नाचेर देखाए । यस्तै छ्याडु नाच सो कार्यशालामा सबैले सामूहिक नाचे । शुक्रबार लुम्बिनी प्रदेशबाट थारु समुदायका नृत्यसँगै कार्यपत्र प्रस्तुत गरियो । कार्यपत्रसहित मुकेश गुरुङले रुपन्देहीको थारु समुदायको झर्रा नृत्य, अनु रचकले रुपन्देहीकै थारु समुदायको बड्की नाच र पुनम थापाले पनि त्यहीँका थारु समूहकै झुमडा नाचको प्रशिक्षण दिएका थिए । कर्णाली र सुदुरपश्चिम प्रदेशका नृत्य निर्देशकहरु कोरोना संक्रमणबाट ग्रसित भएकाले कार्यशालामा सहभागी हुननसकेको कार्यक्रम ब्यवस्थापक अनु रजकले जानकारी गराए ।

कार्यशालाको समापन कार्यक्रमका प्रमुख अतिथि एवं नृत्य निर्देशक कमल राईले मौलिक नृत्य प्रशिक्षणले लोक नेपाली नाचको प्रवद्र्धनमा मद्दत पुग्ने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न सो कार्यशालाको समापनमा बोल्दै प्रतिष्ठानकी परिषद सदस्य एवं नृत्य विभाग प्रमुख नमुना शर्माले सोचेभन्दा राम्रो कार्यशाला भएको बताइन् । आफूले पनि सिक्ने अवसर पाएको यस्तो कार्यशालालाई आउँदा दिनमा अझ बृहत गर्ने उनले प्रतिबद्धता जनाइन् । कार्यक्रममा नृत्य निर्देशक रोचक थापालाई १५ हजार रुपैयाँसहित प्रतिष्ठानको तर्फबाट सम्मान गरियो ।

प्रशिक्षार्थीमध्ये रुपन्देहीका युवराज मगर, पोखराका युवराज गुरुङ र पुनम थापाले यो कार्यशाला सोचेभन्दा राम्रो भएको बताए । ओमप्रकाश बस्नेत, सुरेन्द्र देशार, नगेन्द्र राई र बमबहादुर गुरुङले प्रशिक्षकको तर्फबाट बोल्दै यस्तो प्रशिक्षण कम्तीमा एक साताको राख्नुपर्ने सुझाव दिए । नृत्यकर्मी संघ नेपाल रुपन्देहीको सहकार्य र बुटबल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाको प्रवद्र्धनमा कार्यशाला गरिएको हो ।

प्रतिक्रिया